भलिबल ब्यथा
काठमाडौं : भलिबल नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा भएको जेठ ८ गते ठ्याक्कै वर्ष दिन पुग्दै छ । नेपालको प्रायः सबै स्थानमा खेल्न मिल्ने सहजता र घरेलु दर्शकमाझको लोकप्रियतालाई देखेर नै सरकारले अन्य खेललाई छाडेर भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
भलिबल साँच्चिकै नेपालको जस्तो असहज भौगोलिक अवस्थालाई सुहाउने खेल हो । तराई, पहाड र हिमाल कतै पनि खेल्न मिल्ने भलिबलले यी सबै ठाउँबाट समर्थक पनि कमाएको छ । राष्ट्रिय खेलको मान्यता पाएपछि भलिबलको विकासमा लागेका पदाधिकारी पनि हौसिएका छन् । देशभित्र आयोजना हुने प्रतियोगिता बढ्न थालेको छ । राष्ट्रिय टोलीको स्तर बढेको छ । नेपाली टोलीले मैत्रीपूर्ण नै भए पनि नियमित अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।
राष्ट्रिय टोलीका कप्तान इम रानामगरकै भनाइलाई विश्वास गर्ने हो भने पनि यो पछिल्लो एक वर्षयता नेपाली भलिबलले गति लिएको छ । सरकारले राष्ट्रिय खेलको रूपमा घोषणा गरेर मरिसकेको भलिबल खेलमा प्राण भर्ने काम गरेको छ । यद्यपि महासचिव जितेन्द्र चन्दको भनाइ सुन्ने हो भने नेपाली भलिबलसँग खेल्ने स्टेडियम हैन आफ्नै कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पर्याप्त ठाउँ पाइरहेको छैन ।
भलिबललाई व्यावहारिक रूपमै पनि राष्ट्रिय खेलको इज्जत दिनका लागि घोषणा गर्ने सरकार र त्यसका विकासमा जिम्मेवार भलिबल संघले गर्नुपर्ने काम अझै धेरै छन् । राष्ट्रिय खेल घोषणा भएपछि भलिबलले देशभित्र मात्रै हैन अन्तर्राष्ट्रिय स्तरमा पनि अहिलेको भन्दा निक्कै सशक्त प्रदर्शन गर्न सक्नु पर्नेछ ।
राष्ट्रिय खेलको मान्यता पाएपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता स्वरूप नेपाली पुरुष राष्ट्रिय टोलीले यसै महिना बंगलादेशमा आयोजित एसियन भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्यो । नेपाली पुरुष भलिबलले प्रतिस्पर्धा गर्ने कमैमध्येको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, सेन्ट्रल जोन ।
त्यसैले प्रतियोगिताका लागि नेपालले राम्रो तयारी ग¥यो । नेपालले प्रतियोगिताका लागि अवधिका हिसाबले मात्रै हैन, अन्य पक्षबाट पनि राम्रो तयारी गरेको थियो । नेपालले पहिलो पटक प्रतियोगिता अघि म्याट र लाइटमा अभ्यास गरेको थियो । यद्यपि नेपाली टोली प्रतियोगितामा चौथो भएर फर्कियो ।
प्रतियोगितामा प्राप्त स्थानभन्दा पनि राम्रो तयारीका बाबजुद नेपाली टोलीले गरेको प्रदर्शनले अझै धेरै सुधारको आवश्यकताको संकेत गरेको छ । विशेषगरी बंगलादेशविरुद्धको उद्घाटन खेल र तेस्रो स्थानका लागि भएको किर्गिस्तानविरुद्धको खेल नेपाली टोलीले आफ्नै गल्तीले गुमाउन पुगेको थियो । ती दुई खेलको प्रदर्शनले नेपाली खेलाडीलाई प्रतियोगिता अघि ‘साइकोलोजिकल मोटिभेसन’को आवश्यकता पनि देखाएको छ ।
छैन मैदान
नेपाली खेलकुदमा एक÷दुई बाहेक प्रायः सबै खेलको आफ्नो अभ्यास गर्ने मैदान छैन । आफ्नो छुट्टै अभ्यास गर्ने मैदान नहँुदा बेहोर्नु परेको कष्ट भलिबलले जत्तिको सायदै अन्य खेलले भोगेका छन् । सेन्ट्रल जोन भलिबलका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा तयारी गरेको भलिबलले घन्टौंसम्म कुर्नु परेको छ ।
भलिबलले अभ्यास गरिरहेको कभर्ड हलमा ब्याडमिन्टनको ट्रेनिङ र बास्केटबलको ट्यालेन्ट हन्ट कार्यक्रम पनि चलिरहेको थियो । भलिबललाई आफ्नो अभ्यास सुरु गर्न ब्याडमिन्टन र बास्केटबलको ट्रेनिङ सम्पन्न हुने बेलासम्म कुर्नुपथ्र्याे । त्यसपछि पनि अभ्यासअघि म्याट बिछ्याउनुपर्ने, सकिएपछि फेरि म्याट निकालेर राख्नुपर्ने लगायतको झन्झटले प्रतियोगिताको तयारीमै असर पुगेको थियो ।
सायद त्यसको असर प्रतियोगितामा पनि परेको हुनुपर्छ । राष्ट्रिय खेलको आफ्नो छुट्टै स्टेडियम नै हुनु आवश्यक छ । अभ्यासस्थलसमेत नहुनु अझ लज्जाको विषय हो ।
नेपाली टोलीले बंगलादेशमा एसी (एयर कन्डिसनर) समेत भएको सुविधा सम्पन्न स्टेडियममा सेन्ट्रल जोन भलिबल प्रतियोगिताको चारमध्ये तीन संस्करण खेलेको छ । बंगलादेशको भलिबल स्टेडियम अन्तर्राष्ट्रिय स्तरको छ । माल्दिभ्समा समेत भलिबलको छुट्टै स्टेडियम छ ।
राष्ट्रिय खेल घोषित नेपाली भलिबलसँग भने त्यो सुविधा छैन । त्यसैले भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गर्ने सरकार मात्रै हैन, भलिबल संघ पनि भलिबल स्टेडियमका लागि लागि पर्नु पर्नेछ । त्यसमा देशविदेशमा रहेका भलिबल प्रेमीहरूको साथ र सहयोग रहने नै छ ।
अझ राम्रो तयारी
नेपाली टोलीले सेन्ट्रल जोन भलिबलका लागि ४५ दिनभन्दा बढी समयको बन्द प्रशिक्षणमा रहेर तयारी ग¥यो । नेपाली भलिबलका लागि यो तयारी यसअघिका भन्दा राम्रो मानिएको छ । यद्यपि नेपालको तयारी प्रतियोगितामा सहभागी अन्य टोलीको भन्दा कमजोर देखियो ।
आयोजक बंगलादेश प्रतियोगिताका लागि एक महिना इरानमा अभ्यास गरेर आएको थियो । उनीहरूले त्यहाँ प्रशस्तै अभ्यास खेल पनि खेलेका थिए । माल्दिभ्सले समेत प्रतियोगिता अघि थाइल्यान्डमा वैदेशिक प्रशिक्षण गरेको थियो । त्यसबाहेक किर्गिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान हामीभन्दा माथि छन् । उनीहरूसँग युरोपेली लिगमा आबद्ध भएका खेलाडी छन् । त्यसैले पनि नेपाललाई आगामी प्रतियोगिताका लागि अझ योभन्दा राम्रो तयारीको आवश्यकता देखिएको छ । साथै नेपाली खेलाडीलाई प्रतियोगिता अघि ‘मानसिक परामर्श’ आवश्यकता पनि देखिएको छ । नेपाली टोलीसँग सेन्ट्रल जोनका प्रायः सबै टोलीलाई पराजित गर्न सक्ने क्षमता छ । यद्यपि खेल राम्रो हुँदा पनि नेपाली टोली अन्य टोलीसँग दबाबमा देखियो ।
नेपाली खेलाडीमा एकअर्कालाई हौस्याउँदै खेल्ने संस्कारको कमी देखियो । एउटा गल्तीमा उनीहरू साथीलाई हौस्याउन पुगेनन् । त्यस्तै अवस्थामा तेस्रो स्थानका लागि भएको किर्गिस्तानविरुद्धको खेलको दोस्रो सेटमा आठ अंकको अग्रता बनाएर पनि नेपालले जित भेट्टाउन असफल बन्यो । किर्गिस्तानविरुद्ध आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको भए मात्रै पनि नेपाली टोलीले गत वर्ष माल्दिभ्समा भएको सेन्ट्रल जोनको तेस्रो संस्करणमा हात पारेको तेस्रो स्थानलाई निरन्तरता दिने थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगिता र ‘रिजर्भ टिम’
भलिबलले पछिल्लो एक वर्षमा राष्ट्रिय टोलीलाई व्यस्त बनाइराख्न निक्कै मेहनत गरेको छ । भलिबलमा नेपालका लागि निक्कै कम मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता छन् । पछिल्लो एक वर्षमा नेपालले खेलेको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता सेन्ट्रल जोन भलिबल हो ।
