बाढीले बगायो कुलो
सन्धिखर्क : शीतगंगा नगरपालिका–१४ स्थित पावराटारा सिँचाइ योजनाको निर्माणाधीन बाँध स्थल तथा कुलो बाढीले बगाएको छ । पावरा गाउँमा सिँचाइका लागि करिब सात किमि टाढाबाट कुलो निर्माण गरिँदै थियो ।
केही दिनअघिको भीषण बाढीले निर्माणाधीन बाँध बगाएको छ । करिब ८० मिटरको कुलो पूरै पुरेको छ । ०४४ सालमा कुलो निर्माण भएपछि पावरामा सिँचाइ सुविधा छ । आधुनिक बाँध निर्माण गरी कुलोबाट धेरै पानी ल्याउने उद्देश्यले सिँचाइ विकास डिभिजन कार्यालयको ८२ लाखको लगानीमा ठेक्कामार्फत काम गरिरहेको थियो ।
सिँचाइ कुलो उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाम्चाकीका अनुसार बुधबार राति आएको ठूलो बाढीले निर्माणाधीन बाँध बगाएको छ ।
‘९० प्रतिशत काम सम्पन्न भइसकेको थियो । जेठ पहिलो सातामै सबै काम सम्पन्न गरी कुलो सञ्चालनमा ल्याउने तयारी थियो । बाढीले बगाएपछि सबै काम शून्यमा झरेको छ’, उनले भने ।
निर्माण ठेक्का लिएको यूएन्डआर शर्मा कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्रीहरि गौतमले सम्पन्न हुन लागेको काम बाढीले शून्यमा झारेको बताए ।
‘केही दिनमै काम सम्पन्न गरी सिँचाइ डिभिजन कार्यालय र उपभोक्तालाई हस्तान्तरण गर्ने तयारी थियो । बाढीले सबै काम शून्यमा झारिदियो’, उनले भने ।
१६ लाख रुपैयाँको निर्माण सामग्री, औजार, २० क्विन्टल छड, ४० थान जाली, २५ थान ढकन, ३० वटा वाटर प्रुफ मेसिनलगायत सामग्री पनि बाढीले बगाएको छ । बाँध निर्माणका लागि उपभोक्ताले पनि ६ महिनादेखि श्रमदान गरेका थिए ।
खेतीयोग्य जमिन भएकाले जताततैबाट पावरामा बसाइँ सराइ बढ्दो छ । जग्गाको भाउ महँगो छ । ‘महिनांैसम्म दिनहुँ श्रमदान ग¥यौं । ठूलो पानी आयो । बाँध बगायो । कुलो पु¥यो’, उपभोक्ता ठगबहादुर राष्कोटीले भने ।