‘फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनुपर्छ’
काठमाडौं : विवेकशील साझा पार्टीले सङ्घीय संसद्ले बनाइरहेको कार्यसञ्चालन नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने जारी विवादलाई नजिकबाट नियालिरहेको बताएको छ।
पार्टी प्रवक्ता एवम् प्रदेश नम्बर ३ को संसदीय दलका नेता रमेश पौडेलले शनिबार पार्टीको तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेका सांसदको पद निलम्बन हुने कानुनी व्यवस्था सुनिश्चित गर्नका लागि माग गरेका छन्।
‘फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेका सांसदको पद निलम्बन हुने कानुनी व्यवस्था सुनिश्चित गर्नका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा फौजदारी कसुरमा थुनामा रहँदा समेत सांसद पद निलम्बन हुनु हुँदैन भन्ने केही दलको दबाबप्रति आपत्ति जनाएका छन्। ‘जघन्य अपराध, गम्भीर र नैतिक पतन देखिने फौजदारी कसुरमा थुनामा रहँदा समेत सांसद पद निलम्बन हुनु हुँदैन भनी केही दल र सांसदहरूको दबाबप्रति विवेकशील साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै कार्यसञ्चालन नियमावलीका व्यवस्था सत्तापक्षले विरोधको लोकतान्त्रिक अधिकार कुन्ठित गर्ने र विपक्षीमाथि प्रतिशोध साँध्ने माध्यम नबनोस् भन्नेमा सतर्क हुनु पर्नेमा पनि हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ।’