९० प्रतिशत योजना सकिए
स्याङ्जा : आँधीखोला गाउँपालिकामा विनियोजित पूर्वाधारतर्फका योजनामध्ये ९० प्रतिशतभन्दा बढी योजना वैशाख मसान्तमा सम्पन्न भएका छन्। करिब १० प्रतिशत योजना पनि जेठ अन्त्यसम्म सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ। वैशाख २५ गतेभित्र भौतिक निर्माणका सबै काम सक्ने गरी गाउँसभाले निर्णय गरेको थियो। दोस्रो गाउँसभाले कार्यान्वयन गर्न नसकिने केही योजना संशोधन गरेकाले ती योजना पूरा हुन ढिलो भएको हो।
गाउँपालिकाले विनियोजित रकममध्ये धेरैजसो मोटरबाटो स्तरोन्नति, नयाँ बाटोमा खर्च भएको छ। सिँचाइ, कुलो, जग्गा खरिदलगायत क्षेत्रमा खर्च भएको छ। सेपतदेखि देउराली हँुदै पञ्चासे मार्गअन्तर्गत केही स्तरोन्नति एवं केही नयाँ ट्र्याक खुलाइएको, गाउँ–गाउँमा पुग्न नसकेका सडक बर्सेवारी, लाकुरी, गगनपानी, पोखरीचौरलगायत सेवा केन्द्रमा पुग्ने मोटरबाटो स्तरोन्नति एवं नयाँ मोटरबाटो निर्माण, बिचारीचौतारामा खानेपानी योजना, पोखरी निर्माण, संरक्षण, पुनर्भरणलगायत काम विशेष योजनाअन्तर्गत रहेका गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिए।
गाउँसभाले योजना पारित गरेपछि सबै टोलमा टोल विकास समिति गठन गर्ने, समितिका पदाधिकारीलाई योजना छनोटमा सहभागी गराउने, प्रशिक्षण दिने, उनका मागअनुरुप योजना तर्जुमा र छनोट गर्ने, उपभोक्ता समिति गठन गरेर प्रशिक्षण दिने र सम्झौता गराएर काम गर्न लगाउने गरी गाउँ–गाउँमा आवश्यकताअनुरूप विकासे पूर्वाधार निर्माण गरिएको अध्यक्ष पौडेलले बताए।
आर्थिक वर्षको अन्त्य वर्षातका बेला विकास निर्माणमा तीव्रता दिने प्रचलन तोड्दै गाउँपालिकाले आफ्नै नीतिनियम तयार पारेर वैशाख मसान्तमा विकासे योजना सम्पन्न गर्ने काम सुरु गरेको हो। बर्खामा निर्माण गरिएका विकासे निर्माण त्यति प्रभावकारी नहुने र खर्च बढी हुने भएपछि आँधीखोला गाउँपालिकाले बर्खा लाग्नुअगावै विकासका काम सम्पन्न गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बताइन्।
आर्थिक वर्षको अन्त्यमा हतारहतारमा योजना सम्झौता गर्ने, काम गर्ने र वर्षा र झरीले निर्माण भएका पूर्वाधार एवं भौतिक संचरनामा समेत असर पु¥याउने गरेको हुँदा गाउँपालिकाले सान्दर्भिक नीति नियम बनाउँदै कार्यान्वयन गरेर उदाहरणीय काम सुरु गरेको लेखापाल सागर सुवेदीले बताए। तेस्रो चौमासिकमा हतारमा गरिने कामलाई ब्रेकथु्र गरेको गाउँपालिकाले अब आफ्नै जग्गामा सुविधासम्पन्न भवन निर्माण तयारी गरिरहेको छ। चालु आर्थिक वर्षमा आँधीखोला गाउँपालिकाले पँुजीगततर्फ ७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो।