नेपाली भाषा किन जोगाउने ?
पाठ्यक्रम विकास केन्द्रको कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषयलाई ५० पूर्णांकमै सीमित गर्ने भन्ने सोचलाई बढावा दिने गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ को मस्यौदा आयो। यस्तो प्रस्तावलाई सच्याउनुपर्ने आग्रह गर्दै विज्ञ तथा सरोकारवालाले आवाज बुलन्द पारेका छन्। विज्ञहरूले समाचार सञ्चारमाध्यममार्फत यस्ता अभियान थालेका छन्। लाजमर्दो कुरा आफ्नै देशको माध्यम भाषा बचाउनुपर्छ भन्दै देशमा माग राख्नुपर्ने अवस्था आएको छ। यस्तो विषयमा झक्झक्याउनुपर्ने कस्तो विडम्बना !
राष्ट्रिय जनगणना २०६८ ले नेपालभरिमा ४४.६३ प्रतिशत नेपालीको मातृभाषा नेपाली रहेको तथ्य पेस गरेको छ। नेपाली भाषा नै पूर्वमेचीदेखि पश्चिम महाकाली मात्र होइन, विश्वका नेपालीको मनमुटु जोड्ने सेतु हो। भाषासँग संस्कृति, पहिचान, राष्ट्रियता, स्वाभिमानलगायतका सामाजिक, सांस्कृतिक, आत्मीय गौरवले प्रगाढ तादात्म्य गाँसेको हुन्छ। आखिर नेपाली भाषाभन्दा ठूलो वैज्ञानिक पक्ष के त्यस्तो आवश्यक बन्यो यो मुलुकलाई ? अर्थात् नेपाली भाषा किन यति धेरै अनावश्यक लाग्न थाल्यो यो समाजलाई ? नेपाली शिक्षाशास्त्र केन्द्रीय शाखा कीर्तिपुरका प्रा.डा. पारसमणि भण्डारीले युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय दाताहरूको प्रभावमा परेर पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। विश्वास गर्न सकिने विज्ञहरूले यस्तो भनेपछि साँच्चै नेपाली भाषाप्रति माया कम गर्दै जाँदा हामी आफ्नो पहिचानको मेटाउँदै त छैनौं जस्तो लाग्छ।
नेपाली भाषा बचाउन गठन भएका विभिन्न अभियानका अभियन्ताले नेपाली भाषामाथि प्रहार भएको आरोप लगाउन थालेका छन्। नेपाली भाषाका विभिन्न विज्ञहरूले कक्षा ११ र १२ मा सय पूर्णांकको अनिवार्य नेपालीका साथै ऐच्छिक विषयमा पनि नेपाली राखे मात्रै नेपाली भाषाको विकासमा टेवा पुग्ने मत पेस गर्दै आएका छन्। चीनले आफ्नो भाषालाई माया गर्छ। पहिचान जोगाउन कदम चालिरहेको हुन्छ। कैयौं देशले आफ्नो देशको पहिचान र इतिहास बोक्ने भाषालाई सार्वजनिक रूपमा मान्यता र माया दिइरहेका छन्।
हामी भने नेपाली भाषामा एउटा राम्रोसँग निवेदन लेख्न जान्दैनौं। नेपाली भाषामा एक अनुच्छेद लेखेर प्रस्तुत गर्न आजको शिक्षित नयाँ पुस्ताले जान्दैन। निमन्त्रणा कार्ड, तमसुक, दैनिक व्यावहारिक कागजात लेखनमा नेपाली भाषा दैनिक प्रयोगको प्रायोगिक आवश्यक विषय हो। भाव पोख्ने सबैभन्दा सुलभ माध्यम भाषा हो। सबै जाति, संस्कृति, धर्म, परम्पराको सम्बन्ध गाँस्ने सेतु हो। साहित्य, वाङ्मय, शब्दकोष, लिपि, वर्ण, व्याकरणजस्ता भाषा बाँच्न चाहिने पूर्वाधारमा सम्पन्नता र विश्वमा व्यापकता, विश्वव्यापीकरणमा गति लिइरहेको सक्षम नेपालको भाषा पनि नेपाली नै हो। यति जान्दाजान्दै नेपाली भाषाको महत्व घटाएर अंग्रेजी मोहमा लहसिनु कस्तो उच्च बौद्धिकता हो भन्ने प्रश्न पनि साथमा उब्जिन्छ।
