छनोट नै नगरी एसियाडमा खेलाडी

छनोट नै नगरी एसियाडमा खेलाडी

काठमाडौं : कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताअघि बृहत् छनोट प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गर्नु खेलकुदको सामान्य नियम हो । यद्यपि झन्डै तीन महिनापछि इन्डोनेसियाको जकार्तामा हुने १८औं एसियाली खेलकुद (एसियाड) मा लन टेनिस संघले छनोट प्रतियोगिताबिना नै खेलाडी पठाउन लागेको छ । अखिल नेपाल लन टेनिस संघले अगस्ट १८ तारिखबाट सुरु हुने एसियाडका लागि महिला र पुरुष दुवैतर्फ छनोटबिना नै खेलाडीको नाम तय गरेको छ ।

संघले प्रतियोगिताका लागि महिलातर्फ दिदीबहिनी मायांका र माहिका राणालाई एसियाडमा खेल्न पठाउने भएको छ । यसैगरी पुरुषतर्फ संरक्षणभूषण वज्राचार्य र अभिशेक बास्तोलालाई पठाउने भएको छ । यी चारै खेलाडी मंगलबारबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भत्तासहित एसियाडको तयारीका लागि बन्द प्रशिक्षणमा बसिसकेका छन् । यद्यपि प्रतियोगिताका लागि अन्तिम चरणको छनोट नभएको प्रति सम्बन्धित निकायको ध्यान गएको देखिँदैन ।

लन टेनिस संघकी अध्यक्ष ज्योति राणाले गत पुसमा भएको राखेप च्याम्पियनसिप प्रतियोगिताका आधारमा एसियाडका लागि खेलाडी छनोट गरिएको बताइन् । ‘खेलकुद परिषद्ले राखेप च्याम्पियनसिपको प्रदर्शनका आधारमा १८औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्नु भन्ने निर्देशन दिएको थियो’, अध्यक्ष राणाले भनिन्, ‘हामीले साोही निर्देशनअनुसार खेलाडी छनोट गरेका हौं ।’ यद्यपि राखेपको त्यही पत्रअनुसार खेलाडी छनोट गरेका अन्य खेल संघहरूले भने एसियाडका लागि पुनः अन्तिम चरणको छनोट प्रतियोगिता सञ्चालन गरिरहेका छन् ।

राखेप च्याम्पियनसिपमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई समेटेर राष्ट्रिय टोलीको तयारी प्रशिक्षणमा समेत राखेका थिए । तीनै खेलाडीबीच प्रतिस्पर्धा गराएर अन्य संघले अन्तिम चरणको छनोट प्रतियोगिता गराएक हुन् । लन टेनिसले भने राखेप च्याम्पियनसिपपछि न राष्ट्रिय टोलीको तयारी प्रशिक्षण नै सञ्चालन गर्‍यो न त प्रतियोगिताका लागि अन्तिम चरणको छनोट प्रतियोगिता।

संघले एसियाडका लागि छनोट प्रतियोगिता नगरेपछि खेलाडी र उनीहरूका अभिभावक असन्तुष्ट बनेका छन् । पछिल्लो समय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै आएकी प्रेरणा कोइरालाका पिता पुरुषोत्तम एसियाडका लागि छनोट प्रतियोगिता गरिनुपर्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट खेलाडीले प्रतिनिधित्व गर्न पाउनुपर्छ । त्यो उत्कृष्ट खेलाडी छनोट प्रतियोगिताबाट मात्रै थाहा हुने हो’, लन टेनिस संघका केन्द्रीय सदस्यसमेत रहेका कोइराला भन्छन्, ‘अनि त्यही छनोट प्रतियोगिता नै नगराएपछि कसरी खेल चल्छ । संघको यो तरिकाले अहिले टेनिसमा लागेका नयाँ पुस्तालाई पनि निरुत्साहित तुल्याउने काम गर्छ ।’

