बेपत्ता आयोग लम्बिए पनि पीडितको पीडा उस्तै
राजविराज : द्वन्द्वकालमा बेपत्ता भएकाको परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद लम्बिए पनि पीडितहरूले समस्या उस्तै रहेको गुनासो गरेका छन् ।
विस्तृत अनुसन्धान गर्न जिल्ला आएको आयोगको कार्यटोलीसमक्ष बेपत्ता परिवारका सदस्यहरूले लामो समयसम्म गुनासो सुनुवाइ नहुँदा अन्यायमा परेको गुनासो गरे।
पटक-पटक पुराना स्मरण कोट्याएर आयोगले मन दुखाउने काम मात्र गरिरहेको भन्दै सप्तकोसी ५ फत्तेपुरकी उर्मिला तिमिल्सिनाले बेपत्ता व्यक्तिहरूको विषयमा चाँडोभन्दा चाँडो सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्। उनका पति द्वारिका तिमिल्सिना दूध बिक्री गरेर फर्कंदै गर्दा ०५८ फागुन १९ गतेदेखि भगनी मलेठबाट बेपत्ता छन्। दूधको क्यान र साइकल बाटोमा फेला परे पनि १७ वर्षदेखि पति भेटिने आशामा रोएर जीवन बिताउनुपरेको तिमिल्सिनाले बताइन्।
आयोगका सचिव कृष्णजीवी घिमिरे नेतृत्वको टोलीले राजविराजमा आयोजना गरेको अन्तक्र्रियामा बेपत्ता परिवार र तिनका आफन्तले गुनासोको पोको फुकाउँदै उजुरीमाथि कारबाही नहुँदा आफूहरू थप पीडित भएको बताए ।
पीडितका अपेक्षा संकलनका लागि सप्तरी, सिरहा, सुनसरी, बारा, रौतहट, स्याङ्जामा ६ वटा टोली परिचालित रहेको जानकारी दिँदै सचिव घिमिरेले सत्यतथ्य पत्ता लगाई पीडितको आवश्यकताबारे फारम भर्न लागिएको बताए।
राजविराज ७ की कल्पनाले बुवा इन्द्रनारायण साह बेपत्ता भएपछि तीन दिदीबहिनी र एक भाइलाई हुर्काउन आमाले भोग्नुपरेको पीडा सुनाउँदा सँगै रहेकी उनकी आमा फूलकुमारी रुन थालिन्। धनकुटास्थित सडक विभागमा ओभरसियर पदमा कार्यरत रहदा ०६२ मंसिर १० गतेदेखि साह बेपत्ता छन्।
सचिव घिमिरेले पीडितहरूको घाउ कोट्याउँदा आफूहरूलाई पनि नरमाइलो लागेको स्विकार्दै अन्तिम पटक पीडितहरूसँग अन्तक्र्रिया गर्न लागिएको बताए। ऐन संशोधन गरेर २० लाख रुपैयाँसम्मको परिपूरण व्यवस्था गर्न लागिएको सचिव घिमिरेले बताए।
पीडितहरूले भने घटना सार्वजनिक गरी दोषीहरूलाई कडा कारवाही हुनुपर्ने माग गरे। द्वन्द्वपीडित कविता ठाकुरले क्षतिपूर्तिको सम्पूर्ण रकम एकै पटकको उपचार वा छोराछोरीको बिहेमा सकिने भएकोले क्षतिपूर्तिसँगै पीडकलाई कारवाही गरी उचित न्याय पनि दिनुपर्ने माग गरिन्। पीडितहरूले घटना सार्वजनिक गरी मृत्यु भइसकेको भए सहिद घोषणा गर्नुपर्ने तथा परिवारका सदस्यलाई गाँस, बास र रोजगारीको व्यवस्था गर्नुपर्ने बताए।
रुपनी १ की सोमनी महतोले यथाशीघ्र निष्कर्ष निकालेर पीडित परिवारलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने सुझाइन्। उनका पति राजेश महतो पनि ०६१ असार १ गतेदेखि बेपत्ता छन्। जेनतेन छोरालाई पढाइरहेकी उनले राज्यबाट कुनै किसिमको क्षतिपूर्ति नपाएको गुनासो गरिन्। मलेठ ९ की ममता यादवले राज्यबाट पाँच लाख पाएको र पाँच लाख पाउन बाँकी रहेको बताइन्। छोराको उच्च शिक्षाका लागि राज्यले जिम्मा लिनुपर्ने उनले अपेक्षा गरिन्।
खड्ग ४ पंसेराकी रुक्मिणी चौधरीको बिहे भएको चार वर्ष नबित्दै शिक्षण पेसामा कार्यरत उनका पति ज्ञानेन्द्रप्रसाद चौधरी ०५५ असार ७ गतेदेखि बागलुङबाट बेपत्ता छन्। उनले पनि निवेदन दिएको सात वर्ष बितिसके पनि केही नपाएको बताइन्।
आयोगले प्राप्त ३१८३ उजुरीमध्ये २२९६ उजुरीमा विस्तृत छानबिन गरिरहेको जनाएको छ। सप्तरीको २६ र सुनसरीको २५ उजुरीमाथि विस्तृत छानबिन भइरहेको जानकारी दिँदै आयोगका उपसचिव टीकाभूषण घिमिरेले हाल २२ जिल्लाको विस्तृत छानबिन कार्य भइरहेको बताए।