पाँच दर्जन संस्थासँग नास्टको ‘एमओयू’

पाँच दर्जन संस्थासँग नास्टको ‘एमओयू’

काठमाडौं : एउटा सरकारी संस्थाले कति वटासम्म राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थासँग संस्थागत सम्झौता (एमओयू–मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) गर्छ होला ?  एक, दुई वा एक दर्जन ?  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा परिषद् (नास्ट)ले अहिलेसम्म करिब पाँच दर्जन संघसंस्थासँग औपचारिक एमओयू गरिसकेको छ, जसमध्ये ५० जति त अन्तर्राष्ट्रिय संस्था छन्। योजना तथा मूल्यांकन महाशाखाको तथ्यांकअनुसार पछिल्ला चार वर्षमै नास्टले मात्र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग एमओयू गरेको छ।

कतिपय विदेशी संस्थासँग कुनै काम नभई सम्झौता सकिएका छन् भने कतिपयसँग नास्टले द्विपक्षीय सम्बन्ध स्थापना गर्न औपचारिकताका लागि मात्र सम्झौता गर्ने गरेको छ। कागजी सम्झौताको संख्या बढाउनुको साटो देशको आवश्यकताअनुसार कार्ययोजनासहित सम्झौता गर्नुपर्ने नास्टकै वैज्ञानिकहरू सुझाउँछन्। महाशाखाका अनुसार चीन, भारत, अमेरिका, दक्षिण कोरिया, थाइल्यान्ड, इटाली, जापान, पाकिस्तान, बंगलादेश, बेलायत, जर्मनी, हंगेरी, टर्की, मंगोलिया,    श्रीलंकालगायत देशका संस्था र विश्वविद्यालयसँग नास्टले एमओयू गरेको छ। नास्टले एमओयू गरेकामध्ये एउटै देशका २/३ संस्था र विश्वविद्यालयसमेत रहेका छन्। यस्तै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत स्वदेशी शैक्षिक संस्थासँग पनि नास्टले कार्यगत सम्झौता गरेको छ।

विज्ञान प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धानका साथै सीप, क्षमता र अनुभव आदानप्रदान गर्न यस्ता द्विपक्षीय सम्झौता गरिन्छ। तर, नास्टले कुनै मापदण्डबिना अनेकौं संघसंस्थासँग एमओयू गरे पनि त्यसबाट राज्यले अपेक्षित लाभ लिन नसकेको नास्टमा कार्यरत वैज्ञानिकहरू नै बताउँछन्। ‘जहाँ गयो, त्यहीँ सम्झौता गर्ने प्रवृत्ति देखियो’, नास्टका एक वैज्ञानिकले भने, ‘बिनायोजना गरिएका यस्ता सम्झौता कागजमै सीमित भए, यसबाट नास्टले कुनै फाइदा उठाउन सकेको छैन।’ नास्टका पदाधिकारी विदेश भ्रमणमा गएका देशका संघसंस्थासँग मात्र यस्ता सम्झौता हुने गरेका नास्टका कर्मचारीको आरोप छ।

कागजी सम्झौताको संख्या बढाउनुको साटो देशको आवश्यकता हेर्नु उपयुक्त : वैज्ञानिक
–५० भन्दा बढी विदेशी संघसंस्थासँग एमओयू

–चार वर्षमा २० भन्दा बढीसँग सम्झौता

नास्टका उपकुलपति प्राडा. जीवराज पोखरेलले सम्झौता भएका सबै संस्थासँग काम गर्न सम्भव नरहेको बताए। उनले चाहना भए पनि नास्टले सम्झौता भएका सबै संघसंस्थासँग काम गर्न नसकिने स्पष्ट पारे। ‘त्यही क्षेत्रमा कार्यरत संस्थाहरूसँग एमओयू गर्नु नौलो होइन’, उनले उल्टै विदेशी संघसंस्थामाथि आरोप लगाउँदै भने, ‘कतिपय संस्था एमओयू गर्छन् तर सहकार्य गर्न आउँदैनन्।’ उनले केही संस्थाले प्रोफाइल बढाउनका लागि एमओयू गर्न आउने दाबी गरे। उनले भने, ‘नास्टसँग मिलेर काम गर्छौं भन्दै कुनै संस्था आउँदा हामीले हुन्न भन्ने कुरा भएन। हाम्रो चाहना नास्टले त्यसबाट लाभ लिनुपर्छ भन्ने नै हुन्छ।’

नास्टले जर्मनी, भारत, चीन, अमेरिकाका केही संस्था/विश्वविद्यालयसँग मिलेर काम गरेको पनि छ। यहाँबाट ती देशमा अध्ययन, तालिमका लागि विज्ञहरू पठाउने गरिएको छ भने ती देशबाट पनि अध्ययन अनुसन्धानका लागि विज्ञहरू नेपाल आउने गरेको नास्टले जनाएको छ। ‘यति धेरै संस्थाहरूसँग एमओयू भएको छ तर फाइदा लिन नसक्नु हाम्रै कमजोरी हो’, नास्टका एक कर्मचारीले भने, ‘हामी ती संस्थासँग निरन्तर सम्पर्कमा रहनुपर्‍यो र उनीहरूको अनुभव तथा सीपको उपयोग गर्न सक्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.