रोकियो कर्मचारी सन्तति छात्रवृत्ति कार्यक्रम
फलोअप
काठमाडौं : निजामती कर्मचारीका छोराछोरीका लागि लक्ष्य गरी सञ्चालन हुँदै आएको सन्तति छात्रवृत्ति कार्यक्रम अन्ततः रोकिएको छ। सरकारले छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुन नसकेको र छात्रवृत्ति पाएकालाई कार्यविधिअनुसार सरकारी काममा लगाउन नसकिएको निष्कर्ष निकाल्दै उक्त कार्यक्रम रोकेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छात्रवृत्तिका लागि आवश्यक थप ९ करोड रुपैयाँको बजेट निकासा गर्न अर्थ मन्त्रालय अनिच्छुक भएपछि यसपटकको कार्यक्रम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।
अर्थ मन्त्रालय स्रोतले पनि कर्मचारी सन्तति छात्रवृत्ति कार्यक्रम प्रभावकारी नभएको पाइएपछि बजेट निकासा रोकिएको बताएको छ। चालू आर्थिक वर्षका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न आवश्यक १३ करोडमध्ये ९ करोड रुपैयाँ अपुग थियो। चार करोड रुपैयाँ भने सामान्य प्रशासन मन्त्रालयसँग मौज्दात छ।
अर्थले रकम नदिएपछि चालू आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका झन्डै एक हजार सन्ततिका लागि वितरण गर्ने तयारी गरिएको छात्रवृत्ति कार्यक्रम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।
छात्रवृत्तिका लागि आवश्यक थप ९ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालय अनिच्छुक भएपछि कार्यक्रम रोकिएको हो।
अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगरिदिँदा यस पटकको छात्रवृत्ति कार्यक्रम वितरण हुन नसक्ने अवस्था आएको सामान्यका प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव शिवराम न्यौपानेले बताए। 'छात्रवृत्ति कार्यक्रमको सबै प्रक्रिया सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्छ', उनले भने, 'त्यसैले यस पटक छात्रवृत्ति वितरण गर्ने सम्भावना छैन।' सामान्यले डेढ महिनादेखि नै सन्तति छात्रवृत्तिका लागि अर्थ मन्त्रालयसँग रकम निकासा गर्न पत्राचार गर्दै आएको थियो।
चालू आर्थिक वर्षमा छात्रवृत्ति वितरण गर्न माग गरिएको नौ करोड रुपैयाँ नआउने भएपछि छात्रवृत्ति कार्यक्रम स्वतः रोकिएको सामान्यका सन्तति छात्रवृत्ति शाखाका अधिकृत कृष्णप्रसाद हुमागाईंले जानकारी दिए। केही दिनअघि मात्रै अन्नपूर्ण पोस्ट्ले निजामती कर्मचारी सन्तति छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुन नसकेको र सरकारकै कार्यविधिअनुसार कार्यक्रम सञ्चालन हुन नसकेको समाचार प्रकाशन गरेको थियो।
सरकारले आर्थिक वर्ष २०६६/६७ देखि निजामती कर्मचारीका सन्ततिलाई डक्टर, इन्जिनियर, नर्स, कृषि, तथा वन प्राविधिक, डेन्टिस्टलगायत १० विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। आव २०६६/६७ देखि २०७३/७४ सम्म मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन्। छात्रवृत्तिको रकम दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म छ।