नेपाली फिल्मको बदलिँदो स्वरूप
काठमाडौं : नेपाली फिल्म बलिउडको ठाडो नक्कल गरेको आरोप लागिरहेका बेला समाजका वास्तविक कथा नेपाली फिल्ममा बढ्दै गएको देखिएको छ। राजनीतिक परिवर्तनसँगै बदलिएको नेपाली समाजका ससाना घटना नै फिल्मको स्क्रिप्ट बन्न थालेका छन्। चाहे त्यो ‘पशुपतिप्रसाद’ होस् या ‘कालो पोथी’। यी फिल्मले नेपाली मौलिक कथावस्तुको उठान गरेका छन्।
यस्तै मौलिक कथाको फिल्मको सूचीमा पर्छ, ‘घामपानी’। वर्ष दिनअगाडि बनेको यो फिल्मले उठाएको कथावस्तु आज पनि बहसमा छ। अन्तरजातीय विवाह फिल्मको मुख्य कथा हो। हुन त यो विषयमा नेपाल तथा भारतीय सिनेमा उद्योगमा हजारौं फिल्म बनिसके। खासगरी उपल्लो जाति र दलितको अन्तरजातीय विवाहको कथा देखाउँदै आएको नेपाली फिल्ममा घामपानीले भने जनजातिसँगको अन्तरजातीय विवाह देखाएको छ।
र, यो बदलिँदो नेपाली परिवेशलाई छर्लंग पारिदिने ऐनाजस्तै बनेको छ। शारीरिक द्वन्द्व होइन, मानसिक द्वन्द्व छ फिल्ममा। फिल्ममा प्रयोग भएका कतिपय ‘सिम्बोलिक’ प्रस्तुतिलाई त सामान्य दर्शकले ठम्याउन पनि सक्दैनन्। नेपाली फिल्म जहिले पनि फितलो स्क्रिप्टका कारण आलोचित हुँदै आएको छ तर घामपानीको स्क्रिप्ट उत्कृष्ट छ। यसमा प्रयोग भएका चेतनशील अभिव्यक्तिले बौद्धिक व्यक्तिको पनि मथिंगल हल्लाइदिन्छ।
बिहीबार मार्टिन चौतारीमा चलचित्र ‘घामपानी’माथि बहस गरियो। उपस्थित दर्शकले फिल्मको कमीकमजोरी पनि बताएका थिए। हेर्दा निकै सामान्य विषय तर बदलिँदो नेपाली समाजले खोजेको कथा छ, घामपानीमा। तर, यस्ता विषयवस्तु के साँच्चै आजको नेपाली समाजको डिमान्डमा पर्छन् त भन्ने प्रश्न पनि खडा गरेको छ।
विभिन्न जातजातिको मौलिक परम्पराको चित्रण नेपाली फिल्ममा खासै भएको छैन। त्यसैले पनि घामपानीले नयाँ स्वाद दर्शकसामु पस्किएको थियो। निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘घामपानी चलिरहेका ड्रामा फिल्मभन्दा रियालिस्टिक फिल्म हो।’
लामाले बनाउन लागेको नयाँ फिल्म ‘गोपी’की नायिका सुरक्षा पन्त घटनामूलक विषयवस्तुले नेपाली फिल्म बोझिलो बन्दै गएको ठान्छिन्। ‘यसमा कुनै दुई मत छैन कि अहिले नेपाली फिल्म पनि निकै गम्भीर विषयवस्तुमा बन्न थालेका छन्।’ उता गोपीका नायक खगेन्द्र लामिछानेका अनुसार संसारका जुनसुकै ठाउँमा पनि कथावस्तु एउटै हुन्छन्, मात्र प्रस्तुति फरक हुन्छ। ‘प्रेमकथाको खाका एकै किसिमको हुन्छ तर त्यसमा पात्रहरूको भोगाइ फरक हुन्छ’, उनले भने।
अहिले ‘डमरुको डन्डिबियो’, ‘भोर’ पनि सामान्य कथामा बनेका गम्भीर प्रस्तुतिका फिल्मका उदाहरण हुन्।