के नेपालीले नेपाली भाषामा निवेदन लेख्न, भाव पोख्न, शुद्ध लेख्न र पढ्न जान्नुपर्दैन ? कक्षा १० पास गर्दा पनि अक्षर फुटाएर पढ्न नसक्ने नेपालीले म नेपाली हुँ भन्ने गर्व नै कसरी गर्ने ? शिक्षित बन्नु भनेको आफ्नै भाषा, पहिचान, कला, सामाजिक धरातललाई गलपासो लगाएर भौतिक सम्पन्नताको अन्धो खोल ओढ्नु मात्र नहोला। अर्काको संस्कृति, भाषा र बडप्पनको अन्धानुकरण गर्दैमा शिक्षाको गाँठो बलियो पनि त नबन्ला। लोकसेवा आयोगमा सोधिने प्रश्नको उत्तर नेपालीमा पढेर नेपालीमा लेख्नुपर्दैन ? दैनिक पत्रपत्रिकाका समाचारलाई अक्षर फुटाएर पढ्नु व्यावहारिक शिक्षा होइन ? नेपाली विषय त नेपालीका लागि जीवनमरणको साथी हो। आधार हुनुपर्ने हो। कला, सीप, व्यापार, व्यवसाय, सञ्चारलगायतमा प्रयोजनपरक उपादेयता बोकेको नेपाली भाषालाई मुलुकले उपेक्षा गर्न लाग्दा जोकोही नेपाली मनले गुनासा गर्नैपर्छ।
सञ्चरण, विस्तार र शैक्षिक आधार
विगतका विभिन्न कालखण्डमा नेपाली भाषामा विभिन्न तरिकाका मानकीकरण तथा आधुनिकीकरणका प्रयास भएकै हुन्। आज नेपाली भाषाबाटै कम्प्युटर र इन्टरनेट प्रविधिबाट विश्वका विभिन्न कुनामा बसेका नेपालीको सम्पर्क र सम्प्रेषण सहज बन्दै गएको छ। प्रसारणको दृष्टिले विश्वव्यापी बन्दै गइरहेको यसले डायस्पोराका कृति तथा रचनासँगै विश्वमा कुनाकन्दरामा पैmलिने अवसर पाएको बुझिन्छ। कतिपय विदेशीहरू नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थालाई अध्ययन, अनुसन्धान तथा खोज गर्ने उद्देश्यले नेपाली भाषाप्रति आकृष्ट भएको पाइन्छ।
विदेशमै बस्ने, उतै आफ्नो परिवारको व्यवस्थापन गर्ने हजारौं नेपालीले नेपाली भाषाको विस्तारमा प्रभाव पार्दै गएको पाइन्छ। नेपाली भाषासम्बन्धी भएका अध्ययन–अनुसन्धान, नवीन सिद्धान्तमा झुकाव तथा अनुसन्धेय विषयमा बढेको चासोले यसमा टेवा पुर्याएको छ। वैज्ञानिक प्रविधि तथा डिजिटल वा अनलाइन पद्धतिबाट नेपाली समाचार, साहित्य तथा नेपाली भाषीहरूको आपसी सञ्चरण हुने क्रम बढिरहेकै छ। नेपालभित्र मात्र नभएर नेपाल बाहिर पनि नेपाली भाषाको व्यापकता बढ्दो छ। विशेष गरेर भारतमा नेपाली भाषीको संख्या धेरै रहेको पाइन्छ। भारतीय नेपाली भाषीहरू अन्दाजी पचास लाख बढी भएको दाबी गर्छन्। दार्जिलिङ, सिक्किमलगायत कलकत्ता, पटना, देहरादून, दिल्ली, मुम्बईसम्म नेपाली भाषाको विस्तार भएको छ। दार्जिलिङ माध्यमिक तहसम्म नेपाली भाषाशिक्षण गर्न तत्पर देखिन्छ भने सिलगुढीको उत्तर बंगाल विश्वविद्यालय तथा काशी हिन्दु विश्वविद्यालयमा नेपालीमा एमएसम्म अध्ययन भएको पाइन्छ।
