‘हत्यारा’ बन्दै उच्च रक्तचाप

‘हत्यारा’ बन्दै उच्च रक्तचाप

सन्दर्भ : विश्व उच्च रक्तचाप दिवस

काठमाडौं ः छाती दुखेपछि अस्पताल जानु साटो घरमै पत्नीलाई तेल मालिस गर्न लगाएका अरुणकुमार चौधरीले बुधबार बिहान ओछ्यानमै ज्यान गुमाए। पत्नीसँगैै सुतेका बाँके, डुडुवागाउँपालिका–२ बेतहनीका चौधरीलाई बिहान ५ बजे उठाउन खोज्दा उनको निधन भइसकेको थियो। अस्वस्थ जीवनशैली र चिल्लो खानपानले रक्तनलीमा उच्च चाप पैदा हुने समस्याले वयस्कहरू पीडित हुँदै गएका छन्। यसबाट कतिपयको हृदयाघात र मस्तिष्कघात भई ज्यानै जाने गरेको छ। उमेरसँगै बढ्दै जाने उच्च रक्तचाप वयस्क पुरुषको सुषुप्त हत्यारा (साइलेन्ट किलर) बन्दै गएको मुटुरोग विशेषज्ञहरू बताउँछन्।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ शल्यचिकित्सक प्राडा भगवान कोइराला वयस्कमध्ये २०–३० प्रतिशत उच्च रक्तचापग्रस्त भएको बताउँछन्। हालै गरिएको एक अध्ययन उद्धृत गर्दै उनी भन्छन्, ‘नसर्ने रोगमध्ये सबैभन्दा चर्को मुटुरोग हो। मुुटुरोग निम्त्याउने प्रमुख कारक उच्च रक्तचाप हो।’ यसले मस्तिष्कघात गराउनुका साथै मिर्गौलासमेत बिगार्ने उनी बताउँछन्। अन्य रोगमा शरीरका विभिन्न अंग दुखेको महसुस हुन्छ तर उच्च रक्तचाप भए पनि त्यस्तो कुनै समस्या अनुभव हुँदैन। नर्भिक इन्टरनेसनल अस्पतालको मुटुरोग विभागका निर्देशक प्राडा यादवकुमार भट्ट भन्छन्, ‘त्यसले बिरामीलाई भित्रभित्रै अपूरणीय क्षति गरिरहेको हुनसक्छ। त्यसैले उच्च रक्तचापलाई सुषुप्त हत्यारा भनिन्छ।’

उच्च रक्तचापले मुटु, मिर्गौैला र आँखामा असर पारी मस्तिष्कघात, हृदयाघात र मिर्गाैलालाई बेकम्मा बनाउन सक्ने डा.भट्ट बताउँछन्। ग्रामीणभन्दा सहरी बासिन्दामा उच्च रक्तचाप बढी देखिएको छ। मुटु र मिर्गौलासँग सम्बन्धित विविध रोग, ट्युमर, गर्भधारणको अवस्था, गर्भनिरोधक तथा दुखाइ कम गर्ने विभिन्न औषधिको प्रयोगले पनि रक्तचाप देखा पर्नसक्छ। उनी भन्छन्, ‘यो कुनै पनि व्यक्तिमा हुन सक्छ। यसको खास कारण हुँदैन, वंशानुगत तथा वातावरणीय कारणले पनि हुन सक्छ।’

२० देखि ३० प्रतिशत वयस्क उच्च रक्तचापग्रस्त छन्

टाउको दुख्ने, एक्कासी नाकबाट रगत बग्ने, रिंगटा लाग्ने, थकाइ महसुस हुने, वाक्वाक् लाग्ने, मुटुको धड्कन बढ्ने र बीचबीचमा मुटुको धड्कन रोकिएजस्तो हुनेलगायत लक्षणहरू देखा परे उच्च रक्तचापको लक्षण हुने चिकित्सकहरू बताउँछन्। उच्च रक्तचापबाट विश्वभर बर्सेनि ९४ लाखभन्दा धेरैले ज्यान गुमाइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। लामो समयको उच्च रक्तचापबाट शरीरका विभिन्न रक्तनली÷धमनीहरू र महŒवपूर्ण अंगमा क्षति पुग्ने, मुटुसम्बन्धी रोग, पक्षघात, मिर्गौलासम्बन्धी रोग र मधुमेह लाग्न सक्ने डा.भट्ट बताउँछन्। जीवनशैलीमा सकारात्मक परिवर्तन गरेर उच्च रक्तचापका जोखिम न्यून पार्न सकिन्छ।

जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न सके उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिने डा.कोइराला बताउँछन्। भोजनमा नुनको मात्रा घटाउने, हरिया सागसब्जी र फलफूल धेरै खाने, रातो र धेरै बोसोयुक्त मासु थोरै खाने, तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम र स्वस्थ्य जीवनशैली अपनाए रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन्। ‘खानपानमा सचेत हुने, मदिराजन्य पदार्थ उपभोग नगर्ने र बेलैमा उपचार गर्दा रक्तचाप नियन्त्रणमा राखी आयु लम्ब्याउन सकिन्छ’, डा.कोइराला भन्छन््। यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा ‘आफ्नो रक्तचाप थाहा पाऔं’ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.