अहिलेका फिल्ममा कथा छैनन्

अहिलेका फिल्ममा कथा छैनन्

काठमाडौं : घरको गेट खुल्नासाथ चारपाँचवटा कुकुरले स्वागत गर्छन्। घरअगाडि फूलैफूलको बगैंचा छ। खुट्टामा लट्पटिँदै सोफामा आगन्तुकसँगै बस्छन् कुकुर पनि। ढकमक्क फुलेका फूल र कुकुरको चञ्चले चर्तिकलाले वातावरण रमाइलो छ। यही घरमा बस्छिन् कुकुरप्रेमी नेपालकी प्रथम नायिका भुवन चन्द।

रेडियो होस् या टेलिभिजन, रमाइला गीत बजेको सुन्नेबित्तकै अहिले पनि छमछमी नाच्न मन लाग्छ भुवनलाई। छरछिमेकमा पञ्चेबाजा र मादल बजेको सुन्दा उनी उमेर नै बिर्सन्छिन्। वरपरका साथीभाइ र छिमेकी मिलेर उनले आस्था कला केन्द्र खोलेकी छन्। त्यहाँ कलाका हरेक सीप सिक्न पाइन्छ। गीतसंगीत सिक्न आउने पारखी बग्रेल्ती भेटिन्छन् त्यहाँ। भुवन पनि प्रायः त्यहीँ भेटिन्छिन्।

बाल्यकालमै कलाकार

उनी सानै उमेरमा कलाकारितामा लागेकी हुन्। बालकृष्ण सम, शान्ति मास्के तथा गोपीनाथ अर्यालहरूको चल्तीको समय थियो। उनका बुवा भैरवबहादुर थापा त्यति बेला रेडियो नेपालमा काम गर्थे। भन्छिन्, ‘२०१० सालको कुरा हो, बालकृष्ण समले अन्धवेग नाटक मञ्चन गर्न लागेका थिए। उनलाई बच्चाको भूमिकामा अभिनय गर्ने कलाकार चाहिएको रहेछ। बुवालाई कलाकार खोज्न लगाएछन्। बुवाले मेरी छोरी छे भन्नुभएछ। मलाई त्यहाँ बच्चीको भूमिका गर्न लगाइयो। कलाबारे केही नजान्दै कलाकार भएर आएँ।’

सानोमा फुरुक्क हुँदै जसले जहाँ नाच्न लगाए पनि नाचिहाल्ने बानी थियो उनको। भन्छिन्, ‘त्यो बेलाका कलाकारले हरेक काम गर्नुपथ्र्यो। महेन्द्र राजाको शासनकाल थियो। उनी कवि पनि थिए। उनलाई कविता, गीत र नाटक अत्यन्त मन पथ्र्याे। बेलाबेलामा सांगीतिक कार्यक्रम आयोजना गरिरहन्थे।’

राजाबाट तारिफ

एकपटक उनले ‘प्रकृतिको प्रेरणा’ नामक गीतिनाटकमा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाइन्। त्यो नाटक कविताजस्तै थियो, संवाद पनि भएको। यसको रचना मविवि शाहले गरेका थिए। त्यो कवितालाई श्यामदास वैष्णवले नाटकको स्वरूपमा ढालेका थिए। यो कविता मञ्चन गर्ने भइयो। कविको कल्पनामा आउने युवतीको भूमिका गर्ने जिम्मा भुवनको काँधमा आयो। कविको भूमिका गीतकार यादव खरेलले गरेका थिए। यो कवितामा अभिनय गरेपछि राजाले समेत भुवनको अभिनयको तारिफ गरेका थिए।

त्यस बेला राजपरिवारका सदस्य, विदेशी कूटनीतिज्ञ र राणा परिवारका सदस्य मात्र नाटक हेर्न आउथे। नाटक खेल्ने भनेकै उच्च घरानियाका मानिसलाई देखाउन हो भन्ने थियो। उनीहरूलाई जहिले मन लाग्थ्यो, त्यही बेला नाटक तथा नाच देखाउनु पथ्र्यो।

