विमारी बोकेको एम्बुलेन्स आफै दुर्घटना : एकको मृत्यु
तुलसीपुर : सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बागचौर नगरपालिका –२ चिलधालेबाट गर्भवती बोकेर प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ल्याउँदै गर्दा चिलधालेको आग्रीखोलामा आइतबार राति १ बजे एम्बुलेन्स दुर्घटना भएको हो ।
दुर्घटनामा परी एकजनाको मृत्यु भएको र चारजना घाइते भएको सल्यान प्रहरीले जनाएको छ । गर्भवती महिलालाई चिलधालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३७ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चिलधालेकी ४४ वर्षीया जानकी बुढाथोकीको मृत्यु भएको छ । उनी गर्भवती महिलाकी आमा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी गर्भवती महिला १९ वर्षीया कल्पना चलाउनेको सल्यान अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा बागचौर–२ चिलधालेका ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीय डम्बरी बुढाथोकी र ४० वर्षीया रामबहादुर बुढाथोकी घाइते भएका छन् । घाइते सबैको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ ।
दुर्घटनामा परेको एम्बुलेन्स प्राथामिक स्वास्थ्य केन्द्र थारमारेको हो । रातको समय तिव्रगतिका कारण एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।