इँटा नपाइँदा पुनर्निर्माण प्रभावित

इँटा नपाइँदा पुनर्निर्माण प्रभावित

भक्तपुर : इँटा अभाव हुँदा भक्तपुरका भूकम्प पीडितलाई निजी आवास बनाउन समस्या भएको छ। उद्योगले इँटा नभएको र भएजति बुकिंग भइसकेको भन्दै फर्काउन थालेपछि घर निर्माण बीचमै रोक्नुपरेको उनीहरुको गुनासो छ।

'ठेकेदारले इँटा चाहियो भनेर पहिले इँटा लिएकै भट्टामा फेरि इँटा पठाइदिने आग्रह गर्दा इँटै नभएको जवाफ दिइयो', भक्तपुरको चाँगुनारायण नपा- ४ का विमल श्रेष्ठले भने, 'इँटाभट्टासम्मै पुग्दा इँटा थियो तर साहुसँग बुझ्दा सबै बुकिंग भइसकेको बताउनुभयो।'

उनले अर्को इँटाभट्टामा जाँदा पनि पहिलेकै जस्तो जवाफ आएको जानकारी दिए।'यसैवर्ष भूकम्पले भत्काएको घर बनाउन सुरु गरेको थिएँ', उनले थपे, 'ढलान सबैजसो सकियो। गाह्रो लगाउन इँटा नहुने भयो।'

इँटा अभाव भएपछि आउँदो दसैंमा नयाँ घरमा बस्ने योजना विफल हुने देखिएको उनको भनाइ छ। त्यस्तै अरु भूकम्प पीडितहले पनि निर्माण सामग्रीको महंगीसँगै इँटा अभावले पुनर्निर्माण प्रभावित भएको गुनासो गरेका छन्। भूकम्प गएको दुई वर्षसम्म सरकारी निर्णयको पर्खाइमा रहेका अधिकांश भूकम्प पीडितहरुले यसै वर्ष घर पुनर्निर्माणलाई गति दिएका छन्।

सरकारले आउँदो असारभित्र पहिलो किस्ताको काम गर्न सूचित गरेपछि अहिले निजी आवास बनाउनेहरुको संख्या बढेको हो।त्यसैले अहिले भूकम्प प्रभावित अधिकांश क्षेत्रमा निजी आवासहरु धमाधम बनिरहेका छन्।

यता भक्तपुरका इँटा उद्योगी व्यवसायीहरुले पनि इँटाको अभाव नभएको स्पष्टीकरण दिएका छन्। भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले यहाँका इँटाभट्टामा अहिले पनि पर्याप्त इँटा रहेको जानकारी दिए।

'इँटा अभाव भएको हल्लामात्रै हो। हाम्रा व्यवसायीसँग पर्याप्त इँटा बाँकी छन्', उनले भने, 'तर इँटा लिन ढिलो गर्नुभयो भने जेठको दोस्रो सातादेखि भने इँटै नपाइन सक्छ।'

यसपालि एक महिनाभन्दा बढी समय पानी परेकाले इँटा उत्पादन भने कम भएको उनले सुनाए। उनका अनुसार पानीले प्रतिइँटाभट्टा करिब १५ लाख काँचो इँटा नष्ट गरेको छ। जसले गर्दा इँटको मूल्य भने १० प्रतिशतको हाराहारीमा बढेको अध्यक्ष ह्योम्बाले जानकारी दिए।

त्यस्तै चाँगुनारायण नपा ३ झौखेलस्थित चाँगुनारायण इँटा उद्योगका सञ्चालक गणेशमान दुवालले पनि आफ्नो भट्टामा अझै पर्याप्त इँटा भएको जानकारी दिए।'इँटा अभाव छैन', उनले भने, 'हामीकहाँ पर्याप्त इँटा बाँकी छ।'

वर्षाले काँचो इँटाको उत्पादन नै कम भएकाले गत वर्षसम्म लामो समयसम्म इँटा नपाइने उनले पनि सुनाए।‘पहिले नयाँ इँटा नआएसम्म पुरानो पाइन्थ्यो', उनले भने, 'तर यस वर्ष काँचो इँटा नै कम उत्पादन भएकाले जेठभित्रै इँटा सकिनसक्छ।'

व्यवसायीहरुका अनुसार गत वर्षको तुलनामा यस वर्ष इँटाको माग पनि अत्यधिक बढेको छ। तर यसै वर्ष वर्षाले गर्दा धेरै इँटा उत्पादन गर्न नसकिएपछि व्यवसायीले चुकचुकाउनु परेको छ।
धेरै वर्षा भएकाले यस वर्ष काँचो इँटासमेत गोदाममा जम्मा गर्न नपाएको व्यवसायीको भनाइ छ। मंसिरदेखि वैशाखसम्म इँटा पोल्ने व्यवसायीले यस वर्ष वर्षाकै कारण वैशाख सुरु नहुँदै भट्टीको आगोसमेत निभाउन बाध्य भएका छन्।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अनुसार अहिले एक नम्बरको पाको इँटाको प्रतिहजार न्यूनतम १५ हजार र दुई नम्बरको इँटाको न्यूनतम १२ हजार रहेको छ।भट्टैपिच्छे इँटाको गुणस्तर फरक फरक भएकाले त्यसको मूल्य पनि तलमाथि हुने गरेको संघका अध्यक्ष ह्योम्बा बताउँछन्। भक्तपुरमा ६२ वटा इँट्टाभट्टा सञ्चालनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.