चापाकलको पानीमा आर्सेनिक
नेपालगञ्ज ः बाँकेको बैजनाथ गाउँपालिका–८ फत्तेनगरका पुनिराम थारूको घरमा गाडिएको चापकलको पानीमा आठ वर्षअघि आर्सेनिक भेटियो। खानेपानी समस्या झेलेका यस गाउँका सात परिवार अर्को विकल्प नहुँदा यही पम्पको पानी खान बाध्य छन्। ‘अहिलेसम्म पानी शुद्धीकरणको वैकल्पिक उपायसमेत केही खोजिएको छैन’, स्थानीय चन्द्र चौधरीले भने।
गत वर्ष खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानीको थप व्यवस्था गर्न गाउँकै रामदयाल थारू र प्रेम थारूको घरमा दुई वटा चापाकल गाड्यो। यी दुई कलबाट रातो पानी आउँछ। चौधरी भन्छन्, ‘आर्सेनिक भएको हेन्डपम्पको २० मिटर आसपासमा भएका कारण दुवैमा आर्सेनिक हुन सक्छ।’
फत्तेनगर मात्र होइन, बाँकेका ग्रामीण भेगका बासिन्दा ‘मन्द विष’ मानिने आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका अनुसार खजुरा गाउँपालिका–१ राधापुर, बैजनाथ गाउँपालिका–८ टिटिहिरिया र डुडुवा गाउँपालिका–१ होलियामा पानी परीक्षण गर्दा गाडिएका दर्जन बढी चापकलमा आर्सेनिक भेटिएको छ।
कार्यालय प्रमुख चौधरीले भने, ‘५० पीपीबीभन्दा बढी आर्सेनिक रसायन भएको पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। हाम्रो नमुनामा ७० पीपीबीसम्म भेटिएको छ।’
कार्यालयका अनुसार जिल्लामा आठ प्रतिशत बासिन्दा स्वच्छ र शुद्ध खानेपानीबाट वञ्चित छन्। जिल्लाका ९३ हजार चार सय दुई घरधुरीमध्ये ६ हजार ६ सय ७२ घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेकै छैन। स्वच्छ खानेपानीमध्ये ८० प्रतिशत चापाकल र २० प्रतिशतले पाइपलाइनको पानी प्रयोग गर्ने गरेका छन्। नमुना परीक्षणबाट जिल्लाका अन्य भेगमा पनि आर्सेनिकयुक्त पानी रहेको हुन सक्ने कार्यालयले बताएको छ।
१५–२० फिट गहिराइबाटै पानी आउँछ। कम खर्च लाग्ने भएकाले स्थानीयले चापाकल गहिरो गरी गाड्दैनन्। यस्तो पानीमा आइरन र आर्सेनिकको सम्भावना रहने चौधरीले प्रस्ट पारे। ‘९० प्रतिशत हेन्डपम्पको पानीमा आइरन भेटिएको छ। जिल्लामा अधिकांश हेन्डपम्पको पानीमा ५० प्रतिशतभन्दा बढी आइरन पाइएको छ’, चौधरीले प्रस्ट पारे।
कार्यालयका अनुसार जिल्लामा आठ प्रतिशत बासिन्दा स्वच्छ र शुद्ध खानेपानीबाट वञ्चित छन्।
भेरी अञ्चल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईंका अनुसार विश्वभर ०.०१ एमजी आर्सेनिक भएको पानी मात्र खान मिल्छ। दक्षिण एसियामा भने ०.०५ एमजी प्रतिलिटर अर्थात् ५० पीपीबी आर्सेनिक भएको पानीलाई खान मिल्ने कोटीमा राखिएको छ। ‘आर्सेनिकयुक्त पानी खाँदा शरीरको जुनसुकै अंगलाई हानि पुग्न सक्छ’, डा. चापागाईं भन्छन्, ‘सुरुमा छाला कालो हुन्छ, हत्केला र पैतलामा खस्रो खालको दाना आउँछ, नङ सेतो हुने समस्या आउँछ। अन्तिम अवस्थामा विभिन्न प्रकारका क्यान्सरको सम्भावना हुन्छ।’
महिलामा गर्भपतनको खतरा रहने र पुरुषमा यौन दुर्बलताको समस्या पनि आर्सेनिकयुक्त पानीका कारण हुन सक्ने डा.चापागाईंले बताए।
वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. जीराज शाक्यका अनुसार आर्सेनिकयुक्त पानीले सबैभन्दा बढी समस्या छालामा हुन्छ। छालाको एलर्जी हुने, हातखुट्टाको छाला बाक्लो हुने, चिलाउने, कुर्कुच्चा फुट्ने र कुर्कुच्चामा गिर्खा आउने समस्या हुन्छ। ‘पानी खाने बित्तिकै रोग लाग्दैन, लामो समय खाँदा मन्द विषझैं छालाका रोग देखिन थाल्छन्। रोग बिग्रियो र समयमै उपचार नहुँदा क्यान्सर नै हुन सक्छ’, डा. शाक्यले बताए। आर्सेनिकयुक्त पानीले कलेजोको सिरोसिस, मुटु (उच्च रक्तचाप) र श्वासप्रश्वाससम्बन्धी रोगको सम्भावना पनि उत्तिकै रहने चिकित्सकहरू बताउँछन्।
पानीको विकल्प भएन
आर्सेनिक भेटिए पनि ती ठाउँमा स्वच्छ खानेपानीको वैकल्पिक व्यवस्था हुन सकेको छैन। राधापुरमा एक हजार पाँच सय घरधुरीलाई लक्ष्य गरी एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना सञ्चालन गरिएको भए पनि ५० घरधुरी मात्र उक्त सेवाबाट लाभान्वित भइरहेका छन्।
त्यस्तै टिटिहिरियामा दुई लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माणाधीन छ। तीन हजार पाँच सय परिवार लाभाविन्त हुने गरी सञ्चालनमा ल्याउन लागिएको आयोजना बजेट अभावका कारण निर्माणमा ढिलाइ भइरहेको कार्यालयले स्वीकारेका छन्।
जिल्लामा १० वटा खानेपानी आयोजना सम्पन्न भइसकेका छन् भने ६० आयोजना निर्माणाधीन छन्। सबै आयोजना सम्पन्न गर्न कम्तीमा तीन वर्ष लाग्छ।