थ्री सिस्टर्स : वितृष्णाले बिग्रिएको परिवार

थ्री सिस्टर्स : वितृष्णाले बिग्रिएको परिवार

काठमाडौं : बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा रूसी साहित्यकार एन्टोन चेखबको चर्चित नाटक ‘थ्री सिस्टर्स’ मञ्चन भइरहेको छ । यो नाटक चेखबले सन् १९०० मा लेखेका थिए । सन् १९०१ मा मस्को आर्ट थिएटरमा पहिलो पटक यसको मञ्चन गरिएको थियो ।

पेसाले मेडिकल डाक्टर चेखब कथाकार र नाटककारका रूपमा संसारभर चर्चित छन् । उनका नाटकमा सुक्ष्म विषयवस्तुमा यथार्थवादी दृष्टिकोण पाइन्छ । खान्दानी परिवारमा जन्मेका तीन दिदीबहिनी आभा, रिना र माया तथा उनीहरूका एक दाजु दीपजंगबीचको परिघटनामा नाटक घुमेको छ ।

सानदार कोठामा तीन दिदीबहिनी आ–आफ्नो काममा व्यस्त छन् । दीपजंग पियानोको धुनमा मस्त छ । त्यहाँ कोही पनि खुसी र सुखी देखिँदैनन् । सैनिक अधिकृत बाबुको मृत्युपछि आभा, रिना र माया राजधानीबाहिरको एउटा सहरमा निरस र उद्देश्यहीन जीवन बाँचिरहेका छन् । उनीहरू राजधानीमा जन्मेका हुन् । सबै फेरि राजधानी नै फर्कन चाहन्छन् तर विविध कारणले राजधानी फर्कन सकिरहेका छैनन् ।

बाहिरबाट हेर्दा सामान्य रूपमा चलेको जस्तो लाग्छ यो परिवारको दैनिकी । तर पात्रहरूमा विस्तारै जीवनप्रति असन्तुष्टिको जालो फैलँदै गएको छ । सामान्य लाग्ने सम्बन्ध जटिल बन्दै जान्छन् र परिवारको संरचना नै भताभुंग हुन्छ ।

दर्शकले आफ्नै जीवन भोगाइको छनक पाउँछन् नाटकमा । पौने दुई घन्टा आफ्ना दर्शक बाँधेर राख्न सक्नु नाटकको सबल पक्ष हो । आधुनिक जीवनशैली अपनाएका नाटकका पात्रहरू संघर्षबाट थाकेका छन् । उनीहरू हरेक कुरामा दोधारमा देखिन्छन् ।

जेठी दिदी आभा स्कुलमा पढाउँछिन् । ३५ वर्ष बितिसक्दा पनि मन मिल्ने पुरुष साथी नभेटेकोमा उनी निराश छिन् । माहिली माया कुशप्रसादसँगको विवाहका कारण चिन्तित छिन् । उनका लागि       श्रीमान् गनगने र पट्यारलाग्दो पुरुष हो । उनी एक विवाहित कर्नेलको प्रेममा परेकी छन् । यसको कुनै पनि सकारात्मक रिजल्ट नआउने उनलाई थाहा छ । कान्छी रिना कल सेन्टरमा काम गर्छिन् तर खुसी छैनन् । आफूलाई मन परेको मान्छे र जीवनका खुसी राजधानी पुगेर भेट्टाउने विश्वासमा छिन् उनी । तर राजधानी उनी जान सकिरहेकी छैनन् ।

दीपजंगले गाउँकी केटी निकितासँग बिहे गरेपछि उनीहरूको परिवारमा समस्या सुरु हुन्छ । निकिता र तीन दिदीबहिनीको फरक सोच, फरक जीवनशैलीका कारणले परिवारमा सधैं नयाँनयाँ दबाब र समस्या आइलाग्छन् । हरेक पल द्वन्द्व छ । निकिताले परिवारमा हैकम जमाउँदै जान्छे र दिदीबहिनीको व्यक्तिगत स्वतन्त्रता र परिवारभित्रको सहज वातावरण भताभुंग पारिदिन्छे ।

ऊ आफैं पनि खेलकुद परिषद्को अध्यक्ष नीलकण्ठसँगको पे्रममा छे । उसले दीपजंगलाई पनि बेवास्ता गर्छे, उनीहरूको प्रेम पनि समस्यामा परेको छ । कलेजको प्रोफेसर बन्ने सपना देखेको दीपजंग घरायसी लफडा र जुवाको लतमा फसेको छ । उसले कुनै पनि गतिलो काम गर्न नसकेकोमा पश्चातापको जिन्दगी बाँचिरहेको छ।

तीन बहिनीसँग प्रेम, यौन र पारिवारिक सम्बन्धका कारण धेरै मानिस जोडिन आइपुग्छन् । तीन दिदीबहिनीका कारण अरू विभिन्न पात्र पनि भेला हुन्छन् । पात्रअनुसारका फरकफरक स्वभाव छन् । अति यथार्थभित्रको विसंगत घटना नाटकमा देख्न सकिन्छ । नाटकमा धेरै ठूलो घटना घटेको छैन । सबै पात्र आफ्नो लक्ष्य र सपनाभन्दा फरक जिन्दगी बाँचिरहेका छन् ।

आभा, माया, रिना, निकिता, समिर, कर्नेल आशुतोष, हर्षमान, प्रताप, प्रबल, डा. चूडामणि, कान्छी मैयाँ, विश्वध्वज, कुशप्रसादजस्ता पात्रको अभिनय जीवन्त छ ।

एन्टोन चेखबको यो नाटकको नेपाली अनुवाद मेघराज अधिकारीले गरेका हुन् । अधिकारीले अनुवाद गर्दा लेखकको मर्मलाई जस्ताको तस्तै समेट्ने कोसिस गरेका बताए ।

थ्री सिस्टर्स नाटकको निर्देशन तथा परिकल्पना घनश्याम       श्रेष्ठले गरेका हुन् । विदेशी भाषा र परिवेशमा लेखिएको नाटकलाई नेपाली रूपान्तरणमा निर्देशन गर्नुका साथै दृश्यहरूको चलाखीपूर्ण संयोजन मञ्चमा उतार्नु कठिन कार्य भएको       श्रेष्ठले बताए । मञ्चको साजसज्जा, संगीत र प्रकाशको संयोजन पनि सहज छ । पात्रको अवस्था र परिवेश सुहाउँदो दृश्य र संगीतको मि श्रणले नाटक रोचक बनेको छ ।

केही दोहोरिरहने घटनाले दर्शकलाई पट्यार लाग्छ । केही घटना काल्पनिक लाग्छन् । संवादप्रधान रहेकाले नाटक बोझिलो लागिरहन्छ । दृश्यमा भन्दा संवादमा कलाकारको ध्यान केन्द्रित हुनु स्वाभाविक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.