मकालुको कार्गाे विमान दुर्घटना : प्रत्यक्षदर्शी भन्छन्- फन्काे मार्दै जहाज चाैंथाे पटकमा कुहिराेभित्र हरायाे

मकालुको कार्गाे विमान दुर्घटना : प्रत्यक्षदर्शी भन्छन्- फन्काे मार्दै जहाज चाैंथाे पटकमा कुहिराेभित्र हरायाे

सुर्खेत / काठमाडौं : लामा रावल बुधबार बिहानै भेडाको बथान लिएर बाजुरादेखि हुम्लाको खार्पुनाथतिर जाँदै थिए। डाँडामाथि कुहिरो छपक्कै थियो। त्यतिखेर उनले देखे–एउटा जहाज सिमिकोटतर्फ जाँदै थियो। तर केही पर पुगेपछि जहाज फन्को मारेर त्यही ठाउ आयो। जहाजले तीन चार पटक चक्कर लगाइरह्यो। चौथो पटकमा भने जहाज डाँडाको कुहिरोमा छि¥यो। त्यसपछि उनलाई लाग्यो, जहाज पक्कै दुर्घटनामा प¥यो।

त्यसपछि जहाज खोज्दै डेढ घण्टाको पैदल हिँडेर उनी दुर्घटनास्थल पुगे। ‘शंका लागेर म अघि बढें, विमान दुर्घटना भएको रहेछ, विमान तीन भागमा भाँच्चिएको थियो, समान पनि छरपस्ट थिए’, रावलले भने। बिहान करिब ९ बजेतिर खार्पुनाथ–२ को लामा डाँडामाथिको बाहुनखर्कस्थित एक्लभुजमा क्षतविक्षत अवस्थामा विमान भेटिएको उनले बताए। दुर्घटनास्थलमा टुक्राटुक्रामा छरिएको विमान र नचिनिने अवस्थामा चौरमा दुईवटा शव देखेपछि गाउँलेलाई खबर गरेको उनले जानकारी दिए। रावलले गाउँलेलाई खबर गरेपछि नै प्रहरी प्रशासन, उद्धार टोली बाहुनखर्कतिर हेलिकोप्टरसहित पुगेको थियो। तर अपुष्ट खबरका पछि लाग्दा बुधबार बिहान करिब दुई घण्टा बाजुराको क्षेत्रमा हराएको विमानको खोजी गरिएको थियो।

मकालु एयरको नाइन एनएजेयू कलसाइन जहाज दुर्घटनामा परी पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। गाउँलेको खबरपछि मात्रै दुर्घटनास्थलतर्फ उद्धार टोली गएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशविक्रम पोखरेलले बताए। विमान सुर्खेतबाट उडेको फाइभ नटिकल माइलसम्म सुर्खेतको सम्पर्क र त्यसभन्दा माथि नेपालगन्ज विमानस्थलको सम्पर्कमा रहेको सुर्खेत विमानस्थल प्रमुख विनोदकुमार पन्तले जानकारी दिए।

सिमकोट नपुगेपछि खोजी

६ बजेर ५५ मिनेटमा सिमकोट पुग्नुपर्ने भए पनि बाजुराको क्षेत्रबाट साढे ६ बजेदेखि नै जहाज सम्पर्कविहीन भइसकेको थियो। तर निश्चित समयमा विमान सिमकोट नपुगेपछि खोजी सुरु भएको थियो। अपुष्ट खबरका कारण दुई हेलिकोप्टरले करिब साढे दुई घण्टा बाजुराकै क्षेत्रमा खोजी गरेका थिए। तर भेडा चराउनेले देखेको पक्का भएपछि मात्रै खार्पुनाथमा उद्धार टोली पुगेको थियो। उक्त विमानभन्दा तीन मिनेटको फरकमा बुधबार बिहान सुर्खेतबाटै हुम्लाका लागि मकालुको अर्को विमान नाइन जेटीई पनि सँगै कार्गो लिएर उडेको थियो।

ट्र्याक छाड्दा दुर्घटना

जहाज बिहान करिब ६ बजेर ५० मिनेटमा दुर्घटना भएको अनुमान गरिएको नेपालगन्ज विमानस्थलका प्रबन्धक प्रतावबावु तिवारीले बताए। दुर्घटना भएको स्थानबाट विमानस्थलसम्मको दूरी चार मिनेटको भएका कारण त्यतिबेला नै डाँडामा ठोक्किएको हुन सक्ने उनको भनाइ छ। ‘अहिले नै यही कारण हो भन्ने सकिँदैन, तैपनि जहाज आफ्नो ट्रयाकभन्दा केही दायाँ गएको देखिन्छ’, उनले भने, ‘कुहिरोका कारण बाटो परिवर्तन हुँदा डाँडामा ठोक्किएको हुन सक्छ।’

कार्गो जहाज भएकाले चालक दलका सदस्य पाइलट र कोपाइलट मात्र थिए। बुधबार दिउँसो पाइलट र कोपाइलटको शव सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको नेतृत्वमा विमान दुर्घटना छानबिन समिति गठन गरेको छ।

सिंगल इन्जिनका जहाजलाई सर्वाेच्चकै ‘ग्रिन सिग्नल’

प्राधिकरणले २०७२ फागुनमा १४ मा नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको सिंगल इन्जिन जहाज दुर्घटनालगत्तै सिंगल इन्जिन क्षमताको जहाज उडानमा प्रतिबन्ध लगाएको थियो।

प्राधिकरणले सिंगल इन्जिनको जहाज उडानमा प्रतिबन्ध लगाएको एक सातापछि मन्त्रालयले पनि मन्त्रीस्तरीय निर्णयबाट फागुन २३ देखि सिंगल इन्जिन क्षमताको जहाज उडान र नयाँ आयातमा प्रतिबन्ध लगाएको थियो।

