धर्म र प्रदेश नीतिमा मोदी
नयाँदिल्ली : नेपालसँगको सम्बन्धमा नाकाबन्दी अघि कै न्यानोपना ल्याउन प्रयासरत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण नेपाल नीति भने धर्म र प्रदेश राजनीतितर्फ मोडिएको देखिन्छ । जनकपुरबाट सुरु भई मुक्तिनाथ हुँदै काठमाडौं–दिल्ली फर्कने तालिकाले यो कुरालाई तर्कसँगत बनाउँछ ।
हुनत प्रादेशिक संरचनामा गएको मुलुकको जुनै स्थानबाट भ्रमणका कार्यक्रम सुरु गरेपनि फरक नपर्नु पर्ने हो । ओझेलमा परेको तराई क्षेत्रको आर्थिक सामाजिक, सांस्कृतिक तथा पर्यटकीय विकासको दृष्टिकोणले मोदीको जनकपुर भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ ।
नयाँ संविधान अनुरुप भएको तीन तहको निर्वाचनले किनारा लगाइसकेपछि दिल्लीले पनि मधेस मुद्धाको रटान छाडेको छ । तर प्रादेशिक संरचनाले दिल्लीलाई नै लाभ पु¥याएको देखिन्छ ।
दुई नम्बर प्रदेशमार्फत मोदीको तेस्रो भ्रमणको ‘रिडिजाइन’ उनको धार्मिक राजनीतिलाई प्र श्रय दिने कदम मात्र नभएर नेपालको राजनीतिमा प्रादेशिक राजनीतिको साथ मार्फत केन्द्रको राजनीतिमाथि दबाब सिर्जना गर्ने नयाँ ‘प्लेकार्ड’ हुनसक्ने जानकारको बुझाइ छ ।
कर्नाटक निर्वाचन र नेपाल भ्रमण
कर्नाटक विधानसभा निर्वाचनको एक दिन अघि सुरु गरेर निर्वाचन सम्पन्न हुने अवधिको बीचमा मोदीको यो भ्रमण डिजाइन गरिएको छ । निर्वाचन प्रचार प्रसारको निषेधित समयावधिबीचको यो भ्रमणलाई मोदीको आन्तरिक राजनीति भित्र महत्वपूर्ण रणनीतिको रुपमा विश्लेषण गरिएको छ । मौन अवधिमा हुने यो भ्रमणले भारतीय सञ्चारमाध्यममा पनि महत्वपूर्ण स्थान पाउने हुँदा यसलाई यसरी डिजाइन गरिएको बुझाइ केही बुद्धिजीबीको छ । जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक स्वरन सिंहले बिहीबार भारतीय दैनिक पत्रिका हिन्दूस्तान टाइम्सको ओपेड पेजमा लेखेका छन्, ‘निर्वाचन प्रसार सकिएको दिन (मे १०) मा हुने यो भ्रमण मिडियामा पनि बृहत रुपमा कबर हुनसक्छ र यसले मोदीको आन्तरिक राजनीतिमा निकै महत्व राख्छ । मोदीको यो भ्रमणलाइ छिमेकीसँग तारबार लगाउने शीर्षकमा उनले उल्लेख गरेका छन् ।
मोदीको विदेश भ्रमण र नेपाल ?
मोदीले चार वर्षको अवधिमा यूरोप, अमेरिका लगायत विश्वको ७९ मुलुकको भ्रमण गरिसकेका छन् । विदेश नीतिको बारेमा आन्तरिक राजनीतिमा आलोचना खेपिरहेका मोदीले विश्वको शक्तिशाली मुलुकहरुसँगको सम्बन्ध बिस्तारलाइ प्राथमिकतामा राख्दै भ्रमणलाई निरन्तरता दिइरहेका छन् । उनी पाँच पटक अमेरिका पुगिसकेका छन् भने चीन र जर्मनीको चार पटक भ्रमण गरिसके ।
आगामी महिना उनको सूचीमा चीन पून परेको छ । फ्रान्स र रसिया तीन पटक पुगिसके । यी भ्रमणको सूचीमा नेपालको अघिल्लो दुई पटकको भ्रमण पनि समावेश छ । मोदीको ८० औं भ्रमणमा पून नेपाल परेको छ ।
नाकाबन्दी अघि गरिएका दुई भ्रमण र पछिको यो तेस्रो राजकीय भ्रमणमा मोदीले युटर्न लिएका छन् । भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति सि चिनफिङसँगको अप्रिल अन्त्यमा भएको अनौपचारिक भेटवार्तापछि भारत, नेपाल र चीनबीचको राजनीतिक समिकरणको स्वरुप नै परिवर्तन भएको छ । यद्यपि यो भेटघाटका अनौपचारिक कुराकानीमा अफगानिस्तानमा आर्थिक सहकार्यको प्रसंगलाई चासोको रुपमा हेरिएको छ । तर यसको मूर्तरुप कार्यान्वयनमा नगएसम्म भन्न नसकिने केही जानकार सञ्चारकर्मीको छ ।
प्रसंग फेरि नेपाल तर्फकै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा स्वागत गरेर आफूले चीनको भ्रमण सकाएपछि मोदीले नेपाल भ्रमणको चाँजोपाँजो मिलाएका छन्, नेपालको राजनीतिक नेतृत्वमा यसले पक्कै पनि एक किसिमको मानसिक दबाब सिर्जना गरेको छ ।
वैश्विक राजनीतिमै उथलपुथल भइरहेको पछिल्लो समयमा आर्थिक साझेदारीको वास्तविकता अनुरुप भारत र चीन एकअर्कासँग लचक ढंगले प्रस्तुत हुनुले नेपालकोे बार्गेनिङ पावरलाई झटका दिएको छ । मोदीको यो भ्रमणमा राजनीतिक दबदबा कायमै रहनेमा दिल्ली ढुक्क छ । प्रतिस्पर्धा र सहकार्यमा आधारित भारत र चीनबीचको सम्बन्धले नेपालको यी दुई मुलुकबीचको सम्बन्ध निर्धारित हुने कुरालाई गहिरिएर सोच्ने हो भने मोदीको नेपाल भ्रमणलाई राजनीतिक र कुटनीतिक स्तरबाट सफल बनाउनु नै नेपाल हित अनुकुल हुन्छ ।
ख्याति फर्केला ?
नाकाबन्दीपछि पहिलो पटक नेपाल जान लागेका मोदीले नेपाल सरकारसँगको सम्बन्धलाई ट्रयाकमा ल्याउन सफल भए पनि नेपाली जनताबीच गुमाएको ख्यातिका कारण सेलिबे्रटीको पूरानो छविलाई ब्युत्याउन भने गाह्रो देखिन्छ । नेपाली जनतामाझ ख्यातिलुप्त अवस्थामा मोदीले नेपालको भ्रमण गर्दैछन् ।