खारावासीलाई सेनाको अस्पताल उपहार
मुसीकोट : तत्कालीन विद्रोही माओवादी र राज्यको दोहोरो भिडन्तको चपेटामा परेको एउटा स्थान हो, रुकुमको खारा । युद्धका कारण खारा र खाराबासीले धेरै गुमाए । पहिलोपटक २०५९ जेठ १३ गते र दोस्रोपल्ट २०६१ चैत २४ गते गरी दुई पटक माओवादीले खारास्थित सतिपोलेमा रहेको नेपाली सेनाको ब्यारेकमा आक्रमण ग¥यो तर, सफल हुन सकेन । खारा भिडन्तमा असफल भएपछि नै माओवादी सशस्त्र युद्धबाट ‘टर्न’ भएको मानिन्छ । युद्धताका पीडासँगै युद्धकै कारण चर्चामा आएको खारामा राज्यप्रति जनताको विश्वास स्थापित गराउन निकै समय लाग्यो । खासगरी प्रहरी र सैनिकसँग नागरिकको सोझो सम्बन्ध बनाउन सजिलो थिएन, तर समय सधैं एउटै रहेन । विस्तारै खारावासीले त्यसबेला भएका दुःख बिर्संदै गए । यसको पछिल्लो उदाहरण बनेको छ, खारावासीका लागि सेनाको देवी दल गणले निर्माण गरिदिएको अस्पताल ।
सशस्त्र द्वन्द्वका कारण चरम दुःख र यातना पाएको खारावासीका लागि सेनाले अस्पताल बनाइदिएपछि यतिबेला स्थानीय जनतामा खुसी मात्रै छाएको छैन, उनीहरूमा नेपाली सेनाप्रतिको बुझाइमा समेत सुधार आएको छ । साबिक रुकुम जिल्लाको खारा गाविस–१, र हालको त्रिवेणी गाउँपालिका–३, खारानेटामा सेनाले शौचालय र बाथरुमसहित ६ कोठाको अस्पताल भवन मंगलबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सेनाको उत्तरपश्चिम हेडक्वार्टरका उपरथी कर्मेन्द्र विक्रम लिम्बूले गाउँपालिकालाई अस्पताल हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाको देवी दल गणले ११ लाख रुपैयाँ लगानी र लगभग नौ लाख बराबरको श्रमदान गरी २० लाख लगानीमा यो अस्पताल निर्माण गरिदिएको देवी दल गणका गणपती प्रमुख सेनानी पंकज रावलले बताए । रावलका अनुसार अस्पताल निर्माणमा सेनाले गारो लगाउनेदेखि काठपात बनाउनेसम्मका काम आफैं गरेर कम खर्चमा राम्रो भवन निर्माण गरिदिएको छ । राप्ती लोकमार्ग छेवैमा रहेको यो अस्पतालमा सडक दुर्घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न पनि प्रयोग गर्न सकिने र स्थानीय जनताले यसबाट लाभ लिने आशा गरिएको छ । ‘सैनिक र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी विश्वास कायम गरेर अघि बढ्न खारावासीलाई सेनाले उपहारको रूपमा अस्पताल सुम्पेका छ’, गणपति रावलले भने ।
त्रिवेणी गाउँपालिका र स्थानीयले भवन निर्माण गर्न जग्गा उपलब्ध गराएपछि फागुनदेखि निर्माण थालेर चार महिनामा निर्माण सम्पन्न गरिएको यस ठाउँमा गाउँपालिकाले अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण खरिद गर्ने निर्णय गरिसकेको छ । चाँडै यहाँ आधुनिक स्वास्थ्य सेवा सुरु हुने गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको भनाइ छ । प्रयोगशाला सञ्चालन गर्न प्रयोगशाला सहायक नियुक्त गरिसकिएको छ भने, ल्याब टेक्नेसियनलाई पनि तालिम दिइसकिएको गाउँपालिकाले जनाएको छ । यस भवनबाट गाउँपालिकाले टेलिमेडिसिन सेवा र अन्य आवश्यक अन्य सेवा प्रदान गर्न तयारी सुरु भएको छ । यहाँको अस्पतालबाट त्रिवेणी गाउँपालिकाका १० मध्ये आठ वटा वडाका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।
देश संघीय प्रणालीमा प्रवेश गरेसँगै प्रत्येक गाउँपालिकामा १५ शैयाको व्यवस्थित अस्पताल निर्माण गर्ने सरकारको नीति भए पनि तत्काल यति ठूलो अस्पताल बनाउन नसकिए पनि यस अस्पतालमा तत्काल सात शैया निर्माण गरेर सेवा प्रवाह गरिने गाउँपालिका अध्यक्ष घर्तीले बताए । साथै घर्तीले युद्धताका आपसका विरोधी आफूलाई जनताको सेवा गर्न यतिबेला परिस्थितिले सँगै बनाइदिएकोमा खुसी पलागेको बताए । ‘हामी एक समय परस्पर विरोधी थियौं । तर, अहिले समयले जनताको सेवाका खातिर सँगै अघि बढ्ने अवसर मिलेको छ’, अध्यक्ष घर्तीले भने, ‘खारामा अस्पताल निर्माण गरिदिएकोमा हामी छौं । यसलाई हामी सैनिक उपहार सम्झेर जनताको लागि व्यवस्थित बनाएर सेवा प्रवाह गर्नेछौं ।’