डमरुको डन्डीबियो : जोखिमपूर्ण कथावस्तु, सरल प्रस्तुति
काठमाडौं : ‘छोरा सरकारले अन्तरप्रदेशीय डन्डीबियो प्रतियोगिता गराउँदै छ, थाहा छ तँलाई ? ’ ‘किन थाहा हुनु प¥यो, यो प्रश्न लोकसेवा आयोगमा आउने होइन क्यारे ।’ बाबु छोराको यो संवाद हो प्रदर्शनरत चलचित्र डमरुको डन्डीबियोको । केही वर्षपहिले नेपालको राष्ट्रिय खेल डन्डीबियोलाई खारेज गरेर सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरिसकेको छ । तर, यो फिल्मले डन्डीबियोजस्तो नेपालको मौलिक खेल लोप हुन नदिन वकालत गरेको छ ।
फिल्मका मुख्य पात्र डमरु डन्डीबियो खेललाई संस्थागत रूपमा अगाडि बढाउने सपना देख्छन् । यही सपना पूरा गर्न उनी काठमाडौंबाट आफ्नो घलेगाउँ फर्कन्छन् । काँधमा डन्डी र बियो भिरेर डमरुको इन्ट्री हुन्छ । अब उनको काम गाउँका युवालाई डन्डीबियो खेल्न उक्साउनु हो । उनी डन्डीबियोको नियम सिकाउन थाल्छन् । तर, मनोरञ्जनको रूपमा मात्र खेलिने यो खेल आधिकारिक रूपमै किन खेल्ने ? यो खेल खेलेर के फाइदा हुन्छ ? यसमा युवाको भविष्य के ? यस्तै प्रश्नको सेरोफेरोमा घेरिएको छ फिल्मको आधा समय ।
वर्षौंअगाडि डमरु (खगेन्द्र लामिछाने) का बुवा (अनुप बराल) ले यो खेललाई संस्थागत गर्न निकै प्रयास गरे तर सकेनन् । युवा अवस्थामा डमरुका बुवा हेडमास्टरकै लहलहैमा लागेर आफ्नो भविष्य बर्बाद भएको सोच्ने पुस्ता पनि गाउँमै छन् । डन्डीबियो खेलमा कुनै योगदान दिन नसकेपछि हेडमास्टर पनि डन्डीबियो सन्दुकमा थन्क्याएर बस्न बाध्य हुन्छन् । उनको छोरा डमरु भने त्यही डन्डीबियो खेललाई संस्थागत गर्न संघर्ष गर्दै हिँड्छन् । तर, हेडमास्टरको बुझाइमा असफल भइसकेको सपना फेरि किन देख्नु प¥यो ? छोरालाई कुनै पनि हालतमा डन्डीबियो छुन नदिने निर्णयमा पुग्छन् उनी । अन्ततः डमरुले यो खेल छोड्न आफ्नै बुवासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । ‘फादर भर्सेस सन’बीच प्रतिस्पर्धा भयो । डमरुले खेल हारे ।
हारसँगै डमरु बुवाको सपना पूरा गर्न काठमाडौं पस्नै पर्ने भयो, लोेकसेवा पढ्न । यसैबीच डमरुले डन्डीबियोको सपना देख्न छाडे । उत पूरै गाउँ भने डन्डीबियो खेल्न तातिएका छन् । कथामा आएको यो टुइस्टको कारण हो, ‘बुवा छोराको डन्डीबियो प्रतियोगिता युट्युबमा भाइरल हुनु ।’
खेलको क्रेज देशभरि बढेसँगै डमरुलाई हेडमास्टरले गाउँ फर्कन आग्रह गर्छन् । तर डमरु मान्दैनन् । पछि सरकारले अन्तरप्रदेशीय डन्डीबियो प्रतियोगिता गर्ने घोषणा गरेपछि डमरु गाउँ नफर्की बस्न सक्दैन् । गाउँ फर्किएसँगै डन्डीबियो खेलका लागि गरेको अभ्यास, मेहनत र प्रण फिल्ममा निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । अन्ततः डमरुको टिमले प्रदेश नं. ४ बाट खेल जित्छ ।
चलचित्रका लागि यो निकै जोखिमपूर्ण विषयवस्तु हो । तर स्क्रिप्टमा गरिएको मेहनत र कलाकारको सहज अभिनयले चलचित्र सरल र आँखालाई आनन्द दिने खालको बनेको छ । खेलकुदको विषय त्यो पनि लोप हुन लागिसकेको छ । यसलाई व्यावसायिक चलचित्र बनाउने काम त्यति सजिलो हुन्न । तर चलचित्रको टिमले यसलाई जीवन्त बनाउन निकै मेहनत गरेका छन् ।
क्रिकेट, फुटबलजस्ता खेलहरू अन्तर्राष्ट्रिय रूपमै चर्चित छन् र यसमा युवाहरू आफ्नो भविष्य पनि देख्छन् । यस्तोमा लोपोन्मुख डन्डीबियो खेल ब्यूँत्याउने काम त्यति सजिलो छैन । कलाकार खगेन्द्र लामिछाने र निर्देशक छेतङ गुरुङले ठूलो जोखिम मोलेर फिल्म निर्माण गरे जुन आफैंमा प्रशंसायोग्य छ ।