कर्णालीका नेताले ओलीसँग मागे स्थायी समिति सदस्य
काठमाडौँः नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेका बेला कर्णाली प्रदेशका नेताहरुले स्थायी समिति सदस्य माग गर्दै पार्टीको ध्यानाकर्षण गराएका छन् ।
मुलुक संघीयताको अभ्यास गर्दै अघि बढिरहेको अवस्थामा कर्णाली प्रदेबाट एकजना पनि स्थायी समिति सदस्य नरहेको जनाउँदै एमालेका १० जना नेताहरुले केन्द्रीय कार्यालय बल्खुमा बिहीबार निवेदन दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रकाश ज्वाला, यामलाल कँडेल, मोहन बानियाँ, राजबहादुर बुढा, शेरबहादुर केसी र हेमबहादुर शाहीसहित १० नेताले दिएको निवेदनमा कर्णालीबाट कम्तिमा एकजनालाई पार्टीको स्थायी समितिमा लैजान माग गरेका हुन् ।
कर्णाली प्रदेशका मन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले कर्णाली प्रदेशबाट प्रतिनिधित्व हुने गरी पार्टी स्थायी समिति सदस्यमा मनोनयन गरिदिन माग गर्दै अध्यक्षको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् ।