त्रिशूलीमा दुर्घटनाग्रस्त वुलेटबाट ग्यास चुहिन थालेपछि..
मलेखु : पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा २ स्थित मलेखु फुर्केखोला बजार नजिकै त्रिशूली नदीमा दुर्घटना भएको ग्यास बुलेटबाट ग्यास चुहिन थालेपछि स्थानीय अतंकित भएका छन्।
भारतको रक्सोलबाट १८ टन ग्या“स बोकेर नौबिसेतर्फ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको भारतीय ग्या“स वुलेट गत वैशाख १४ गते दुर्घटनामा परेको थियो। पृथ्वीराजमार्गबाट पल्टिएको ग्यास बुलेट त्रिशूली नदीमा पुग्दा चालक ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलकमै मृत्यु भएको थियो। एक सातासम्म उक्त बुलेट झिक्न कसैले पनि चासो देखाएका छैनन्। उक्त बुलेट सिद्धार्थ ग्यास उद्योगको भएको प्रहरीले बताएको छ।
मलेखुका स्थानीय रमेश सिलवालले भने, ‘पल्टिएको वुलेट त्रिशूली नदीमाथी देखिएको छ, त्रिशूली नदीमा पानीको सतह बढ्दा पानीले बुलेट फेरी पल्टाएपछि ग्यास गन्ध फैलिएपछि दुर्घटनाको जोखिम बढेको छ।’
दुर्घटना स्थलमा पुगेका देविदत्त गणका गणपति भरत बुढाथोकीका अनुसार पानीको बहाव बढेसँगै ग्यास पानीमा रहेको वुलेटलाई फेरि पल्टाएको छ। हामीले ग्यास छिटो निकाल्न कम्पनीलाई आग्रह गर्दा पनि कुनै चासो देखाएका छैनन्।’
जुनसुकै बेला आगो लाग्न सक्ने भएपछि स्थानीयले प्रशासन गुहारेपछि निलकण्ड नगरपालिकाको दमकल दुर्घटना स्थलमा तयारी अवस्थामा राखिएको छ। इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक संजय तिमल्सेनाले भने, ‘वुलेट डुवेको पानीमा भुल्काहरु देखिएका छन्। प्रहरी र सेनाको टोलीले शुक्रबार बिहानैदेखि निगरानी सुरु गरेका छन्।’