काठमाडौँ उपत्यकाभन्दा धेरै प्रदूषित लुम्बिनी क्षेत्र
ललितपुर: काठमाडौँ उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो ।
उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउँछन् । काठमाडौँ उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा-एउटा स्टेशन छन् ।
गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।
सीमा नजिकका ठाउँमा छिमेकी मुलुकबाट समेत धुलोधुवाँ आउने सम्भावना हुन्छ । तर कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन ।
'कुन-कुन उद्योगले कति र कस्ता फोहर निकाल्छन् भन्ने विस्तृत अध्ययन गर्नुपर्छ', उनले भने । नेपालभित्रै भएका उद्योगको समेत कहाँ-कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् भन्ने एकीकृत तथ्याङ्क छैन ।
सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढी छ । काठमाडौँ उपत्यकामा भने गर्मी महिनामा भन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ । विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेशन राख्ने योजना गरेको छ । रासस