गोल्डकप मैदानमा अनमोल केसीको सुटिङ

गोल्डकप मैदानमा अनमोल केसीको सुटिङ

दमक : अहिलेका चर्चित युवा स्टार अनमोल केसी झापाको दमकमा जारी प्रथम दमक गोल्डकपको मंगलबार भएको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ खेलमा मैदानमा देखिए । मैदानमा नायकलाई देखेपछि दर्शक निकै उत्साहित बने । उनी एपीएफको तर्फबाट जर्सी नम्बर १९ मा मैदानमा प्रस्तुत भएका थिए । एकाएक मैदानमा अनमोल अनि मैदानमाथि ड्रोन उडेपछि दर्शक एकछिन त रनभुल्लमा परे ।

खेल सुरु हुन बजेको फिफा धुन, त्यसपछि बजेको राष्ट्रिय गीतमा समेत उनले अन्य खेलाडीसँग सहभागिता जनाए । विपक्षी टिमका खेलाडी तथा खेलकुद पदाधिकारीको परिचयसँगै हातसमेत मिलाए । अनि अन्य खेलाडीजस्तै वार्मअप गरे । जब उनी वार्मअपपछि खेलमैदान बाहिर निस्किए त्यसपछि मात्र थाहा भयो अनमोल फिल्मको सुटिङ गरिरहेका रहेछन् । आकाशमाथि उडाइएको ड्रोनले चलचित्र क्याप्टेनको यो दृश्यलाई कैद गरिरहेको थियो ।

आफ्नै बुवा भुवन केसीले निर्माण गरिरहेको चलचित्र क्याप्टेनको सुटिङ यतिबेला झापा र इलाममा धमाधम भइरहेको छ । चलचित्र खेलसँग सम्बन्धित भएकाले चलचित्र युनिटले मौका छोपेर दमक गोल्डकपलाई प्रयोग गरेको हो । केही दिनअघि इलाममा सम्पन्न माई भ्याली गोल्डकपमा समेत चलचित्र क्याप्टेनको सुटिङ भएको थियो । चलचित्रको पात्रले पूर्वका ग्रामीण भेगमा हुने फुटबल प्रतियोगिताको कथा छुने भएकाले अहिले झापा र इलाममा यो चलचित्र सुटिङ भइरहेको निर्माता भुवन केसीले बताए ।

चलचित्रले ग्रामीण भेगको फुटबल खेलाडीले खेल जीवनमा गर्नु परेको संघर्षको कथा बोकेको निर्देशक दिवाकर भट्टराईले बताए । झापाको ग्रामीण भेगको एउटा केटो ईशान (अनमोल केसी ) को खेल जीवनमा आएका आरोह अवरोह, पारिवारिक कथा तथा लभ स्टोरीको प्याट्रनसमेतलाई चलचित्रले समेटेको उनको भनाइ छ । खेलकुदलाई आधार बनाएर चलचित्र निर्माण गर्नु निक्कै चुनौतीपूर्ण काम रहे पनि सफलता हात पार्नेमा दिवाकर विश्वस्त छन् ।

अनमोल यो फिल्ममा खेलाडीको भूमिकामा देखिन पाउँदा खुसी छन् । आफूले क्याप्टेनका लागि निकै मेहनत गरेको उनले बताए । खेलकुदसँग सम्बन्धित फिल्म रहेकाले यसबारे थप जान्न र अभ्यस्त हुन तीन महिना एन्फा एकाडेमीमा ट्रेनिङसमेत गरेको उनले बताए । खेलकुदप्रति योङस्टारको क्रेजलाई यस चलचित्रले झनै बढावा दिने उनको भनाइ छ ।

चलचित्रको छायांकन झापा, इलामसँगै काठमाडैां र पोखरामा समेत गरिने निर्माता केसीले जानकारी दिए । चलचित्र तयार गरिसक्दा करिब दुई करोड ५० लाख खर्च हुने केसीको भनाइ छ । चलचित्र क्याप्टेनमा अनमोल केसीसँगै, सुनील थापा, सरोज खनाल, विल्सनविक्रम राई, प्रशान्त ताम्राकार, विक्रम राई, अमित        श्रेष्ठ, राजाराम दाहाललगायत छन् । चर्चित भूतपूर्व फुटबल खेलाडी हरि खड्कासमेत चलचित्रमा देखिनेछन् । सुनील थापालाई चलचित्रमा राष्ट्रिय कोचका रूपमा देख्न सकिनेछ । त्यस्तै सरोज खानालले ईशानको बुवाको भूमिका निर्वाह गर्नेछन् । चलचित्र क्याप्टेनमा दुई नवनायिका प्रियंका एमभी र उपसाना सिंह छन् । चलचित्र युनिट अब तीन दिन दमक बसेर काठमाडैां लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.