लुम्बिनीमा एकै गाउँका चार बालिकाको पोखरीमा डुबेर मृत्यु
भैरहवाः रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ गजिदहियास्थित नौखनिया पोखरीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।
पौडी खेल्न पोखरीमा पसेकी एक बालिका डुबेपछि उनलाई जोगाउन पसेका अन्य तीन जना बालिकाको पनि पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरोषत्तम रावल क्षेत्रीले जानकारी दिए ।
उनले भने, ‘एक जना बालिका पोखरीमा डुबेपछि एकले अर्कालाई जोगाउनलाई पोखरीमा पस्दा चारैजनाको पोखरीमा डुबेर मृत्यु भएको हो ।’
उनका अनुसार मृत्यु हुनेहरुमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ की १४ वर्षीया साहदिया खातुन, १० वर्षीया साहिमा खातुन, १० वर्षीया मोमिना खातुन र ९ वर्षीया आविदा खातुन रहेका छन् । मृतक चारै बालिका एकै गाउँका हुन् । मोमिना र आविदा एक परिवारको दाजुभाईका छोरी हुन् भने साहदिया र साहिमा छुटाछुटै परिवारकी हुन् ।
एक गाउँका चार बालिकाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । मृतक बालिकाहरुका पोस्टमार्टमका लागि भैरहवा भीम अस्पताल ल्याइएको छ ।