३० जनाकै बयान सकियो: ३४ महिनामा ३८ सय किलो सुन तस्करी

३० जनाकै बयान सकियो: ३४ महिनामा ३८ सय किलो सुन तस्करी

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मंगलबारसम्ममा ३० जनासँग बयान लिएको छ। 

अभियुक्त बनाएर मुद्दा दर्ता गरिएका ६३ जना मध्ये ३० जना मात्रै पक्राउ परेका थिए। पक्राउ परेकासँग बयान लिने काम सकिएको आदालतका स्रेस्तेदार नवराज दुलालले बताए। पक्राउ परेकाको बयान अदालतले गत बिहीबारबाट लिन सुरु गरेको थियो। दुलालका अनुसार पक्राउ परेका अभियुक्तको बयान सकिएका कारण बिहीबार (पर्सी) बाट मुद्दाको बहस सुरु हुँदैछ। बुधबार कानून दिवस परेकाले बहस एक दिन पछि धकेलिएको हो। 

अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रहोवरमा लिइएको हो। बयान लिने काम सकिएपछि शर्माले प्रमाणित पनि गरिसकेका छन्। दुलालले मंगलबार निलम्बित डीएसपी संजयबहादुर राउत, प्रजित केसी र एसएसपी दिवेश लोहनीको बयान लिइएको छ।

लोहनीलाई भने प्रहरीले अनुसन्धानका लागि म्याद थप नगरिकन सिधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको थियो। अन्य २७ जनासंग यस अघि नै लिइएको थियो।

अदालतले अभियुक्त टेकराज मल्ल ठकुरीको तीन दिन तथा सइ बालकृष्ण सञ्जेल र डीएसपी राउतको बयान लिन दुई दिन समय लगाएको थियो। त्यस्तै मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारको बयान लिन पनि दुई दिन लगाइएको थियो। 

टेकराज विराटनरमा फेला परेको सनमको शव राखिएको स्कोरपिओका चालक हुन्। डीएसपी केसी र सइ सञ्जेलसहितको अपराध अनुसन्धान महाशाखाको टोलीले विराटनगर ३ मा गत फागुन १९ गते शव बरामद गरेर मोरङ प्रहरीको जिम्मा लगाएको थियो। काफ्ले र कार्की पनि सनमकै शव बरामद भएको दिन विराटनगरबाटै पक्राउ परेका थिए।  

अदालतले पूर्व डीआइजी गोविन्द निरौला, निलम्बित एसपी विकासराज खनाल, सइ सञ्जेल, हवल्दार अम्बरबहादुर थापामगर, जवान विष्णुबहादुर खड्का, विमानस्थलका कर्मचारी राजन थापा, तक्ले भनिने पुण्यप्रसाद तामाङ, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरीको, सुन तस्करीका लगानीकर्ता राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यानसँग बयान लिएको हो।
 
मंगलबार बयान लिइएका प्रहरी अधिकारीले घटनामा आफूहरुको संलग्नता अस्वीकार गरेका छन्। एसपी लोहनी र डीएसपी केसीले आफूहरुलाई राम्रो काम गर्दा–गर्दै पनि फसाइएको बयान दिएका छन्। तस्करीको सुन लुकाएको आशंकामा यातना दिएर सनमको हत्या भएको थाहा पाएपछि घटनामा संलग्न पक्राउ गर्न माथिल्लो निकायको आदेश लिएर आफूले टोली खटाएको लोहनीको बयान छ।

अदालतका एक कर्मचारीका अनुसार सुन तस्करीका विषयमा आफ्नो कोहीसँग सम्पर्क सम्बन्ध नरहेको स्पष्ट पार्दै उनले विशुद्ध रुपमा अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने योजना रहेको बयान दिएका छन्। 

घटनालाई लिएर लोहनी र केसीको भूमिका भने शंकास्पद नदेखिएको स्रोतको दाबी छ। ‘अपराधमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरी नगए को जान्छ?’, एक कानुन व्यवसायीले भने, ‘अपराधी पक्राउ गर्न खोज्दा अनेक षडयन्त्र गरेर फसाएको प्रष्ट हुन्छ।’ उनले घटनाबारे एआईजी बमबहादुर भण्डारी, एसएसपी लोहनी र डीएसपी केसीबीच भएको फोन संवादको रेकर्ड सुनाउँदै भने, ‘राम्रो काम गर्दा पनि अभियुक्त हुनु पर्ने दिन आएछ। यस्ता कुरामा छानबिन र अनुसन्धान गर्ने निकाय गम्भीर हुनु पर्ने भए पनि त्यो देखिएन।’

