पिउनयोग्य पानी देऊ

पिउनयोग्य पानी देऊ

मानव स्वास्थ्यमा पानीको महत्वपूर्ण भूमिका हुन्छ। चिकित्सक भन्छन्–एउटा वयस्क मानिसले स्वस्थ जीवन जिउन हरेक दिन ३÷४ लिटरसम्म पानी पिउनु आवश्यक छ। पानी पिउनु त छँदै छ। शुद्ध पानी पिउनु पनि उत्तिकै महत्वपूर्ण छ। शुद्ध पानी अभावमा आउँ, झाडापखाला, जन्डिसजस्ता रोग लाग्ने चिकित्सक बताउँछन्। फोहोर पानीले श्वासप्रश्वासमा असर गर्नुका साथै दमलगायत अन्य धेरै रोग लाग्ने सम्भावना हुन्छ। रोगबाट बँच्न हरेक मानिसलाई स्वस्थ पानी चाहिन्छ। स्वस्थ जीवनका लागि शुद्ध पानी आवश्यक छ। त्यसोभए, हामीले दिनहुँ पिइरहने पानी कति शुद्ध होला ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का अनुसार काठमाडौं उपत्यकामा उपलब्ध पानी पिउनयोग्य छैन। नास्टले गत वर्षको वैशाखदेखि चैतसम्म हजार ठाउँमा पानीको नमुना परीक्षण गरेकामा ती कुनै पनि नमुनाका पानी पिउनयोग्य देखिएन। उपत्यकावासीले हरेक दिन फोहोर पानी पिइरहेको नास्टको परीक्षणले बताएको छ। उसले भनेको छ– काठमाडौंको पानीमा आइरन, ब्याक्टेरिया, अमोनियाको मात्रा उच्च देखिएको छ।

अध्ययनका क्रममा काठमाडौंको हरेकजसो मुहानमा ‘कोलिफर्म’ समेत भेटिएको थियो। कोलिफर्म दिसामा हुने एक किसिमको ब्याक्टेरिया हो। यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ का अनुसार पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने बताइएको छ। तर, उपत्यकावासी हरेक दिन कोलिफर्ममिश्रित पानी पिउन बाध्य छन्। पानीमा कोलिफर्म मात्र होइन, आइरनको मात्रा पनि बढी रहेको नास्टले बताएको छ।

आइरनको मात्रा प्रतिलिटर ३ प्रतिशत हुनुपर्नेमा ५ देखि १० प्रतिशतसम्म भेटिएको छ। अर्थात्, उपत्यकाको पानी गुणस्तरहीन छ। उपत्यकावासीले हरेक दिन फोहोर पानी पिइरहेका छन् भनेर बुझ्नलाई नास्टले निकालेको माथिको निष्कर्ष पर्याप्त छ। स्वस्थ पानीबिना स्वस्थ जीवन कल्पना गर्न सकिँदैन। पानीकै कारण उपत्यकावासी दिनदिनै अस्वस्थ बन्दै गइरहेका छन्।

उपत्यकाको पानी पिउनयोग्य नभएको खबर आएको यो नै पहिलोपटक होइन। बेला–बेलामा यस्ता समाचार बाहिर आउने गर्छन्। तर, पानीजस्तो आधारभूत मानवीय आवश्यकताको विषयमा सरकारले उचित कदम चालेको देखिँदैन। वर्षौंदेखि उपत्यकावासी फोहोरपानी पिउन बाध्य छन्। राज्यले अन्य विकल्प तयार नपार्दा सर्वसाधारणले हरेक दिन फोहोर पानी पिउनु परेको हो। मेलम्ची ल्याएर काठमाडौंवासीलाई स्वस्थ पानी पिलाउने भनिएको पनि वर्र्षौं बितिसक्यो। अन्यत्रबाट पानी ल्याउन पनि उचित कदम चालिएको देखिँदैन। उपत्यकामै भएका पानीको मुहान सदुपयोग नगर्ने र विकल्प पनि नखोजिने हो भने उपत्यकावासीले अझै कैयौं वर्षौंसम्म अशुद्ध पानीमै जीवन गुजार्नुपर्ने देखिन्छ।

केयूकेएलका अनुसार हरेक दिन ३ सय ७५ मिलियन पानी काठमाडौंवासीलाई आवश्यक पर्छ। तर, मागको २५ प्रतिशत मात्रै पूर्ति हुँदै आएको तथ्यांक सार्वजनिक भएको छ। एकातिर आवश्यक मात्रामा पानी नहुनु र अर्काेतिर भएको पानी पनि पिउनयोग्य नहुँदा मानव स्वास्थ्यमा गम्भीर संकट आउने छ।

सीमित स्रोत र असीमित रूपमा बढिरहेको जनसंख्याको चापबीच तादात्म्यता नहुँदा पानीको अभाव बढ्न थालेको छ। भएको सीमित पानीले जीवन गुजार्नुपर्ने हुँदा धेरैले पानीको शुद्धतामा ख्याल गरेको पाइँदैन। दैनिक रूपमा अशुद्ध पानी पिइरहँदा त्यसले पार्ने प्रभाव कम्ती जोखिमपूर्ण छैन।शुद्ध पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। एकपछि अर्काे तथ्यांकले पानीको शुद्धतामा प्रश्न चिह्न उठाइरहँदा सम्बन्धित निकायले चासो देखाएको देखिन्न। उपत्यकावासीको शुद्ध पानी पिउन पाउनुपर्ने अधिकारलाई सम्बोधन गर्न राज्यले बेलैमा उचित कदम चाल्नु जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.