हाजिर गरेर हिँड्छन् मन्त्री

हाजिर गरेर हिँड्छन् मन्त्री

सभामुखको रुलिङ, ‘माननीयज्यूहरू मोबाइल नउठाउनुस्’


 बुटवल ः प्रदेश ५ को संसद्मा मंगलबार बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलको कार्यसूची थियो । तर, प्रदेशका दुई मन्त्रीले त्यसको बेवास्ता गर्दै हाजिर गरेर संसद् हलभित्रै प्रवेश नगरी बाहिरिए । दिउँसो १ बजे बोलाइएको बैठक प्राविधिक कारण भन्दै २ बजे सुरु भयो । बैठकका लागि हतारिँदै आएका सामाजिक विकास मन्त्री सुदर्शन बराल र उद्योग, पर्यटन तथा वनमन्त्री लीला गिरी हाजिर गरेर अन्य कार्यक्रम उद्घाटन गर्न पुगे ।

प्रदेशमा संसदीय अभ्यास सुरु भएको चार महिना पुगेको छ । तर, जनताको काम गर्ने भन्दै निर्वाचित सांसद प्रदेशसभाप्रति उत्तरदायी हुन सकेका छैनन् । मन्त्रीहरू भत्ता पाउन हस्ताक्षर गरी बाहिरिने क्रम नौलो होइन । बुटवलमै रहेर पनि संसद्मा दुई÷तीन जनाभन्दा बढी मन्त्री संसद्मा उपस्थित हँुदैनन् । हाजिर गरेर बैठक सुरु नहुँदै बाहिरिएका मन्त्री गिरीले एमाले भ्रातृ संगठन युवा संघको कार्यक्रम उद्घाटन गरे । संसद् बैठक चलिरहँदा मन्त्री गिरी एसियन होटलमा आयोजित कार्यक्रममा थिए ।

अर्का मन्त्री बरालको औपचारिक कार्यक्रम नभएको उनका स्वकीय सचिव यदु ज्ञवालीले बताए । तर, बराल संसद्को हाजिर रजिस्टरमा हस्ताक्षर गरेर बाहिरिएका थिए । संसद् बैठक सुरु नहुँदै बाहिरिएका उनी अन्त्य हँुदासम्म पनि फर्किएनन् । ‘मन्त्रीज्युको अन्य कार्यक्रम थिएन । संसद्मै जानुभयो’, स्वकीय सचिव ज्ञवालीले भने । मन्त्री मात्रै होइन, प्रदेशका सांसदसमेत बैठक छाडेर निस्किने क्रम बढेको छ ।

छलफल चलिरहँदा सांसद बाहिरिएपछि मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले रुलिङ नै गरे । संसद् भवनभित्रै फोनमा कुरा गर्ने, मोबाइल चलाउने, भित्र–बाहिर गरिरहने र निदाउने क्रम निरन्तर बढ्दै गएको हो । ‘माननीयज्यूहरू मोबाइल फोन अफ गर्न आग्रह गर्छु’, सभामुख घर्तीले भने, ‘अत्यावश्यक भए साइलेन्टमा राख्नुहोला ।’

सभामुखको रुलिङपछि पनि सांसदले मोबाइलमा कुराकानी गरिरहेका थिए । दैनिक करिब ४०÷५० मिनेट मात्रै चल्ने बैठकमा समेत सांसदको अरुचि देखिन्छ । संसद् सचिवालयका सचिव डा. मानबहादुर विकेले हाजिरी भएपछि सांसदले भत्ता पाउने बताए । ‘बैठकमा बस्नै पर्छ भन्ने बाध्यता छैन । बस्नु नबस्नु उहाँहरूको नैतिकता र प्राथमिकतामा भर पर्छ’, सचिव विकेले भने, ‘हाजिर भएको आधारमा बैठक भत्ता उपलब्ध हुन्छ ।’ सांसदले बैठकभत्ता बढाउनुपर्ने लबिङ पनि गर्दै आएका छन् । संसद्मा दर्ता भएको सेवा–सुविधासम्बन्धी विधेयकमा ७ सय ५० रुपैयाँ बैठक भत्ता राखिएको छ । त्यसलाई हजारभन्दा बढी बनाउनुपर्ने उनीहरूको माग छ ।

निदाएको भिडियो नखिच्नू

संसद्मा निदाउने सांसदको भिडियो नखिच्न दृश्यांकनका कर्मचारीलाई निर्देशन दिइएको छ । संसद् सचिवालयले नै भिडियो नखिच्न निर्देशन दिएको एक कर्मचारीले बताए । सांसदले निदाएको फोटो खिच्ने पत्रकारलाई समेत प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका छन् ।

बजेटमाथि छलफल

बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकतामाथि छलफल भएको छ । छलफलमा सांसदले कार्यान्वयन हुने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । सांसद अर्जुनबहादुर केसीले खेतीयोग्य जमिनको सुदपयोग गर्न चक्लाबन्दी गर्ने कार्यक्रम बनाउन सुझाव दिए । अर्का सांसद दीपेन्द्रकुमार पुनले आयात प्रतिस्थापन गर्न कृषि, पशुपालन र ऊर्जा क्षेत्र विकासमा सरकारले कार्यक्रम बनाउनुपर्ने बताए ।

सांसद फखुरुद्दिन खानले बजेट कार्यकर्ता र नेतामुखी नभई जनतामुखी ल्याउन आग्रह गरेका छन् । पर्यटनलाई पहिलो प्राथमिकतामा राख्दै बौद्ध दर्शन र स्थलको विकास गर्न विद्यालय तहको पाठ्यक्रममा बौद्ध शिक्षा राख्न आग्रह गरे । सांसद कमलराज श्रेष्ठले विकास निर्माणमा हुने ठेकेदारी प्रथा र घुस खुवाउने प्रवृत्ति रोक्न सरकारलाई आग्रह गरे । सांसद बैजनाथ कलवारले कृषि विकासका लागि सहुलियत ऋण आवश्यक रहेको भन्दै त्यसको प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।

सांसद दीपेन्द्रकुमार अधिकारीले प्रदेशभित्रको जमिन वर्गीकरण गर्न विज्ञसमिति बनाउनुपर्ने बताए । बैठकमा सांसद कुलप्रसाद पोखरेल, सन्तोष पाण्डे, विष्णु पन्थी, हरि रिजाल, उत्तरकुमार ओली, भगवतीदेवी चौधरी, खड्गबहादुर खत्री, रमा थापा, कमलादेवी विक र सह श्रराम यादव छलफलमा सहभागी थिए । सांसदले संसद् विकास कोष बनाउनसमेत माग गरेका छन् । संसद्को अर्काे बैठक जेठ २ गते बस्नेछ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.