एकतारूपी जेटमा कुशल चालक
पार्टी एकीकरण, बहुमतको सरकार, राजनीतिमा नयाँ तरंग र विपक्षीहरूलाई सुध्रिने अवसरलगायतका विषयले राज्य र सञ्चारजगत् तातिरहेको छ। यस्तो समयमा स्वयंलाई फर्केर हेर्ने र स्वयंप्रति जागृत हुने अवसर कहिले पाउने होला ? एकताको नाममा भएका यी सबै प्रपन्च र मेहनतको पछाडि राष्ट्र सेवा, समाज सेवा र नागरिक सेवा मात्र जोडिएको हो भने अवश्य शुभ घटना भएको छ।
लोकतान्त्रिक पद्धतिलाई सशक्त रूपमा अगाडि बढाउँदै विकासकै लागि अगाडि सारिएको नयाँ संघीय संरचना र यसको प्रभावकारी कार्यान्वयनमा नयाँ तरंग नै आउन लागेको हो भने फेरि पनि मुलुकले एउटा शुभ अवसर पाएको मान्नुपर्छ। तर, यसो हुँदाहुँदै पनि व्यक्तिगत स्वार्थ र मोहका तरंग संस्कारगतरूपमै मिसिएर नयाँ तरिकाको निरंकुशता र सामन्तवादी सोच हावी भयो भने अर्को विकल्प के होला ? समय विकल्पको प्रयासमै बिताउने या केही नयाँ ढाँचाले परिवर्तन ल्याउने ? चुनौती र अवसर दुवै छन्।
एकताले सत्ता र नागरिक जीवनका हरेक आयाममा अवश्य परिवर्तन ल्याउला तर त्यो परिवर्तनमा स्वअनुभव र स्वसत्ताको अनुभव हुन पाएन भने गन्तव्य कहाँ ? दिशासूचक यन्त्र बिग्रेको जेट जस्तो हुन बेर लाग्दैन। जेटका चालक पनि सही सलामत छन्, इन्जिन ठीक छ, इन्धन पनि पूरा ट्यांकी छ, जेट उडान भर्ने तयारीमा छ, यात्रुले आफ्नो गन्तव्यको सपना देख्न थालिसके। उडान सुरु भयो, विराट गगनमा उडिरहेको छ, तर कता उडिरहेको छ थाहा नहुने अवस्था आएमा नराम्रो दुर्घटना हुने सम्भावना त्यत्तिकै छ। यतिबेला दिशासूचक यन्त्रको ठूलो भूमिका रहन्छ।
उडानमा बस्ने यात्रुको सुरक्षा, सुरक्षित अवतरण र गन्तव्यमा अवतरणका लागि चालकद्वयको भूमिका महत्वपूर्ण रहन्छ। कुशल चालक त्यतिबेला मानिन्छ जब उसमा निखारिएको अनुभव छ र हरेक दृष्टिकोणले सफल अवतरण गराउन सफल हुन्छ। अरूका कुरा र व्यवहारले आफ्नो अनुभव तुलना गर्न सकिन्न। आफ्नो अनुभव र दक्षता स्वयंलाई थाहा हुनुपर्छ। अनुभव रुखको हाँगाजस्तो हुनुपर्छ चारैतिर आकाशमा उडान भर्न सक्ने। त्यसको बदला स्वार्थी प्रवृत्ति र पुरातनवादी संस्कार कायम रह्यो भने त्यो रुखको जरा झैं जमिन छेडेर गहिराइसम्म दुःख पुर्याउँछ।
कुशल चालक त्यतिबेला मानिन्छ जब उसमा निखारिएको अनुभव छ र हरेक दृष्टिकोणले सफल अवतरण गराउन सफल हुन्छ।
स्वयंको जीवन पनि त्यस्तै हो जीवनलाई उत्सवपूर्ण मान्न सकेमा, सबैलाई सहयोगी ठान्ने र अरूलाई सहयोग गर्न जानेमा त्यो स्वसत्ताले आकाशरूपी उचाइमा उडान भर्छ। एकता जरा बन्ला कि हाँगा ? किनकि जराबाट माथि उठिसकेपछि माथि फैलिनु नै श्रेयस्कर हुन्छ। चालकको स्वभाव कस्तो छ प्रत्येकले आफैंलाई बुझ्नुपर्ने हुन्छ। युद्ध नै जित्नु छ भने त अनेक शक्ति आवश्यक होलान् अन्यथा प्रेम नै काफी छ स्वयंलाई जित्न र आफ्ना नागरिकको मन जित्नका लागि।
अस्तित्वगत उपहाररूपी जीवन दिएर संसारमा उडान भर्न पठाएको अस्तित्वले कुनै कुरा लुकाएको छैन। जीवन र जगत्का हरेक पदार्थ र हरेक वस्तु अनि सबै अनुभूतिका गुण उसले प्रदान गरेको छ। अस्तित्वले यो भन्दा बढी अरू के दिनु ? त्यसैले स्वयंको जीवन र नागरिकको जीवनलाई आदर गर्ने कला जान्यो भने दुःख र अस्थिरता कहाँबाट आउला ? प्रेमरूपी गन्तव्यको लागि जीवनरूपी यात्रा जरुरी छ। दोस्रोबाट प्राप्त फूलले कतिन्जेल खुसी दिन सक्छ र ?
आफ्नै जीवनरूपी बारीमा फूलरूपी विरुवा हुर्काएर आत्मारूपी फूलले सजाउँदाको आनन्द अतुलनीय छ। आकाशतिर हेरेर अस्तित्वको प्रार्थना गर्नुभन्दा आफैंभित्र नियालेर स्वयंभित्र परमात्माको अनुभूति गर्ने कला जान्नु अति श्रेयस्कर छ जुन कला जन्मसँगै प्राप्त छ हामीलाई। अरूका उधारो ज्ञानले कतिन्जेल थेग्छ ? आफैं जान्नु, आफैं बुझ्नु र आफैं थाहा पाउनु नै जीवन हो, जीवनको रहस्य हो। संसार हामीले देखेजस्तो क्षणिक अर्थ मात्र बोकेको छैन। हामीले नदेखेका अदृश्य गुणहरू पनि छिपेका छन्।
त्यसैले अब सन्त कविर झैं –
मेरा मुझमे कुछ नही, जो कुछ है सो तोर
तेरा तुझको सउपता, क्या लागई है मोर
हे अस्तित्व यो सब तिम्रो कृपा हो, मेरो के खुबी छ र ? यो सब तिम्रै कारण प्राप्त भएको छ मेरो जीवनमा, यो तिम्रो सृष्टि, तिम्रो कृपा, तिमी नै सबै हो भन्ने धन्यवादरूपी भावले ओतप्रोत भएर उडान भर्ने समय आइसकेको छ। उडानअगाडि जेटको ढोका खोल्नुअघि स्वयंको जागृतिबोध, आत्मबोध र प्रेमद्वारा आफ्नै स्वसत्ताको ढोका खुलाउनु जरुरी छ।
सहज, सरल र सरस बन्नासाथ अस्तित्वको कृपाको महसुस हुन थाल्छ र सुरक्षित उडान भर्ने उमंगभाव पैदा हुनेछ। तर अहिले आएर सरल बन्न कठिन भयो, कठिन काम गर्न र युद्ध लड्न मानिस अग्रसर भएपछि परिणाम त्यस्तै हात पर्न थाल्यो।