इलाम पनि तरकारीमा आश्रित !
इलाम : तरकारी उत्पादन गरेर तराईका मुख्य बजारदेखि भारतसम्म निर्यात गर्ने इलामका मुख्य बजारमा भने भारतकै तरकारी आयात र बिक्रीवितरण बढ्दो छ। टमाटर, काउली, मूला, रायो साग, स्कुस, खुर्सानीलगायत कृषि उपज भारतसम्म बिक्री गर्ने इलामले टमाटर, काउली, बन्दा, खुर्सानी, प्याजलगायत उत्पादन सिलिगुडीलगायत बजारबाट आपूर्ति गनुपर्ने अवस्था आएको १८ वर्षदेखि इलाम बजारमा तरकारी पसल सञ्चालन गर्दै आका विजय वरईले बताए। ‘अहिले दैनिक सदरमुकाममा एक पिकअप भारतीय तरकारी आउँछ’, उनले भने, ‘अन्यत्र पनि जाने गरेको छ।’
इलामका अन्य बजारमा पनि तरकारीको उस्तै माग छ। यस्तो तरकारी इलामका मुख्य बजारबाहेक पाँचथर र ताप्लेजुङका बजारमा पनि पुग्ने गरेको छ। सिलिगुडीबाट झापाको बिर्तामोड आएको तरकारी इलामका तरकारी व्यापारीले इलाम ल्याउने गरेका छन्।
इलाम सदरमुकाममा इलामका किसानको बारीमा पाउने मूल्यभन्दा दोब्बरभन्दा बढी पर्छ। तर झापा हुँदै आएको भारतीय तरकारीको माग इलाममा पनि बढ्न थालेको छ। इलाम ल्याउँदा २० प्रतिशत बिग्रने भएकाले पनि मूल्यवृद्धि भएको व्यपारीको दाबी छ।
व्यापारीहरू बजारको मागअनुसारको तरकारी इलामले आपूर्ति गर्न नसकेकाले पनि बाहिरको तरकारी आयात गर्नुपरेको अर्का व्यापारी सचिन चौधरी बताउँछन्। ‘इलामबाट बाहिर तरकारी पठाइन्छ। तर यहाँ भने भारतमा उत्पादित तरकारीले बजार लिएको छ’, सदरमुकामकै तरकारी बजारमा पाल टाँगेर आठ वर्षदेखि तरकारीको व्यापार गरिरहेका चौधरीले भने। बजारको मागअनुसारका स्थानीय उत्पादन नआएकाले आफूहरूले भारतीय तरकारी मगाउने गरेको उनले जानकारी दिए।
किसानले ३ सय ९६ हेक्टरमा लगाएको फूलगोभी मात्र वार्षिक ६ हजार ५ सय ९६ टन बिक्री गर्छन्।
उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेल पनि इलामले तरकारीमा व्यावसायिकता स्थापित गर्न नसकेको बताउँछन्। इलामका कृषक परम्परागत कृषिमै रमाएकाले पनि उपलब्धि हात नपरेको उनको भनाइ छ।
इलाम सदरमुकामसहित फिक्कल, पशुपतिनगर, बरबोटेलगायत बजारमा भारतको तरकारी बिक्री हुने गरेको छ। अत्यधिक विषादी अवशेष फेला परेको भनिएको भारतीय तरकारीको प्रयोगले उपभोक्तालाई पनि त्रसित बनाउने गरेको सूर्योदय नगरपालिका फिक्कलकी रामु प्रधानले बताइन्। तरकारी उत्पादन नहुने क्षेत्रका किसानले त्यही विषयुक्त तरकारी खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘खै अग्र्यानिक उत्पादन हुने जिल्ला भनेर बाहिरचाहिँ प्रचार छ। हामीले भने भारतीय तरकारी किनेर खानुपरेको छ’, उनले भनिन्।
व्यापारीहरूका अनुसार बजारको मागअनुसार इलामले अहिले पनि तरकारी उत्पादन गर्न सकेको छैन। जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार इलाममा ७६ करोड ३९ लाख १४ हजार रुपैयाँबराबरको काउली, बन्दा र रायो उत्पादन हुने गरेको छ।
जिल्लाका किसानले ३ सय ९६ हेक्टरमा फुलगोभी लगाएर वार्षिक ६ हजार ५ सय ९६ टन बिक्री गर्ने गरेका छन्। कार्यालयका अनुसार फूलगोभीको औसत मूल्य प्रतिकिलो २२ रुपैयाँ रहँदा १४ करोड ५१ लाख १२ हजार किसानको हातमा पर्ने गर्छ।
हिउँदे र बेमौसमी गरेर ७ सय ३२ हेक्टरमा खेती गरिने बन्दा वार्षिक रूपमा ११ हजार ९ सय ७८ टन उत्पादन हुने गरेको छ। तथ्यांकअनुसार औसत ४९ रुपैयाँमा बिक्री हुने बन्दाबाट किसानले ५८ करोड ६९ लाख २२ हजार हात पार्ने गरेका छन्।
हिउँदमा मात्र उत्पादन हुने रायो इलाममा ५ सय ३३ हेक्टरमा उत्पादन हुने गरेको छ। वार्षिक एक हजार ५ सय ९४ टन उत्पादन हुने रायो सागबाट किसानले वार्षिक ३ करोड १८ लाख ८० हजार आर्जन गर्दै आएका छन्। स्कुस, टमाटर, मटर, आलुलगायत तरकारी उत्पादन पनि इलाममा उच्च रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ। यति भएर पनि इलामकै उत्पादन स्थानीय बजारमा बिक्री गराउनेतर्फ पहल नभएको कृषि सहकारी जिल्ला संघका अध्यक्ष ज्योति भट्टराईको भनाइ छ।