कोइरालाले संघको बैठकमै छनोट प्रतियोगिताको माग गर्दा अध्यक्ष राणाले सम्भव नरहेको प्रतिक्रिया दिएको बताए । कोइराला हाल एसियाली खेलकुदका लागि छनोट भएका दुवै खेलाडीलाई पछिल्लो प्रतियोगितामा प्रेरणाले पराजित गरेकाले उनलाई एसियाडबाट बाहिर राख्नु अन्यायपूर्ण भएको बताउँछन् । ‘प्रेरणाले मायांकालाई ६ महिनाअघि र माहिकालाई यसै महिनाको सुरुमा भएको प्रतियोगितामा पराजित गरेकी छन्’, कोइराला भन्छन्, ‘मैले मेरी छोरीले एसियाड खेल्न पाउनुपर्छ भनेको हैन तर छनोट प्रतियोगितामार्फत नै खेलाडी छनोट गर्नुपर्छ भनेको हुँ ।

‘निरुत्साहित छु’

- प्रेरणा कोइराला, खेलाडी

पछिल्लो सातआठ महिनायता निकै मेहनत गरिरहेको छु । पछिल्लो समय भएका प्रतियोगितामा हाल एसियाडका लागि छनोटमा परेका दुवै खेलाडीलाई पराजित गरेकी छु । एसियाडजस्तो प्रतियोगिता हाम्रा लागि ओलम्पिकमा सहभागी भएसरह हो । त्यसैले निकै महेनत गरेकी छु ।

यद्यपि अहिले छनोट नै नगरी एसियाडमा खेलाडी पठाएको सुन्दा दुःख लागेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट प्रतियोगिता नै नगराउने हो भने अहिले टेनिसमा लागेका खेलाडी पक्कै पनि निरुत्साहित हुन्छन्, जुन अहिले मैले महसुस गरिरहेकी छु । प्रतियोगिताका लागि जो छनोट भए पनि त्यसको टुंगो छनोट प्रतियोगिताबाटै गरिनुपर्छ ।

 

 

‘अब छनोट खेल हुँदैन’

- ज्योति राणा, अध्यक्ष, अल नेपाल लन टेनिस संघ

राष्ट्रिय खेलकुद परिषद्ले राखेप च्याम्पियनसिपकै आधारमा खेलाडी छनोट गर्न निर्देशन दिएको थियो । हामीले त्यहीअनुसार गर्‍यौं । अब अरू छनोट प्रतियोगिता हुँदैन । राखेप च्याम्पियनसिप प्रतियोगितामा प्रेरणालाई सहभागी गराउन महासचिव मनोहर दास मुलले सम्पर्क गर्दा शंकर (कोइराला) जीले नै नआउने भन्नुभएको थियो रे ।

मलाई उहाँले बंगलादेशमा प्रतियोगिता खेल्न जानु छ, अहिले निवेदन दिएर जान्छु भन्नुभएपछि हुन्छ भनेकी हुँ । एसियाडको छनोटको रूपमा रहेको राखेप च्याम्पियनसिपमा आउनु भन्दा आउँदिन भन्नुभयो भने हामी आउनैपर्छ भन्न सक्दैनौं।

‘अध्यक्षज्यूले ढाँट्नुभयो’
-शंकर कोइराला
अभिभावक तथा केन्द्रीय सदस्य, अल नेपाल लन टेनिस संघ

राखेप च्याम्पियनसिप हुने समयमा हामी बंगलादेशमा एसियाली टेनिस संघको प्रतियोगिता खेल्न जाने तय भएको थियो । त्यसैले हामीले यी सबै कुरा राख्दा अध्यक्ष ज्योति राणाज्यूले नै ‘हुन्छ तर अहिले निवेदन दिएर जानुहोस्, त्यसले पछि हुने छनोट प्रतियोगितामा सहभागी हुन सहज हुनेछ’ भन्नुभएको थियो ।

यद्यपि अहिले त्यही कुरा गर्दा मैले भनेकै छैन भन्नुहुन्छ । अध्यक्षज्यूले धोका दिनुभयो । अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले यसरी कुनै पनि खेलाडीको भविष्यमाथि खेलवाड गर्न मिल्छ ? मैले यही खेलाडी जानुपर्छ भनिरहेको छैन । तर, छनोट प्रतियोगितामार्फत आउने उत्कृष्ट खेलाडीलाई पठाउनुपर्छ भनेको हुँ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.