सडक निर्माण अलपत्र छाड्ने ठेकेदार पक्राउ
सन्धिखर्कः सडक निर्माण गर्ने ठेक्का लिएर समय सकिँदा समेत काम नगर्ने एकजना ठेकेदार सदरमुकाम सन्धिखर्कमा पक्राउ परेका छन् ।
रुपन्देहीको सालझण्डीबाट सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बिटी जयबाबा कन्ट्रक्सनका प्रतिनिधि तनहुँ निवासी ३२ वर्षीय विवेक पौडेल पक्राउ परेका हुन् ।
२०७१ पुसदेखि सडक निर्माण नगरेका उनलाई सन्धिखर्कबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले २०७४ साल वैसाखमा काम सक्नुपर्ने अन्तिम सम्झौता थियो । तर अझै पनि काम अलपत्र छ ।
सालझण्डी–ढोरपाटन सडकको कञ्चनखोलादेखि ढुंग्री खोलासम्मको १८ किलोमिटर सडक ग्राभेल गर्न भ्याटबाहेक ४ करोड ३७ लाखमा ठेक्का भएको थियो । उनले १८ किलोमिटरमा जम्मा अढाई किलो मिटर मात्र ग्राभेल गरेका थिए ।
पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेको सालझण्ढी–सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख ईन्जिनियर होमबहादुर एसीले बताए ।
समयमै काम नगरेको वर्षौँ बित्दा समेत काम नगरेका पौडेललाई सन्धिखर्कबाट पक्राउ गरिएको हो । काम गर्नुपर्ने म्याद सकिँदासमेत काम नगरेर शान्ति सुरक्षमा खलबल पुर्याएको भन्दै उनलाई शान्ति सुरक्षा ऐन अनुसार कारबाह अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए ।