गलेश्वरमा बन्ने भयो पक्की पुल

गलेश्वरमा बन्ने भयो पक्की पुल

बेनी : म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरस्थित रघुगंगा नदीमा पक्की पुल निर्माण हुने भएको छ। बेनी नगरपालिका–९ र रघुगंगा–३ पिप्ले जोड्न नदीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको हो। सडक विभागअन्तर्गत कालीगण्डकी करिडोर आयोजनाले पक्की पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीसँग सम्झौता गरिसकेको छ। ०७४ चैत ११ गते ६ करोड २६ लाख रुपैयाँमा पुल निर्माण गर्न सम्झौता भएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार बेनी–जोमसोम सडक आयोजनाअन्तर्गत बेगखोला र रुप्सेखोला पुल टेन्डर प्रक्रियामा छ। चीनसँगको सीमा कोरला नाका जोड्न बेनी–जोमसोम–कोरला सडक सहज बनाउन बेलिबिज्रलाई स्थानान्तरण गर्दै पक्की पुल निर्माण गरिन लागेको हो।

आयोजनाले म्याग्दी खण्डमा दानास्थित घट्टेखोलामा, मुस्ताङ खण्डको घासामा खहरेखोलामाथि पाँच करोड ९७ लाख रुपैयाँमा सिर्वा कन्ट्रक्सन, मार्फा र जोमसोम बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ श्रीगीता जेभीले पुल निर्माण गरिरहेको छ। यी तीन वटाको निर्माण सम्झौता भदौमा सकिँदै छ। यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख रुपैयाँ लागतमा गल्फा एन्ड रेबिना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले तीन करोड नौ लाख रुपैयाँमा ठेक्का लिएको छ। असार र माघमै सम्पन्न हुनुपर्ने उक्त दुई पुल निर्माण कार्य भने सन्तोषजनक छैन।

सडक विभागअन्तर्गत पुल सेक्टर नम्बर ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ। दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ। तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने सुरु भएको छैन। मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि पनि आयोजनाले टेन्डर आह्वान गरिसकेको छ।

गलेश्वरमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको कालिका–गजुरमुखी जेभीका योजना प्रमुख सचिन क्षत्रीले जानकारी दिए। ‘यो पुल प्रिस्टेट टाडर शैलीमा बन्दै छ, पुलको लम्बाइ ४० र चौडाइ ११ मिटर हुनेछ’, उनले भने, ‘हामी सम्झौता हुनेबित्तिकै कार्य सुरु गरेका छौं।’ असारसम्म एकापट्टिको पिलर उठाउने गरी कार्य अघि बढेको छ।

गजुरमुखीले भुरुङतातोपानीदेखि कोबाङसम्मको ३८ किलोमिटर सडक स्तरोन्नति पनि गरिरहेको छ। ‘यो क्षेत्रमा सडकको काम गरिराखेकाले जनशक्ति अभाव हुँदैन। आवश्यक कच्चा पदार्थका लागि धौलागिरि रेडिमिक्ससँग सम्झौता गरिसकेका छौं’, गजुरमुखीका योजना प्रमुख क्षत्रीले भने, ‘तोकिएको समयमै हामीले कार्य सम्पन्न गर्नेछौं।’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दर्जन बढी बेलिब्रिजमध्ये गलेश्वरको बेलिब्रिज सबैभन्दा जीर्ण अवस्थामा छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.