तर, सरकारी निर्णयको विरोधमा मकालु एयरले सर्वोच्च अदालतमा रिट दायर ग¥यो। मकालु एयरको रिटमा २०७३ जेठ २ मा सर्वोच्च अदालतका न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले जहाज उडानमा लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

सोही फैसलाअनुसार मकालु एयरका तीनवटा सिंगल इन्जिन क्षमताका जहाजले दुर्गम क्षेत्रमा काग्रो तथा चार्टर उडान गर्दै आएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।

बुधबार भएको मकालु एयरको सिंगल इन्जिन क्षमताको विमान दुर्घटनापछि अब नेपाली आकाशमा सिंगल इन्जिन क्षमताका जहाज दुई मात्र छन्। दुवै जहाज मकालु एयरकै हुन्।

अन्य मुलुकमा पनि सिंगल इन्जिन जहाज भने उडिरहेका छन्। सिंगल इन्जिन क्षमताका जहाज जोखिमयुक्त भने नरहेको पोखरेल बताउँछन्। सानो विमानस्थल र रनवेमा पनि सिंगल इन्जिन जहाज उडान तथा अवतरण गर्न सकिन्छ।

पाइलट र कोपाइलट नै ललितपुरका

मकालु एयरको काग्रो विमान दुर्घटना ज्यान गुमाउने पाइलट र कोपाइलट नै ललितपुरका हुन्। पाइलट किरण भट्टराई मानभवन र कोपाइलठ आदित्य नेपाल ललिपुर चाकुपाटका हुन्। कोपाइलट नेपाल मकालु एयरका मालिक तथा पाइलट फिजुनाथ नेपालीका छोरा हुन्। तीसबर्से नेपालले गत अगस्टदेखि मकालु एयरमा काम गर्दै आएका थिए। नेपालले अमेरिकाबाट पाइलटको कोर्स गरेको मकालु एयरका जनरल म्यानेजर बालकृष्ण श्रेष्ठले जानकारी दिए। नेपालले सिंगल इन्जिन जहाजको पाइलट लाइन्सेन्स लिइसकेका थिए। तर नेपाल कोपाइलटकै भूमिकामा थिए। नेपालले २ हजार २ सय घण्टा भन्दा बढी जहाज उडान गरिसकेका छन्।

विमान दुर्घटनामा ज्यान गुमाउने ५४ वर्षीय पाइलट भट्टराई भने अनुभवी थिए। उनले ७ हजार घण्टाभन्दा बढी सिंगल तथा डबल इन्जिन क्षमताको जहाज उडान गरिसकेको श्रेष्ठले जानकारी दिए। पाइलट भट्टराई पेसाप्रति इमानदार रहेको उनको भनाइ छ। भट्टराई गत सेप्टेम्बरदेखि मकालु एयरमा आबद्ध थिए।

कर्णालीमा १४ हवाई दुर्घटना, २८ को मृत्यु

सडक यात्रा जोखिमपूर्ण रहेको कर्णालीमा पछिल्लो केही समययता हवाई मार्गसमेत असुरक्षित बन्दै गएको छ। सडकमा जोखिम भएका कारण अहिले पनि कर्णालीका नागरिक सुरक्षित यात्राका लागि हवाई मार्ग नै रोज्दै आएका छन्। तर पछिल्लो केही वर्षयता कर्णालीमा दुर्घटनाको अवस्था हेर्दा हवाई मार्गसमेत असुरक्षित बन्दै गएको देखिएको छ।

सन् १९८७ अगस्ट १९ मा नेपाल एयरलाइन्सको विमान पहिलो पटक डोल्पामा दुर्घटना भएको थियो। उक्त दुर्घटना समान्य भएकाले मानवीय क्षति भने हुन पाएन। तर कर्णालीको हवाई अवस्थालाई हेर्दा पछिल्लो तीन दशकमा कर्णालीका विभिन्न जिल्लामा हेलिकोप्टर र जहाज गरी १३ वटा दुर्घटना परेका छन्। दुर्घटनामा परी २८ जनाले ज्यान गुमाए भने १९ जना घाइते भएको तथ्यांकमा उल्लेख छ, जसमा ६ वटा दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन। आठवटा दुर्घटनामा मात्रै २८ जनाको मृत्यु र १९ जना घाइते भएका हुन्।

सन् १९९९ मा जुम्लामा नेकोन ऐयरको विमान जुम्लाको खलंगामा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएको र सात जना घाइते भएका थिए। सन् २००२ मा सुर्खेतको घट्टेडाँमा स्काई एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित चार जनाको ज्यान गयो। २००१ मा जुम्लाको रारा तालमा फिस्टेल एयेर दुर्घटना हुँदा चारको मृत्यु, २ घाइते, हुम्लामै २००९ मा मनाङ एयर १ मृत्यु पाँच घाइते र २०१३ मै हुम्लाकै मुचु भन्ने फिस्टेल एयेर दुर्घटनामा पनि १ को मृत्यु र ५ घाइते भएका थिए। यती एयरलाइन्सको जहाज खलंगामा दुर्घटना हुँदा सन् २००६ मा चालक दलका सदस्यसहित ९ जनाको ज्यान गएको थियो।

यस्तै सन् २०१५ मा काष्ठमण्डपको विमान कालिकोटको चिलखायामा इन्जिन खराब हुँदा फार्स ल्यान्डिङका कारण दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको ज्यान गएको थियो। अरू पाँच जना भने बाँच्न सफल भएका थिए। तीन वर्षपछि पुनः कर्णालीमै भएको दुर्घटनामा बुधबार दुईजना चालकले ज्यान गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.