टिप्परको ठक्करबाट स्कुले बालकको ज्यान गयो
गाईघाटः रौतामाई गाउँपालिका–५ कालिमाटीमा विहीबार दिउँसो टिफरको ठक्करबाट एक स्कुले बालकको ज्यान गएको छ ।
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डस्थित कालिमाटीमा ना.३.ख.८५७४ नम्बरको टिफरको ठक्करबाट स्थानीय तिलक राईका ११ वर्षीय छोरा निगम राईको ज्यान गएको हो ।
कालिका माध्यमिक विद्यालय कालिमाटीमा कक्षा ४ मा अध्ययनरत बालक टिफिनको समयमा खेल्ने क्रममा टिफरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उदयपुर र खोटाङको सिमास्थल फोक्सिनाटरस्थित सुनकोसीबाट डाडाँगाउँतर्फ गिटी लिएर आउँदै गरेको रौता कस्ट्रक्सनको टिप्परले ठक्कर दिएको वडाध्यक्ष पाण्डव राईले जानकारी दिए ।
रोकिराखेको टिफरको पछाडी खेल्दै गरेका राईलाई चालकले बिनासंकेत गाडी पछाडी सारेपछि किचेको वडाध्यक्ष राईले बताए । राईले टिप्पररसँगै विद्यालयको लापरवाहीले पनि घटना भएको संकेत गरे ।
‘यो समय विद्यार्थी शिक्षकको जिम्वेवारी भित्र रहन्छ, तर कसरी बाहिर निस्किए, त्यसको जवाफदेही को हो ? प्रधानाध्यापक विद्यालयमा छैनन् भन्ने सुनेको छु, त्यसैले छानविन गर्छु’, उनले भने । मृतक बालकको टाउकोमा चोट लागेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से ल्याउने तयारी भइरहेको छ ।