प्रधानमन्त्रीले केन्द्रीकृत मानसिकता त्याग्नुपर्छ : मुख्यमन्त्री राई
फिदिम : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले संघीयतालाई संस्थागत गर्न प्रधानमन्त्रीले केन्द्रीकृत मानसिकता त्याग्नुपर्ने बताएका छन्।पाँचथर सदरमुकाम फिदिममा सोमबार पत्रकारसँग कुरा गर्दै राईले केन्द्र सरकारले प्रदेश सरकारलाई तत्काल सबै अधिकार प्रदान गर्नुपर्ने बताएका छन्।
'प्रदेशको समृद्धिको लागि केन्द्र सरकाले केन्द्रीकृत मानसिकता त्याग्नुपर्छ, राईले भने 'प्रदेशको समृद्धिको लागि प्रधानमन्त्रीले केन्द्रीकृत मानसिकता त्याग्नुहुन्छ भन्ने मलाई विश्वास छ।' लामो संघर्षपछि देश संघीय संरचनामा गएकाले देशले चाँडै मुहार फेर्ने जनताको अपेक्षा रहेको उनले बताए।
जनताको आशालाई निराशामा परिणत हुन नदिन आफू लागिपर्ने राईको भनाई छ। सहमतिको आधारमा प्रदेशको राजधानी र नामाकरण गर्न पहल गरिएको उनले बताए।'सहमतिको माध्यमबाटै प्रदेशको राजधानी र नामाकरण गरिनेछ,' राईले भने 'सहमतिका लागि अघिकतम प्रयास भइरहेको छ।'