जब मदनकृष्ण पत्नी सम्झेर भक्कानिए ...
नेपालगन्ज : तिमी जूनजस्तै लाग्छौ प्यारो
तिमी जूनजस्तै शीतल
तर जून जति नै टाढा
टाढा छौ तिमी ...
हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्नी यशोदाको सम्झनामा रचना गरेको गीत गाए । गीतका पंक्तिपिच्छे उनले पत्नीलाई सम्झे ः
धेरै टाढाको घामको न्यानो घर्तीले पाए झैं
टाढैबाट तिम्रो त्यो माया पाइरहे झैं सधंै....
पूर्णिमा साहित्य प्रतिष्ठानले कोहलपुरमा आयोजना गरेको फाइन प्रिन्ट फिभर कार्यक्रममा महको म नामक पुस्तकबारे उनले अन्तरक्रिया गर्ने कार्यक्रम थियो । तर, आयोजकले पनि उपस्थित सबैलाई उनको पुस्तक नै पढ्न आग्रह गर्दै कलाकार श्रेष्ठलाई पत्नी वियोगका पीडा बिर्साउन गीतमा भुलाए ।
कार्यक्रमका अन्तिम वक्ताका रूपमा रहेका कलाकार श्रेष्ठले पुस्तकभन्दा पत्नीसँगका दुःखसुख नै बाँडे ।
कार्यक्रमका लागि काठमाडौंबाट नेपालगन्ज आउँदै गर्दा उनले पत्नी यशोदालाई बिर्सन सकेनन् । यात्रा गर्दा फलानो ठाउँमा पुगेँ । यस्तो गरिरहेको छु भनेर जानकारी गराउने उनको बानी रहेछ । विमान चढ्दा उनलाई पत्नीको अभाव खड्कियो । सँगै रहेका लेखक युग पाठकले मोबाइलबाट घरमा कुरा गरिरहेको प्रसंग सुनाउँदा उनको अनुहार निन्याउरो देखियो ।
आख्यानकार अमर न्यौपानेले पत्नीको अभाव कति बेला हुन्छ भनेर प्रश्न गरेपछि उनी झनै भावुक बन्दै गए । ‘बाहिरबाट घर जाँदा उनी बसिरहेको जस्तो लाग्छ । कोठामै बसिरहेको छ जस्तो भान हुन्छ’, उनी बेलिविस्तार लगाउँदै गए ।
जब अन्त्येष्टिको प्रसंग आयो, उनका आँखा रसाए । आँसु रोक्न सकेनन् । आँसु पुछ्दै एकछिन मन शान्त पार्दै भन्न थाले, ‘त्यो दिन दिनभर रोएँ तर घर पुगेपछि हल्का महसुस भयो । ६ वर्ष असाध्यै पीडा भोगिन् । शरीरका धेरै भाग अप्रेसनका क्रममा चिरिए । धेरै दुःख झेलिन् । पीडाबाट मुक्ति पाए झै पनि लाग्यो ।’
उनले पत्नीको मृत्युलाई ‘उपचार’ र अत्येष्टिको दिनलाई ‘उत्सव’ भन्न भ्याए, ‘त्यो पनि एक प्रकारको ट्रिटमेन्ट भयो । महाउपचार भएजस्तो लागेको छ । तीन करोड नेपाली, सबै क्षेत्रका व्यक्ति र सबै मिडिया मलामीमा देख्दा ‘उत्सव’ जस्तो ठाने ।’
आफ्नो सफलताको श्रेय पनि उनले पत्नीलाई दिए । भने, ‘उनी कसरी हँसाउन सकिन्छ भन्ने कुरा प्रकाशित भएको सामग्री मलाई ल्याएर दिन्थिन् । उनीबाट थुप्रै सहयोग पाएको छु । अहिले अभावैअभाव छ ।’
तीजमा रातो साडी लगाएको एक दिन ‘छि’ भनेर पत्नीको चित्त दुखाएको र ६ वर्षसम्म रातो साडी नलगाएको प्रसंग पनि उनले सुनाए । उनी भावुक भएको देखेर कार्यक्रमका मोडुलेटरहरूले गीतबाट भुलाउन खोजे । उनले आफ्ना पुराना गीत रचनागर्भ सहित गाए ।
उनी अभिनयमा पनि उस्तै अब्बल भएकाले गीत गाउँदाको अनुभव पनि सुनाए । ‘केही गायकगायिकाले स्वरले मात्र गीत गाउँछन् । एक्सप्रेसन हुँदैन’, उनले आपूmले गीत गाउँदाको अनुभव सुनाए, ‘म गीतसँगै अभिनय गर्छु । जसले गीतलाई बल दिइरहेको हुन्छ ।’
र अन्तिममा पनि यशोदाकै सम्झनामा गीतबाटै आफ्नो मन्तव्य पूरा गरे ः
‘सबैले माया मारेर के भो
तिमी छँदै छौ नि मलाई प्यार गर्ने’
कार्यक्रममा फाइन प्रिन्टले २०७४ सालमा प्रकाशित गरेका पुस्तकका लेखक यज्ञश, शिवानी सिंह थारु, अमर न्यौपाने, युग पाठक, हरिबहादुर थापा, महेशविक्रम शाहले आफ्ना पुस्तकबारे अन्तरक्रिया गरेका थिए ।