प्राचीन मूर्ति करोडौ मूल्यमा बिक्री गर्ने तीन व्यापारी पक्राउ
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुरातात्विक महत्वका विभिन्न धातुबाट बनेका मूर्तीसँगै बहुमूल्य वस्तु विदेशीलाई करोडौ मूल्यमा बिक्री गरेको आरोपमा दरबारमार्गका तीन व्यापारीलाई पक्राउ गरेको छ।
ब्यूरोको टोलीले दरबारमार्गमा रहेको क्यूरो आर्टका सञ्चालक ५६ वर्षीय दीपकरत्न शाक्य, क्यूरियो कन्सनका सञ्चालक २९ वर्षीय सुगतरत्न शाक्य र देवराज आर्टका सञ्चालक ३१ वर्षीय शिशिर शाक्यलाई पक्राउ गरेको हो। उनीहरुलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट प्राचीन स्मारक संरक्षण ऐन, १०१३ अनुसारको असुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जानकारी गराएको छ ।
पक्राउ परेका दीपक ललितपुर मार्छे १६ घर भइ बखुन्डोलमा बस्दै आएका छन्। सुगत काठमाडौं २ नक्सालका स्थानीयवासी हुन् भने दरबारमार्गमा घर भएका शिशिर ललितपुर चाखुपाट बस्छन्। प्रहरीले तीनै व्यापारीलाई शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट २४ थान मूर्ति, १८ थान विभिन्न थातुबाट बनेका प्रतिमा, १०१ थान पुराना सिक्का बरामद गरेको छ। प्रहरी अनुसन्धानका क्रममा तीन पुस्तादेखि नै उनीहरु मूर्तिजन्य चिजबस्तुको व्यापार गर्दै आएको खुलेको छ। उनीहरुले पुरातात्विक महत्वका मूर्ति आठ सय र नौ सय वर्ष पुरानो भन्दै करोडौ मूल्यमा बिक्री गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार स्वीकृति बिना मूर्ति ओसार प्रसार गरेको असुरमा उनीहरुविरुद्ध २५ हजार जरिवाना, पाँच वर्षसम्मको कैद वा दुवै सजाय हुन सक्ने छ।