कानुनी ज्ञानमा सुन्दर भविष्य
गाउँका ठूलाबडा, भलाद्मीहरूले न्याय निसाफ गरेको झगडा मिलाएको चासो लाग्ने पाल्पाकी विष्णु बस्याल अधिवक्तको लाइसेन्स लिएपछि आफैंले मुद्दा मामिला मिलाउने पेसा थालेकी छिन् ।
पहिलो बहसको पाँच हजार रुपैयाँ लिएर वकालत पेसा सुरु गरेकी उनले अहिले पक्षको आर्थिक अवस्था हेरेर प्रतिबहस २० देखि ३० हजारसम्म लिने गरेकी छन् । उनी दुई दशकदेखि नै यो पेसामा सक्रिय छिन् । मुद्दाको प्रकार हेरेर पनि पारि श्रमिक निर्धारण हुने उनले वताइन् । कामको चापअनुसार अहिले उनी यही पेसाबाट मासिक तीन लाखसम्म हात पार्छिन् ।
वकालतको पेसामा सबै दिन भने राम्रो आय नहुने बताउँछन् अधिवक्ता हरिओम तिमिल्सेना । मुद्दाको संख्या र पक्षको अवस्थामा वकिलको कमाइ निर्धारण हुन्छ । मेहनत र काममा खट्ने वकिलले महिनामै दुई÷चार लाख कमाउन गाह्रो नहुने उनको तर्क छ ।
अधिवक्ताको लाइसेन्स र एउटा कलम साथमा भयो भने दुनियाँ जित्न सकिने दाबी गर्छन् वरिष्ठ अधिवक्ता बाबुराम दाहाल पनि । उनका अनुसार कलमको शक्तिले संसारमा धेरै खालका युद्ध सजिलै जितेका उदाहरण छन् । न्यायिक तथा अर्धन्यायिक निकायमा कलमले गर्ने बहस पैरवी नै वकालत भएका उनले बताए ।
हेटौंडाबाट आफ्नो वकालत यात्रा सुरु गरेका दाहाल यही पेसामै करिब २२ वर्ष बिताइसके । उनलाई अत्यन्त राम्रो सम्भावना र अवसर भएको पेसा नै वकालत लाग्छ । तर्कयुक्त बहस र कानुनको समय सान्दर्भिक व्याख्या नै यसको प्रमुख विशेषता भएकाले यसमा रमाइरहेका छन् उनी । वकिल पेसा अपनाएपछि उनलाई कहिल्यै पनि खाली बस्नु परेको छैन । यही पेसाबाटै काठमाडौंमा घरजग्गासमेत जोडेका छन् । यो पेसाको कमाइ अनलिमिटेड भएको उनको अनुभव छ ।
मुद्दा लड्ने कुनै कुनै पक्षको अवस्था अत्यन्त दयनीय हुन्छ । यस्तो बेलामा सामान्य खर्चमा समेत बहस गर्ने गरेकी छन् अधिवक्ता बस्यालले । उनले आफ्नो ल फर्ममा प्रायःजसो महिलाहरूको मुद्दा बढी आउने गरेको पनि जानकारी दिइन् ।
सर्वोच्च अदालतले कुनै दिन फरक र उदाहरणीय फैसला गर्यो कि बस्याललाई उत्सुकता जाग्छ । सर्वोच्च अदालतको फैसला, नजिर र आफूभन्दा सिनियरले लेखेका कानुनी लेखरचना पढ्नु उनको रुचिको कार्य हो ।
उनका अनुसार वकालत पेसामा करियर बनाउछु भन्ने व्यक्तिले अध्ययन गर्न र कानुनको समयअनुसार व्याख्या गर्न नियमित अपडेट हुन जरुरी छ । कानुन छिटो छिटो परिवर्तन भइरहने हुनाले यसको व्याख्या र प्रयोग पनि समयअनुसार फरकफरक हुने गर्छ ।
न उमेरको हदबन्दी, न काम नपाइएला भन्ने पीर । आफूले जति अध्ययन र काम गर्न सक्यो त्यहीअनुसारको कमाइ हुने उत्कृष्ट पेसा नै वकालत भएकाले यसको अध्ययनमा लागेको बताउँछिन् नेपाल ल क्याम्पस एलएलबी तेस्रो वर्षकी विद्यार्थी लक्ष्मी दाहाल । भन्छिन्, ‘आफ्नो देशको कानुन बुझ्न र व्यावहारिक ज्ञान लिन पनि कानुनको अध्ययन जरुरी छ ।’
आफूसँग आएको मुद्दाको पक्ष जतिसुकै गलत किन नहोस्, उसलाई बचाउने र न्याय प्रदान गर्ने वकिलको दायित्व भएका बताउँछन्, अधिवक्ता तिमिल्सेना । उनका अनुसार कुनै पनि व्यक्तिको कानुनी अधिकार रक्षाको लागि पक्षको प्रतिनिधित्व गर्ने काम नै वकालत हो ।