तीन जनाबीचको फोन रेकर्डले अपराध अनुसन्धान महाशाखाको टोली घटनाका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती लगायतलाई पक्राउ गर्न र सनमको शव बरामद गर्न केन्द्रीत भएको पुष्टि गर्ने ती कानून व्यवसायीले बताए। लोहनीले घटनाका विषयमा आफ्नो कुनै बद्नियत नरहेको र विभिन्न प्रपञ्च रचेर फसाउन खोजिएको गुनासो गरेको अदालत स्रोतले बतायो। 

सुन तस्करी र सनम हत्या अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ६३ जनाविरुद्ध गत बुधबार अलगअलग मुद्दा दर्ता गरेको थियो। जसमा प्रहरी सेवासँग जोडिएकाको संख्या आठ छ। उनीहरु विरुद्ध आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो।

जसमा ३० जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये सई बालकृष्ण सञ्जेल सहित २३ अभियुक्तविरुद्ध सबै मुद्दा दर्ता भएको छ। पूर्व र बहालवाला प्रहरी कर्मचारी गरेर सातविरुद्ध भने संगठित अपराधमा मुद्धा दर्ता गरिएको छ। उनीहरुमाथि अवैध सुन कारोबारीसहित संगठित अपराध र सनम हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेको अभियोग लगाइएको छ। 

मुख्य अभियुक्त गोरे भनिने चूँडामणि उप्रेती, एसएसपी श्यामबहादुर खत्री, कृष्णकुमार अग्रवाल, प्रमोद श्रेष्ठ, छिरिङ वाङ्गेल, हरिशरण खड्का, हेमन्त गौतम, मणिराम चौलागाई, कमल कार्की, शिवकुमार गुभाजु, सुनिल श्रेष्ठ, अमरबहादुर थापा, समिर अधिकारी, संजय अधिकारी, गीता श्रेष्ठ, प्रयास पराजुली, रामहरि कार्की, गुप्तमान भुषाल, अर्जुनप्रसाद खरेल लगायत फरार छन्। 

अदालतका स्रेस्तेदार दुलालले मुद्दाको बहस सकिएर अदालतले आदेश गरेपछि फरार भएका प्रतिवादीका नाममा ७० दिन र थप ३० दिनको वारेन्ट जारी हुने छ।

अभियुक्तका तर्फबाट बहस गर्नका लागि ४३ जना कानुन व्यवसायीले मंगलबारसम्ममा वकालतनामा दर्ता गराएको जानकारी दुलालले दिए। उनका अनुसार बहस चल्दै जाँदा पनि कानुन व्यवसायीका लागि वकालतनामा दर्ता गराउने बाटो भने खुल्ला रहन्छ। बादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकसहित आठजना सरकारी वकिलले बहस गर्दैछन्। 

२०७४ साल माघ ९ गते विमानस्थलबाट तस्करी गरेर भित्राइएको साढे ३३ किलो सुन लुकाएको आरोपमा करेन्ट लगाएर यातना दिने क्रममा मोरङको उर्लाबारी नगरपालिका ७ का सनम शाक्यको हत्या भएपछि पछिल्लो पटक भएको सुन तस्करीको घटना बाहिर आएको हो।

शाक्यको शव फेला परेको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ,  मे १ च ५३९५ नम्बरको टाटा गाडी, घटना अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बा ३९ प ९३० को स्कुटरलगायत स्कोरपिओ भित्र बरामद भएका शाक्यलाई करेन्ट लगाउनका लागि प्रयोग गरिएको १२ भोल्टका दुईवटा ब्याट्री, डीसी पावरलाई एसीमा परिवर्तन गर्ने चारवटा इन्भटर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड, माछा मार्ने जाल, चामल र चिनी लगायतका दैनिक उपभोग्य वस्तु प्रहरीले प्रमाणका रुपमा अदालतमा बुझाइएको छ।

तस्करी गरिएको भनिएको साढे ३३ किलो सुन भने अझै भेटिएको छैन। मुख्य प्रमाणका रुपमा पेश गर्नु पर्ने सुन नै नभेटिएपछि मुद्दका लागि पर्याप्त प्रमाण नपुगेको दाबी कतिपय कानून व्यवसायीको छ।

३४ महिनामा ३८ सय किलो सुन तस्करी
यसैबीच गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ। सन् २०१५ जुलाई देखि हाल सम्म उक्त परिणामको सुन तस्करी भएको अनुसन्धानबाट खुलेको हो।

अदालतमा अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्दा यो कुरा पनि खुलाइएको छ। प्रचलित मूल्य अनुसार १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बराबरको सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अभियुक्तविरुद्ध यो बराबरको माग दाबी पनि गरिएको न्यायाधीवक्ता पाठकले बताए। उनले घटनालाई लिएर अभियुक्त पिच्छे नै फरक फरक मागदाबी गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.