मन्त्री र हाकिमको मनोमानी रोक्न करार नियुक्ति बन्द

मन्त्री र हाकिमको मनोमानी रोक्न करार नियुक्ति बन्द

काठमाडौं : सरकारले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र सार्वजनिक निकायअन्तर्गतका सबै पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीलाई आर्थिक अनुशासन र मितव्ययितामा बाँध्न नयाँ नीति तथा मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५ कार्यान्वयनमा ल्याएको हो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न सार्वजनिक कोषको दुरुपयोग रोक्न ३७ बुँदे मार्गदर्शन कार्यान्वयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुवँरले जानकारी दिए । यो नीतिगत मार्गदर्शन पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । मार्गदर्शनअनुसार अब मन्त्रालय, विभाग र मन्त्री, पदाधिकारी तथा कार्यालय प्रमुखले आफूनिकटलाई आफूखुसी करारमा कर्मचारी नियुक्त गर्न रोक लगाएको छ ।

यसअघि मन्त्री, सचिव, सहसचिव र विभागका महानिर्देशकलगायत कार्यालय प्रमुखहरूले मनोमानी रूपमा आफ्ना भाइबहिनी, सालासाली, आसेपासे र निकटलाई आफ्नो तजबिजीमा सरकारी कोषबाट तलब पाउने गरी करारमा कर्मचारी नियुक्त गर्ने गरेका थिए । वर्षौंदेखि भीआईपीहरूले स्थायी दरबन्दीमा पनि करारमा नियुक्ति गर्दै आफू निकटलाई जागिर खुवाउँदै आएका छन् । अहिले पनि यो क्रम जारी छ ।

अर्थ मन्त्रालयका अनुसार करारमा नियुक्त कर्मचारीको संख्या ३२ हजारभन्दा बढी छ । उनीहरूकै कारण राज्यकोषमा वार्षिक ५ अर्ब २६ करोड रुपैयाँ आर्थिकभार परिरहेको छ । यससँगै अब प्रधानमन्त्री कार्यालयले सबै सरकारी निकाय र सरकारी कोषबाट गरिने खर्च वस्तुगत र औचित्यका आधारमा मात्र हुने गरी सार्वजनिक खर्च र कोषमा कडाइ गर्ने भएको छ ।

मार्गदर्शनले अब मन्त्रालय, विभाग र मन्त्री, पदाधिकारी तथा कार्यालय प्रमुखले आफू निकटका व्यक्तिलाई आफूखुसी करारमा कर्मचारी नियुक्त गर्न रोक लगाएको छ ।

सरकारले लागू गरेको नीतिगत मार्गदर्शनअनुसार अब सबै संवैधानिक एवं सरकारी निकाय, सरकारी लगानीमा स्थापित संघसंस्था र सार्वजनिक पद धारण गरेका व्यक्तिले समेत अधिकतम मितव्ययी ढंगले कार्यसम्पादन गर्नुपर्नेछ । उच्चपदस्थ व्यक्तिहरू आफैं मर्यादित, मितव्ययी, उदाहरणीय एवं अनुकरणीय शैलीमा प्रस्तुत हुनुपर्ने छ ।

मार्गदर्शनअनुसार एउटै कार्यक्रममा धेरै निकायबाट बजेट माग्न र वैकल्पिक स्रोत ज्टाउन पाइने छैन । सार्वजनिक निकायका लागि आवश्यक वस्तु तथा सेवाको आपूर्ति, भण्डारण र वितरण पारदर्शी, मितव्ययी र अनुगमनयोग्य बनाउनु पर्ने व्यवस्था मार्गदर्शनमा छ । यसअनुसार अब खर्चको उपादेयता स्थापित नगरी खर्च गर्न नपाइने, सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्दा सरकारी कार्यालयकै सभाहल प्रयोग गर्नुपर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

स्वीकृत मापदण्डविपरीत सरकारी सवारीमा रातो (निजी) नम्बर प्लेट राख्न नपाउने, सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुनसम्मतबाहेक अगुवा-पछुवासहितका सवारीसाधन प्रयोग नगर्ने, सरकारी काममा प्रयोग हुने सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधनमा सरकारी इन्धन प्रयोग नगर्ने, सरकारी सवारी सरकारी काममा मात्रै प्रयोग गर्नुपर्ने र अनधिकृत व्यक्तिलाई प्रयोग गर्न दिन नहुने प्रावधान छ ।

प्रयोगमा नआउने सरकारी सवारीसाधन ६ महिनाभित्र लिलाम गर्नुपर्ने, प्रकोप, उद्धार, शान्तिसुरक्षा, अप्रत्याशित विपत्ति र विशेष सरकारी समारोहमा अति विशिष्ट पदाधिकारी सहभागी हुनुपर्ने अवस्थामा मात्र हेलिकप्टर भाडामा लिनुपर्ने, सरकारी स्वामित्वका जग्गाघरलगायत सम्पतिको अद्यावधिक अभिलेख राखी उपयोगको व्यवस्था मिलाउने, सरकारी कार्यालयले सकेसम्म व्यापारिक क्षेत्र र प्रमुख मार्गमा भाडामा घर नलिने र न्यूनतम आवश्यकता र सुविधा भएका घरमात्र बहालमा लिनुपर्ने प्रावधान मार्गदर्शनमा छ ।

नीतिअनुसार अब सरकारी प्रयोजनका लागि उपलब्ध भएसम्म स्वदेशी वस्तु तथा सेवामात्र खरिद गर्नुपर्ने छ भने तोकिएको मापदण्डभित्र रहेर क्षतिपूर्ति, आर्थिक सहायता तथा औषधोपचारवापत आर्थिक सहायता दिनुपर्ने छ । मार्गदर्शनको पालना सबै स्वायत्त संस्था, सरकारको पूरा वा आंशिक स्वामित्व भएका संस्था, समिति, बोर्ड र परिषद्ले समेत गर्नुपर्ने छ ।

अनुगमन गर्न उच्चस्तरीय समिति

सरकारले नीतिगत मार्गदर्शन पालना भए नभएको अनुगमन गर्न मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति गठन गरेको छ । समितिका सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव, अर्थ मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, सार्वजनिक अनुगमन कार्यालयका सचिव र महालेखा नियन्त्रक सदस्य रहने छन् । मार्गदर्शन उल्लंघन गरी हानी नोक्सानी पुर्याचउनेहरूसँग रकम असुल गरी विभागीय कारवाहीका लागि सरकारसमक्ष सिफारिस गर्न सक्ने अधिकार समितिलाई दिइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.