सन् २००४ को संविधानमा नेपालको राष्ट्रभाषाका रूपमा नेपाली भाषालाई व्याख्या गरिएको छ। सन् २०१५ मा आइपुग्दा ‘देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई नेपालको राष्ट्रभाषा’ भनी व्यवस्था गरियो। २०१९ को संविधानले नेपाली भाषालाई राष्ट्रभाषा भन्नुका साथै विदेशीका हकमा नेपाली नागरिकता लिन नेपाली भाषा जान्नुपर्ने बाध्यकारी नियम ल्याइयो। २०४७ को संविधानमार्फत नेपालका भाषाहरूमध्ये नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा भनेर नेपाली भाषालाई सरकारी कामकाजको भाषा नेपाली हुने नीति ल्याइयो। प्रजातन्त्रको पुनस्र्थापनापछि नेपालको भाषिक अध्ययनको जटिलता नियालेर २०५० मा राष्ट्रिय भाषा नीति सुझाव आयोग गठन भयो। २०५८ सालको जनगणनाबाट नेपालको भाषिक विविधता र जटिलतालाई थप पुष्टि गरियो।
उपलब्धि र गर्वका सँगसँगै नेपाली भाषाको विकासमा अंग्रेजी भाषाको मि श्रणले घाटा भइरहेको भान हुन्छ। अन्य भाषाको बढी मिश्रित प्रयोग हुनु, विशेष गरेर अंग्रेजी भाषाको बढी मि श्रण हुँदै जाँदा नेपाली भाषाको आधुनिकीकरणमा उदासीनता देखिनुले यसमा भाषिक अपशरण तथा अपक्षयको भय जोडिएको छ।
अन्तरिम संविधान २०६३ मा नेपालका सबै भाषालाई राष्ट्रभाषा हुन् भनी उल्लेख गरियो। अहिले मुलुक संघीय संरचनामा मोडिएको छ। २०७२ को संविधानको भाग १ दफा ६ अनुसार ‘नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रभाषा हुन्।’ त्यस्तै गरेर दफा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ। नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ। भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेअनुसार हुनेछ’ भनिएको छ। यसरी हेर्दा वर्तमान भाषानीतिलाई नेपालमा रहेका बहुभाषिक स्थितिले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ।
नेपाली भाषा शिक्षण र व्यापकता
साहित्यिक, प्रशासनिक र कानुनी क्षेत्रमा नेपाली भाषाको अभिव्यक्तिले जति अघिदेखि मान्यता पाएको भए पनि १९५८ सालको गोरखापत्रको प्रकाशनले यसको विकास र विस्तारमा औपचारिक वातावरण प्रदान गरेको हो भन्न सकिन्छ। जयपृथ्वीबहादुर सिंहको अक्षरांक शिक्षाले नेपाली भाषाको शिक्षणमा विशेष भूमिका खल्यो भन्ने आधार पनि कम छैन। यसै समयदेखि भाषिक सीप शिक्षणमा ग्राह्यता दिइयो भन्न सकिन्छ। त्यसो त श्रुति परम्परामा रहेको संस्कृत भाषाको अध्यापन कार्यमा भाषाका सुनाइ र बोलाइ नै बढी प्रयोगमा आएको पाइन्छ। यद्यपि वर्तमान