एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा
कञ्चनपुर : ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोर्नु परेको छ।ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा एक रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोर्नु परेको हो ।
५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताए।'एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,' उनले भने,' गोलभेँडा खेतमा लटरम्म फलेको छ।खेतमै कुहिने अवस्था छ।' खेतमा एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए।
गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनले देखेसो पोखे।गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी पनि मारमा परेकी छिन्। गतवर्ष गोलभेँडाबाट तीन लाखभन्दा बढी आम्दानी गरेकी चौधरी यस वर्ष मुस्किलले ३० हजार मात्रै कमाई भएको बताइन्। उनको दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ।
यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहुँदा पाँच लाखभन्दा बढीको घाटा भएको छ। शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताए।
'तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,' उनले भने,'भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ।'रासस