नेपाल भलिबल संघका पदाधिकारीको मेहनतमै नेपाली टोलीले हङकङ र मकाउमा मैत्रीपूर्ण खेल खेल्ने अवसर पायो । नेपाली टोलीले यो अवधिमा घरमै पनि प्रशस्तै प्रतियोगिता खेलेको छ । अब प्रत्येक साता जस्तो आयोजना भइरहेको घरेलु प्रतियोगितालाई थप व्यवस्थित गर्दै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनामा पनि जोड दिनु आवश्यक छ । यो अवस्थामा नेपाल भलिबल संघले अर्काे वर्ष काठमाडौंमा सेन्ट्रल जोनको पाँचौं संस्करणको आयोजना गर्ने आट गरेको छ । यद्यपि प्रतियोगितामा किर्गिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानले सहभागिता जनाउने सम्भावना निक्कै कम छ । किनभने ती देशले नेपाललाई प्रतिबन्धको सूचीमा राखेकाले प्रतियोगिता खेल्नका लागि यी तीनै देशका टोली नेपाल आउने सम्भावना कम छ ।
भारत, पाकिस्तान र श्रीलंका सेन्ट्रल जोनको ए क्याटेगोरीमा रहेकाले नेपालसँग प्रतिस्पर्धा गर्ने छैन । अफगानिस्तान र भुटानले यस पटक पनि सहभागिता जनाएनन् । त्यसकारण नेपालले आयोजना गर्ने प्रतियोगितामा तीन टोली मात्रै हुने सम्भावना पनि छ ।
अब नेपाली भलिबलले अन्य देशसँग मिलेर दक्षिण एसियाली र अन्य टोलीको सहभागितामा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता आयोजनाको आँट पनि गर्नुपर्ने छ । त्यसबाट नेपाली टोलीले घरमै अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलको अनुभव मात्रै पाउने छैनन्, आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताबाट थप पदकको आशा पनि गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको सशक्त प्रदर्शनका लागि भलिबल संघले नयाँ प्रतिभाको खोजी र उनीहरू सहभागी रिजर्भ टोलीको व्यवस्थासमेत गर्नु पर्नेछ । यस पटक टोलीबाट नियमित रूपमा खेल्दै आइरहेका दुई खेलाडीको अनुपस्थितिमा नेपाली टोलीको ब्लक र क्कि स्पाइक कमजोर देखियो । उनीहरूलाई परिवर्तन गर्न सक्ने खेलाडी तत्काल भेटिएन । त्यसैले यो समस्याको तयारीका लागि पनि नेपालले राष्ट्रिय टोलीको ए टिम र उमेरसमूहका टोलीको पनि व्यवस्था गर्नु पर्नेछ । जसको नियमित प्रशिक्षण पनि हुन जरुरी छ ।
खेलाडीको अनुशासन
अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताका लागि खेलाडीको अनुशासन महŒवपूर्ण पक्ष हो, जसमा भलिबल संघले आगामी दिनमा विशेष ध्यान पु¥याउन आवश्यक छ । राष्ट्रिय टोलीका एक क्विक स्पिाइकरले चोट लागेको भन्दै राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए ।
उनको अनुपस्थितमा बंगलादेशमा नेपाली टोलीको क्विक स्पाइक निक्कै कमजोर हुन पुगेको थियो । नेपाली टोली बंगलादेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको बेला ती खेलाडी भने हङकङमा प्रतियोगिता खेल्न पुगेका थिए । आर्थिक रूपमा राम्रो रहेकाले ती खेलाडीले राष्ट्रिय टोलीसमेत छाडेर हङकङ पुगेको भलिबल संघले बुझेको छ । संघका पदाधिकारीले ती खेलाडीले धोका दिएको महसुस गरेको छ ।
आगामी दिनमा भलिबल संघले खेलाडीलाई पैसाभन्दा राष्ट्रिय टोलीबाट खेल्नुको महŒवबारे बुझाउन सक्नुपर्छ । र, त्यसका लागि यस्ता खेलाडीलाई कारबाहीस्वरूप राष्ट्रिय टोलीमा समावेश गर्न हुने छैन ।