३३ किलो सुन प्रकरण : भिडियोबारे प्रतिवादी वकिल मौन

३३ किलो सुन प्रकरण : भिडियोबारे प्रतिवादी वकिल मौन

विराटनगर : ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा प्रतिवादीको प्रतिरक्षामा बहस गरिरहेका कानुन व्यवसायीले वादीतर्फबाट अदालतमा पेस भएको भिडियो प्रमाण ( श्रव्यदृष्य सामग्री) बारे मुख खोलेका छैनन्।

प्रतिरक्षामा रहेका कानुन व्यवसायीले अभियोग नै अधुरो र अनुसन्धान नै पूर्वाग्राही रहेको भन्दै मुद्दा स्थापित हुन नसक्ने जिकिर गर्दै आएका छन्। तर, सरकारी वकिल कार्यालयले मुद्दाको प्रमाणका रूपमा पेस गरेको भिडियो प्रमाणका विषय भने शुक्रबारसम्ममा ४६ जना कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्दा चुँसम्म बोलेका छैनन्। थुनछेक बहसको दोस्रो दिन इजलासमा भिडियो रेकर्ड देखाउन खोजिएको थियो।

सुन तस्करी र सनम हत्यासँग जोडिएको भिडियो रेकर्डलाई प्रमाणका रूपमा देखाउने र नदेखाउने विषयलाई लिएर इजालासमा सरकारी वकिल र प्रतिवादीका कानुन व्यवसायीबीच चर्काचर्की नै परेको थियो। तर, बहस सकिने अवस्थामा पुग्दासम्म पनि यस विषयलाई प्रतिवादी कानुन व्यवसायीले कोट्याएका छैनन्।

तस्करीको सुन हराएपछि खोज्ने क्रममा सुन तस्करी तथा सनम हत्याका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती समूहले हत्या गरिएका सनम तथा प्रतिवादी बनाइएका मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्कीलगायतलाई दिएको यातनालगायत घटनाको भिडियो सरकारी वकिलहरूले प्रमाणका रूपमा इजलासमा प्रस्तुत गर्न खोजेका थिए।

आरोपीका आफन्तले उपलब्ध गराएको, विशेष अनुसन्धान टोलीसमक्ष आरोपीले दिएको बयान र प्रहरीको डिजिटल फरेन्सी ल्याबबाट प्राप्त भिडियो प्रस्तुत गरेको ४÷५ मिनेटमै कानुन व्यवसायीहरू इजलासबाटै उठेर हिँडेका थिए।

यातना दिइएको भिडियोको एउटा ‘क्लिप’ सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि चर्चामा आएको थियो। जिल्ला सरकारी वकिल कार्यालय मोरङका सह–न्यायाधिवक्ता पदम वस्तीले शाक्य, काफ्ले र कार्कीलाई दिइएको यातनालाई भिडियोमा प्रस्ट देख्न सकिने बताए।

हराएको सुन खोजी गर्ने क्रममा गोरे समूहले विमानस्थलका कर्मचारी सानु बन, गोपालकुमार श्रेष्ठ, एलबी भनिने लालबहादुर मगर र तक्ले भनिने पूण्यप्रसाद लामालाई काठमाडौं, सिन्धुलीलगायत ठाउँमा हात बाँधेर र कुटपिट गरेर यातना दिइएको भिडियोसमेत रहेको जानकारी वस्तीले दिए। यातना दिइएकामध्ये सानु वनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्यांकरले किचेर मृत्यु भइसकेको छ।

यसैबीच यो प्रकरणमा शुक्रबार प्रतिवादीतर्फका चार जना कानुन व्यवसायीको मात्रै बहस सकिएको छ। प्रतिरक्षामा ४६ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्। शुक्रबार पूर्वडीआईजी गोविन्द निरौलाका पक्षमा अधिवक्ता ईश्वर पौडेल र सुदीपकुमार पोखरेलले बहस गरे। अभियुक्तहरू राजन कुमार, हेमन्त गौतम, बालकृष्ण श्रेष्ठ, तुलाराम थारू र आर के भनिने राजेन्द्रकुमार शाक्यको तर्फबाट अधिवक्ता विकास थापाले बहस गरे। आर के भनिने राजेन्द्रकुमार शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले पनि बहस गरेका छन्।

प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएका कारण बहस लम्बिएको छ। प्रतिरक्षामा बहस गर्न ६६ जना कानुन व्यवसायीले एक सय १३ वटा वकालतनामा दर्ता गराएका छन्। सरकारी वकिलको बहस सकिएपछि गत आइतबारदेखि लगातार प्रतिरक्षामा बहस भइरहेको छ। सरकारी वकिलले सबै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरिरहेका छन्। तर, प्रतिवादीका कानुन व्यवसायीले त्यसको खण्डन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.