रस्को पाउन्डका अनुसार वकिल समाजका इन्जिनियर हुन् । समाजमा अनगिन्ती समस्याहरू हुन्छन । वकिल समाजका समस्याहरूसँग प्रत्यक्ष रूपमा घुलमिल गरेको हुन्छ । कानुनी रूपमा उनीहरूका पक्षमा बहस पैरवी गरेर न्याय प्रदान गर्ने काम वकिलको हो ।
वकालतको क्षेत्रको ढोका
प्लस टु पछि कानुन विषय लिएर पढ्नुपर्छ, वकालतको क्षेत्रमा आउन । प्लस टु सकेर पढ्नेले बीए एलएलबी पाँचवर्षे कोर्स पढ्नुपर्छ भने ब्याचलर सकेर पढ्नेले एलएलबी तीन वर्षे कोर्र्स पढ्नुपर्छ । ती कोर्र्स पास गरेपछि अधिवक्ताको प्रमाणपत्र लिन बार लाइसेन्सको परीक्षा दिनुपर्छ । लाइसेन्स हात परेपछि मात्र वकालत गर्ने ढोका खुल्छ ।
वकिलको लाइसेन्सपछि आफ्नो नाम बार काउन्सिलमा दर्ता गर्नुपर्छ र आफू कुन जिल्लामा काम गर्ने हो, त्यहाँको नजिकको अदालतको सदस्य बन्नुपर्छ । त्यसपछि कानुनसँग जोडिएका सबै काम गर्ने सुविधा हुन्छ ।
न उमेरको हदबन्दी, न काम नपाइएला भन्ने पीर । आफूले जति अध्ययन र काम गर्न सक्यो त्यहीअनुसारको कमाइ हुने उत्कृष्ट पेसा नै वकालत भएकाले यसको अध्ययनमा लागेको बताउँछन् कानुन व्यवसायीहरू ।
कानुन पढेको मान्छेले आफूले सकुन्जेल बहस गर्ने सक्छन् । उमेरको कुनै हदबन्दी छैन । देशैभरि गएर सेवा प्रदान गर्न सक्छन् । स्वतन्त्र रूपमा गरिखाने पेसा वकालत भए पनि नेपाल बार एसोसियसनले वकिलहरूका लागि केही नियम र अनुशासन तोकेको छ । त्यहीअन्तर्गत बसेर काम गर्नुपर्ने हुन्छ ।
नेपालमा विकास निर्माणले जति गति लिएसँगै वकालत गर्ने क्षेत्र पनि फराकिलो बनेकाले यो पेसामा अत्यन्त राम्रो करियर छ भन्छन्, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई ।
गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाको उपमेयरको संयोजकत्वमा स्थानीय मुद्दा मिलाउने समिति बनाइएको छ । तर, तिनले पर्याप्त कानुनी सल्लाहकार पाएका छैनन् । देशका प्रत्येक स्थानीय तहमा न्यूनतम पनि दुई जना कानुन व्यवसायी आवश्यकता रहेकाले अब ठूलो संख्यामा बेरोजगार वकिलहरूले जागिर पाउने निश्चित भएको भट्टराईको दाबी छ ।
यसका लागि कानुन व्यवसायीहरूले र सरकारसँग सहकार्य गरिरहेको उनले जानकारी दिए । साथै नेपाल बारले कानुन व्यवसायीका लागि ससाना तालिम तथा अन्तक्र्रिया चलाउँदै आएको र लगत्तै लयर्स एकाडेमी सञ्चालन गर्न लागेको पनि उनले बताए ।
सुरुवातका दिनमा तत्कालै राम्रो आम्दानी नभए पनि वकालत पेसामा आउनेको लागि अत्यन्त राम्रो करियर देख्छिन् भुसाल । उनका अनुसार सामान्य वकिलले प्रतिमहिना ३० हजारदेखि माथि कमाइ गर्छन् । सिनियर र नाम चलेका वकिलले धेरै ठूलो रकम कमाउन सक्छन् ।
अधिवक्ताले काम गर्ने क्षेत्र पनि फराकिलो छ । ठूला मिडियादेखि व्यापारिक कार्यालयसम्मले कानुनी सल्लाहकार राख्नेदेखि व्यक्तिmगत रूपमै पनि वकिल राख्ने चलन बढ्दो छ । विभिन्न बैक, संघसंस्था र कार्यालयहरूमा पनि वकिलको माग बढ्दो छ । एनजीओ आईएनजीओतिर पनि करियरको सम्भावना राम्रो छ ।
त्योभन्दा पनि मुख्य अवसर भनेको लामो समय वकालतमा बिताएपछि क्षमताका आधारमा न्यायाधीश बन्न सक्ने मौकासमेत हुन्छ । न्याय सेवामा विभिन्न पदमा पुग्न पनि सकिन्छ । आफ्नै व्यक्तिगत फर्म खोलेर पनि बहस पैरवीको काम गर्न सकिन्छ । हरेक क्षेत्रमा जान पाइने हुँदा अवसरै अवसर छ कानुन पढ्नुको ।