युवा व्यवसायी खड्कालाई अन्तराष्ट्रिय अवार्ड
काठमाडौं : नेपालका एक युवा उद्यमी अन्तराष्ट्रिय अवार्डबाट पुरस्कृत भएका छन् । हेल्थ केयरको क्षेत्रमा क्रियाशिल उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका हुन् । सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक वर्ष दिने ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’ बाट खड्कालाई पुरस्कृत गरिएको छ ।
हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशिल नेपाली उद्यमी ३४ वर्षीया खड्कालाई बुधबार साँझ दुबईमा आयोजित समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो । खड्का ४० वर्ष भन्दा कम उमेरका व्यवसायीलाई प्रदान गरिने यो अवार्ड पाउने पहिलो नेपाली युवा उद्यमी बनेका छन् । उक्त अवार्डका लागि ४० वर्षभन्दा कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगति र योगदानको आधारमा प्रदान गरिदै आएको छ ।
सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धान टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्दछ । विगत चार वर्षदेखि नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टीच्युट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष पनि हुन् ।
उनी प्राईभेट हस्पिटल एसोसियसन (अपिन)का केन्द्रीय सदस्य पनि हुन् । अष्ट्रेलिया सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समुहमा पनि उनी सदस्य छन् ।