सुरक्षित छैन जारको पानी
काठमाडौं : देशका अधिकांश सहरमा खानेपानीका रूपमा जारको पानीको प्रयोग बढ्दो छ। पानी उत्पादन कम्पनीले पनि प्रशोधनमार्फत आफूहरूले पानी पिउन योग्य बनाएको दाबी गर्दै आएका छन्। घरभित्र मात्र होइन, चिया पसलदेखि ठूला होटलमा पनि जारको पानीको प्रयोग ह्वात्तै बढेको छ। ‘सिलबन्दी’ भएर आउने जारको पानी उपभोक्ताले ढुक्क भएर पिउने गरेका छन्।
तर एक अध्ययनले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पानी पनि पिउन अयोग्य रहेको देखाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको परीक्षणमा अधिकांश जारको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने जीवाणु भेटिएका छन्।
एक साताअघि नास्टले उपत्यकामा पानी वितरण गर्दै आएका ५० वटा विभिन्न कम्पनीका पानीको नमुना संकलन गर्दै आफ्नो ल्याबमा परीक्षण गरेको थियो। परीक्षणले सबैजसो कम्पनीका पानीमा हानिकारक जीवाणु भेटिएको देखाएका छन्। नास्टका अनुसार ९२ प्रतिशत जारका पानीमा कोलिफर्म भेटिएको छ। अध्ययनले एक सय मिलिलिटर पानीमा ३ सयभन्दा धेरै समूहमा कोलिफर्म रहेको देखाएको छ। ७४ प्रतिशतमा भने दिशामा हुने जीवाणु ‘इकोली’ भेटिएको छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार पानीमा कोलिफर्म र इकोली दुवै शून्य हुनुपर्छ। पानीको परीक्षणमा सक्रिय वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले जारको पानीमा दुवै ब्याक्टेरिया (कोलिफर्म र इकोली) अत्यधिक भेटिएको बताए। ‘जारको पानीको ढुक्क भएर पिउने स्थिति छैन’, उनले भने।
एक सय मिलिलिटर पानीमा ३ सयभन्दा धेरै समूहमा कोलिफर्म र ७४ प्रतिशतमा दिशामा हुने जीवाणु ‘इकोली’ भेटिएको छ।
पानी कम्पनीहरूले ब्याक्टेरिया मार्न पानीमा क्लोरिनको उच्च प्रयोग गर्ने गरेको समेत पाइएको छ। जसले गर्दा कतिपय जारको पानी पिउँदा क्लोरिन गन्हाउँछ। क्लोरिन मानव स्वास्थ्यका लागि आवश्यक रहे पनि यसको बढी प्रयोग हानिकारक हुने विज्ञ बताउँछन्। जारको पानीमा धमिलोपना, फलाम, आर्सेनिक, क्लोराइड, एमोनिया र नाइट्रेटको मात्रा पनि बढी रहेको नास्टले जनाएको छ। नाष्टले परीक्षण गरिएका पानीका कम्पनीहरूको नाम गोप्य राखेको छ। उसले उपभोक्ताले आफूले पिउने पानी कम्पनीबारे जान्न खोजे सूचना दिने जनाएको छ।
सरकारले नियमनमा कडाइ नगर्दा उपभोक्ता ठगिन बाध्य भएको पन्तले बताए। ‘सरकारले लाइसेन्स दिने तर निरन्तर अनुगमन र नियमन नगर्दा व्यापारीले अनुचित फाइदा उठाइरहेका छन्’, उनले भने। कतिपय व्यापारीले इनार, धारा, बोरिङ र खोलाको पानी सीधै ट्यांकरमा ओसार्ने र कम्पनीमा ल्याई बिनाप्रशोधन जारमा भर्ने गरेको आरोप लाग्दै आएको छ। उपत्यकामा सरकारबाट लाइसेन्सप्राप्त दुई सयभन्दा बढी पानी कम्पनी छन्। उपभोक्ता अधिकारवादीले सरकारले कहिलेकाहीँ देखावटी रूपमा अनुगमन गरे पनि कारबाही नगर्दा व्यवसायीले दूषित पानी वितरण गरिरहेको आरोप लगाए।
दैनिक पाँच बिरामी भर्ना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पछिल्लो समय दूषित पानी सेवनकै कारण बिरामी भएका दैनिक पाँच÷छ व्यक्ति भर्ना हुने गरेका छन्। अस्पतालका ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाका अनुसार बर्खायाम सुरु भएसँगै यो संख्या झनै बढ्नेछ। दूषित पानीका कारण झाडाबान्ता, पखाला, आउँ, हेपाटाइटिस ‘ए’ र ‘ई’जस्ता रोग लाग्ने गरेको बास्तोलाले बताए।
‘वर्षायाममा उपभोक्ता बढी नै सचेत हुनु जरुरी छ’, उनले भने। अन्य अस्पतालमा पनि पानीकै कारण बिरामी भएका व्यक्ति जाने हुँदा यस्ता बिरामीका संख्या अझै बढ्ने चिकित्सकको दाबी छ। काठमाडौं उपत्यकाका अधिकांश ठाउँका उपभोक्ता खुला पानीको स्रोतमा भर पर्नुपर्ने अवस्था छ। यसो हुँदा उमालेर पानी पिउनु उपयुक्त विकल्प भएको चिकित्सकहरूको सल्लाह छ।