सन्दर्भमा भाषा शिक्षणलाई भाषिक सीपमध्ये पढाइ र लेखाइलाई जोड दिइन्छ। त्यसमा पनि लेखाइ सीपलाई नै उच्चस्तरीय मानिन्छ। अहिले आएर सुनाइ र बोलाइलाई पनि प्रयोगात्मक तहमा केही मान्यता दिइन थालेको पाइन्छ। यसरी वर्तमान सन्दर्भसम्म आइपुग्दा नेपाली भाषाको शिक्षण सीपको शिक्षण भएकाले भाषाका चारवटा सुनाइ, बोलाइ, पढाइ र लेखाइको शिक्षणलाई भाषा शिक्षण भनेर बुझिन्छ।
नेपाली मातृभाषीलाई नेपाली भाषाको सुनाइ र बोलाइको विकास स्वतः हुने भए पनि पढाइ र लेखाइ सीपको विकासका लागि यसको शिक्षण आवश्यक छ। भाषाका हरेक सीपको एकअर्कासँग अन्योन्याश्रित सम्बन्ध गाँसिएको हुन्छ। भाषिक सीपमा केन्द्रित रहेर अध्यापन गर्ने तथा भाषाप्रतिको प्राज्ञिक दक्षता हासिल गर्ने गरी नेपाली भाषाको शिक्षण आवश्यक हुन्छ। नेपालीभाषी होस् या अन्य मातृभाषा भएका नेपाली हुन्, तिनलाई नेपाली भाषाको व्यावहारिक ज्ञानको खाँचो पर्छ। शिक्षा, सञ्चार, प्रशासन सबै क्षेत्रमा नेपाली भाषाको प्रयोगको आवश्यकता छ यसर्थ यसको शिक्षणमा प्रभावकारिताको खाँचो हुन्छ। नेपाली मातृभाषीलाई नेपाली भाषा शिक्षणसँगै नेपाली भाषाको विश्वव्यापीकरणमा सहजताको वातावरण तय हुन्छ। नेपाली भाषा अन्य विषय तथा सिकाइको माध्यम पनि हो। बहुसंख्यक नेपालीको साझा सम्पर्कको माध्यम नेपाली भाषा भएकाले अध्यापनलाई मानकीकरणका दृष्टिले, साहित्यिक अनुराग बढाउने उद्देश्यले, औपचारिक भाषाको प्रयोग गर्ने सीप विकास गर्नेजस्ता उद्देश्यले यसको अध्ययन गरिन्छ।
विश्वव्यापीकरणका कारण नेपाली भाषामा विभिन्न भाषाका शब्दहरू भित्रिएका छन्। नेपाली भाषाको व्यापकता पनि उत्तिकै रहेको छ। नेपाली भाषीहरूका लागि मातृभाषा, सम्पर्क भाषा, पठनपाठनको माध्यम भाषा, सरकारी कामकाजको भाषा, सञ्चार र मनोरञ्जनको माध्यम नेपाली भाषा नै बनेको छ। नेपाली साहित्यलाई भारतको साहित्यिक अकादमीले सन् १९७५ मा नै मान्यता दिई यसको प्रवद्र्धनमा विभिन्न कार्यकलाप गर्दै आएको पाइन्छ। त्रिभुवन विश्वविद्यालयले पनि नेपाली भाषा सिक्ने विदेशीलाई उपाधिमूलक नेपाली शिक्षण गर्दै आएको छ। त्यस्तै निजी तथा अनौपचारिक रूपमा संस्थागत तथा निजी स्तरबाट नेपाली सिक्न चाहनेलाई नेपाली भाषा शिक्षण गर्दै आइरहिएको छ।
विदेशीहरूले नेपालमा र नेपाल बाहिर पनि नेपाली भाषा अध्ययन गर्ने वातावरण बन्दै गएको पाइन्छ। आधुनिक प्रविधिको प्रयोग तथा विस्तारमा नेपाली भाषाले आफ्नो स्थानलाई सुरक्षित गर्दै गर्दा प्राविधिक पक्षको सुधारको खाँचो भने रहेको पाइन्छ। मानकीकरण, व्याकरण लेखन, कोश निर्माण तथा पाठ्यपुस्तक लेखन प्रक्रियाले भाषाको विकास एवम् संवद्र्धनमा सहयोग पुगेको पाइन्छ। भाषा