प्रदेश सांसदको प्रश्न : मोदी जनकपुर आउँदा किन ‘गाईजात्रा’ ?

प्रदेश सांसदको प्रश्न : मोदी जनकपुर आउँदा किन ‘गाईजात्रा’ ?

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा आयोजित नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति प्रति सदनमा चर्को आलोचना गरेका छन्। मंगलबार बसेको प्रदेससभा बैठकमा प्रतिपक्षी दल कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। 

मुख्यमन्त्री राउतले नागरिक अभिनन्दनको क्रममा गुलामीको गन्ध दिएको आरोप समेत सांसदले लगाएका छन्। विशेष समय लिएर बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले अभिनन्दन कार्यक्रमलाई ‘गाईजात्रा’ बनाइएको आरोप लगाए। उनले भने, ‘संविधान संशोधनको मुद्दा बोकेर सत्तामा पुगेको फोरम नेपाल अहिले सत्ताको खेलमा अल्झिएर केन्द्रमा संशोधन विरोधी सरकारलाई समर्थन गर्ने र प्रदेशमा पनि सोही पार्टीको समर्थन लिने कुरा सबैलाई थाहा छ।’ 

संशोधनको मुद्दा प्रदेशसभाको बैठकमा समेत कहिले नउठाएका फोरमका सांसदले छिमेकी देशका प्रधानमन्त्री सामु यस बारे भाषण गरेर जात्रा गरेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्रीले संविधान संशोधन नगर्ने बताउँदै उनले आफ्नो आन्तरिक मामिलालाई यसप्रकार प्रस्तुत गर्नु उचित नहुने प्रष्ट पारे।

नागरिक अभिनन्दन समारोहमा पदीय मर्यादालाई समेत ख्याल नगरी स्थानीय सरकारलाई अभिनन्दन गर्न लगाउने र प्रदेश सरकारका मुख्यमन्त्रीले कार्यक्रमको अध्यक्षता गर्नु पूर्णतया गलत रहेको सांसद चौधरीको भनाइ छ। कार्यक्रमको अन्तमा अध्यक्षले मन्तव्य दिनु पर्नेमा बीचमै मुख्यमन्त्रीले आफ्नो भाषण दिनु पदीय मर्यादा विपरितको कार्य रहेको उनको भनाइ थियो।

माओवादी केन्द्रकी सांसद ज्वाला कुमारी साहले कूटनीतिक मूल्य मान्यता विपरीत मुख्यमन्त्री राउतले संशोधन र विभेदको कुरा छिमेकी देशका प्रधानमन्त्री सामु राख्नु उचित नरहेको बताइन्। उनले भनिन्, ‘संविधान संशोधनको पक्षमा हाम्रो पार्टी पनि छ। तर, त्यो हामीले आफैं गर्नुपर्ने हुन्छ नकी अरुको अगाडि दुखेसो पोखेर आफ्नो आन्तरिक समस्या समाधानको आश राख्नु पर्दछ ?’ सांसद दिलीपकुमार चौधरीले नागरिक अभिनन्दन कार्यक्रमको व्यवस्थापन फितलो भएको आरोप लगाए। उनले भने, ‘हामी अतिथी देवो भवः लाई पूर्णता मान्छौं। तर, सत्कारको नाममा गुलामी गर्नु कदापी उचित होइन।’ 

एमालेका तर्फबाट प्रदेशसभा सांसद सुन्दरबहादुर विश्वकर्माले संविधानलाई टेकेर मन्त्री तथा मुख्यमन्त्री बनेका व्यक्तिले आफ्नो पदीय गरिमा विपरित अभिव्यक्ति राख्नु निन्दनीय रहेको बताए। अभिनन्दन मञ्चमा एकजना महिलालाई पनि स्थान नदिइएको भन्दै सत्ता पक्ष र विपक्षका महिला सांसदले प्रदेश सरकारको आलोचना गरे। एमाले सांसद मन्जु यादवले भनिन्, ‘नारी शक्तिकै सम्मान स्वरुप भारतीय प्रधानमन्त्री मोदी जनकपुर आएर जानकी मन्दिरको पुजा गरेका हुन्। तर, बेटी पढाउऊ बेटी बचाऊ नारा दिने प्रदेश सरकारले एकजना महिलालाई पनि मञ्चमा अटाउन नसक्नु निन्दनीय हो।’
 
मुख्यमन्त्री राउतको अभिव्यक्तिको पक्षमा बोल्दै फोरमका सांसद रामअशिष यादवले मधेसको पीडा छिमेकी समक्ष अभिव्यक्त गर्नु गलत नरहेको बताए। यादवले भने, ‘संविधानमा सबैको मौलिक हक छ, अभिव्यक्ति स्वतन्त्रता छ। तसर्थ मुख्यमन्त्रीले आफ्नो कुरा राख्दा धेरै विवाद सिर्जना गर्नुपर्ने आवश्यकता छैन्। त्यसैगरी राजपा सांसद डिम्पल झाले मधेसी जनतासँग हुँदै आएको विरोध र विभेदको बारेमा मुख्यमन्त्रीले बोल्नु जायज रहेको र यो उनको साहसिक कदम  भएको भन्दै मुख्यमन्त्री राउतलाई धन्यवाद दिइन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.