पति विदेशमा, झुन्डिएको अवस्थामा महिलाको शव, भिनाजु फरार

पति विदेशमा, झुन्डिएको अवस्थामा महिलाको शव, भिनाजु फरार

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराटचौक स्थित त्रिवेणी चौकमा डेरा गरेर बस्ने एक महिलाको मृत्यु शंकास्पद बनेको छ । 

ताप्लेजुङको हाङ्देवा १ घर भएकी २९ वर्षीय विष्णु साउदेन लिम्बूको शव झुन्डिएको अवस्थामा सोमबार विहान फेला परेको थियो । डेरा गरेर बसेको घरकै बलोमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए । 

उनका अनुसार घटना स्थलको प्रकृति हेर्दा महिलाले आत्महत्या गरे जस्तो देखिँदैन । सलको पासो लगाएर झुन्डिएको शव भुइँमा खुट्टा टेकेको अवस्थामा फेला परेपछि मृत्युलाई शंकास्पदरुपमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  

‘झुन्डिएर भुइँमा खुट्टा टेकेको अवस्थामा शव फेला परेको छ,’ कटवालले भने, ‘ठाउँ होचो भएका कारण आत्महत्या गर्न सक्ने खालको देखिंदैन ।’ घरको भुइँतलामा झुन्डिएको अवस्थामा झ्यालबाट महिलालाई देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । 

विष्णुका पति नवीन लिम्बू तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । पति विदेश गएपछि छोराछोरी लिएर सुन्दरहरैंचा आएकी उनी डेरा गरेर बस्न थालेको प्रहरीले जनाएको छ । नवीन र विष्णुका आठ वर्षकी छोरी र चार वर्षका छोरा छन् । 

प्रहरीका अनुसार आइतबार राति विष्णु बसेको घरमा उनका आफ्नै भिनाजु सुनसरीको इटहरी उपमहानगरपालिका १९ का कमल राई पनि संगै थिए । राति त्यहीं सुते पनि उनी घटनापछि भने सम्पर्कमा नरहेको प्रहरी निरीक्षक कटवालले बताए । 

कमलले पहाडबाट ल्याएर सब्जी व्यापार गर्ने गरेको खुलेको छ । प्रहरीलाई स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार कमल तीन÷चार महिलायता विष्णु डेरा बसेको घरमा बस्ने गरेका थिए । एक प्रहरीले भने, ‘प्राय साँझ परेपछि आउने र विहान उठेर जाने गरेको पाइयो ।’ 

त्यही क्रममा आइतबार साँझ पनि उनी विष्णु डेरा बसेको घरमा बसेका थिए । खानपिन गरेर सुत्ने बेलामा भिनाजु कमलले आफ्नो छोरालाई कुटेपछि दुईजनाबीच केही बेर झगडा समेत भएको प्रहरीले जनाएको छ । 

त्यही क्रममा कमलले विष्णुलाई पनि कुटपिट गरेको जानकारी प्रहरीलाई विष्णुकी छोरीले दिएकी छन् । ‘राति ठूलो बुवा (विष्णुका भिनाजु कमल) र ममि (विष्णु) बीचमा झगडा भएको थियो । ठूलो बुवाले भाई र ममिलाई कुट्नु पनि भयो,’ विष्णुकी आठ वर्षीय छोरीले प्रहरीलाई भनिन्, ‘त्यसपछि हामी सुतिहाल्यौं । विहान उठ्दा ठूलो बुवा हुनु हुन्न थियो ।’ 

उनले ममिलाई झुन्डिएको अवस्थामा देखेको बताएकी छन् । गाउँलेको होहल्लाबाट विष्णुका छोरी र छोरा निद्राबाट ब्युँझिएको प्रहरीले जनाएको छ । छोरीले दिएको जानकारी उधृत गर्दै एक प्रहरीले भने, ‘ममीलाई झुन्डिएको अवस्थामा देखेँ । सधैँ सँगै हुने ठूलो बुवालाई खोज्दा त्यतिबेला मैले भेटिनँ ।’ 

कमल फरार भएकाले घटनालाई प्रहरीले शंकास्पद रुपमा लिएको छ । सालीसँग रहेको अवैध सम्बन्ध लुकाउन कमलले नै झुन्ड्याएर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । 

घटनापछि फरार हुनु र सम्पर्कमा नरहनुले पनि आशंका उब्जाएको प्रहरीको भनाइ छ । ‘कमलले झुन्ड्याएर सालीको हत्या गरेका हुन् की विष्णुले आफै झुन्डिएर  आत्महत्या गरेको भन्ने कुरा खुलिसकेको छैन,’ प्रहरी निरीक्षक कटवालले भने, ‘घटनाबारेमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’ 

शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । विष्णुका आफन्त आइनपुगेका कारण सोमबार शवको पोष्टमार्टम हुन सकेन । 

कटवालले शवको पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविकता बाहिर आउने बताउँदै भने, ‘फरार कमलको खोजी तीव्र पारिएको छ । घटना उनीबाटै भएको पनि हुन सक्छ ।’ विष्णुकी दिदीले कमललाई छाडेर दोस्रो विवाह गरेको पनि खुलेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.