आयोगको स्थापना, त्रिभुवन विश्वविद्यालयले दिएको उपाधि कार्यक्रम, अनुसन्धानात्मक प्राज्ञिक बहस तथा सुधारका प्रयासहरूले नेपाली भाषाको विश्वव्यापीकरणमा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ। विश्वभाषा क्याम्पस र अन्य शैक्षिक संस्थाको योगदान पनि उत्तिकै छ। पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, प्रकाशन तथा वितरणमा नेपाली भाषाको वैज्ञानिक र व्यवस्थित सुगठनको खाँचो पनि रहेको छ।
वर्तमान संविधानपूर्वका संवैधानिक व्यवस्थामा एक भाषिक नीति हुनुले र शिक्षणको स्थान पाउनुले यसको विकासमा प्रत्यक्ष प्रभाव पारेको छ। विश्व समुदायको अध्ययनको क्षेत्र, पर्यटकीय गन्तव्य, बहुसांस्कृतिक समाज तथा कला र इतिहासको संगम नेपाल भएकैले पनि यहाँ प्रभावशाली बनेको नेपाली भाषालाई सिक्नुपर्ने बाध्यता र रहर दुवै जागेको हुन सक्छ। प्रशासनिक, शैक्षिक विकास, व्यापारिक विकास, साहित्य र संगीत तथा मनोरञ्जनात्मक अपेक्षा आदिले नेपाली भाषा विश्वव्यापीकृत बन्दै गएको पाइन्छ। यसको शिक्षण सिकाइका लागि भाषा पाठ्यक्रमको व्यवस्था हुनु, अनुसन्धानात्मक क्षेत्रमा विस्तारित हुनु, साहित्यिक आधार तय हुनुजस्ता पक्षले प्रयोगकर्तामा उत्साह बढेको पाइन्छ। मूलतः विज्ञान प्रविधिको विकास, सञ्चारमाध्यम, साहित्यिक विकास तथा विस्तार, सामाजिक सञ्जालमा केही कमीकमजोरी हुँदाहुँदै पनि नेपाली भाषा विश्वव्यापीकृत भइरहेको पाइन्छ। नेपाली भाषाको भाषावैज्ञानिक अध्ययन–अनुसन्धान हुनु, उच्च तहसम्म अध्ययन–अध्यापन हुनु, सामाजिक भाषाविज्ञान तथा मनोभाषावैज्ञानिक आधारबाट अध्ययन–अध्यापन हुनु पनि एउटा विश्वव्यापीकरणको माध्यम बनेको हो भन्न सकिन्छ। यसरी नेपाली भाषा विश्वमा विस्तारित हुनु नेपालीहरूको गर्वको विषय पनि हो।
उपलब्धि र गर्वका सँगसँगै नेपाली भाषाको विकासमा अंग्रेजी भाषाको मि श्रणले घाटा भइरहेको भान हुन्छ। अन्य भाषाको बढी मिश्रित प्रयोग हुनु, विशेष गरेर अंग्रेजी भाषाको बढी मि श्रण हुँदै जाँदा नेपाली भाषाको आधुनिकीकरणमा उदासीनता देखिनुले यसमा भाषिक अपशरण तथा अपक्षयको भय जोडिएको छ। आफैं मजबुत हुुँदाहुँदै पनि नेपाली भाषाको प्रयोगलाई अनलाइन तथा सञ्चार क्षेत्रमा कुरूप बनाएर प्रयोग गर्ने क्रम बढ्नु, अंग्रेजी भाषालाई मिसाएर नेपाली भाषा प्रयोग गर्ने क्रम बढेसँगै समस्या चुलिएको छ। यी विषयमा सचेतना नभए माथि प्रस्तुत भएका गौरवका कुरा इतिहास बन्दै नजालान् भन्न सकिँदैन। यसर्थ भाषा शिक्षण तथा यसको व्यवस्थित विस्तारका लागि मानकीकरण तथा आधुनिकीकरणको प्रक्रियालाई सक्षम बनाउँदै लैजानुपर्ने विषयमा सरोकार सबैले ध्यान पुर्याउनुपर्ने देखिन्छ।