नाचेरै जागिर

त्यति बेला सूचना विभागअन्तर्गत पथ्र्यो— राष्ट्रिय नाचघर। त्यहाँका निर्देशक थिए— रमेशजंग थापा। भुवनको अभिनयबाट प्रभावित थापाले २०१८ सालमा उनलाई राष्ट्रिय नाचघरमा जागिर खान बोलाए। महिनाको एक सय ५० रुपैयाँ तलबमा उनी जागिर खान थालिन्। त्यो बेलाको एक सय ५० रुपैयाँले आवश्यक खर्च गरेर चारपाँच जनाको परिवार पाल्न सकिने अवस्था थियो।

त्यति बेलाका नायिकाको मेकअप गर्न भारतबाट मान्छे आउँथे। बाक्लो गाजल र लिपस्टिक लगाउने चलन थियो। चिटिक्क मिलेको सारीचोलो लगाएर फिल्म खेल्नुपथ्र्यो। निर्देशक हीरासिंह खत्री भारतमा फिल्म बनाउने काम गर्थे। यहाँका राजपरिवारका सदस्य भारत जाँदा खत्रीलाई भेटेर नेपालीमा पनि फिल्म बनाउन आग्रह गरेछन्। त्यसपछि खत्री नेपाल आएर २०२१ सालतिर ‘आमा’ नामक चलचित्र बनाउने भए। त्यति बेलासम्म नाचघरमा चारपाँच जना कलाकार उत्पादन भइसकेका थिए। उनीहरू सबैजनाले आमामा अभिनय गरेका छन्।

त्यो बेला फिल्म खेल्न निकै गाह्रो थियो। टेलिभिजन थिएन। मिडिया थोरै थिए। एक रुपैयाँ तिरेर एकाध भएका हलमा हिन्दी फिल्म हेर्न पाइन्थ्यो। सिकाउने मान्छे थिएनन्। सिक्ने ठाउँ पनि थिएन। कलाकारितामा आउन, टिक्न अत्यन्त गाह्रो थियो। थोरै कलाकारले हरेक काम गर्नुपर्थ्यो। 

त्यस बेला कम्युनिस्ट राष्ट्रसँग नेपालको सांस्कृतिक सम्बन्ध थियो। कलाकारहरू आदानप्रदान हुन्थे। कलाकारलाई नाच तथा संस्कृति प्रदर्शन गर्न विदेश जाने मौका मिल्थ्यो। भुवनले पनि कलाकारिता देखाउँदै चीन, मस्को, टर्की, रुस तथा इरानलगायत देशको भ्रमण गरेकी छन्। उताका कलाकार पनि यता आउँथे। उनीहरू आफ्ना कला संस्कृति देखाएर जान्थे। राजा जुनजुन देशमा जान्थे, साथमा कलाकारको समूह पनि लैजाने चलन थियो।’

चलचित्र ‘आमा’ निकै चल्यो। एउटा टिकटको एक सय ५० रुपैयाँसमेत तिरेर फिल्म हेरेका थिए दर्शकले। नेपालमा पहिलोपटक नेपाली भाषाको फिल्म बनेर पनि होला, त्यो बेला ‘आमा’ले प्रशस्तै शुभचिन्तक कमायो। त्यसको केही वर्षपछि ‘हिजो आज र भोलि’ चलचित्र बन्ने भयो। त्यसमा पनि भुवनले नै नायिकाको भूमिका निर्वाह गरिन्। उनी आजसम्म पनि नेपाली फिल्ममा विभिन्न भूमिकामा काम गरिरहेकी छन्।

कलाकारितामा लागेर उनले त्यो बेला गाली पनि निकै खाएकी छन्। छोरी मान्छे नाच्न गाउन थाल्यो भने बिग्रन्छन् भन्ने मान्यता थियो। आमा यस्तो काम नगर भन्नुहुन्थ्यो तर बुवा बुझ्ने भएकाले खासै अप्ठ्यारोचाहिँ परेन। घरपरिवारको सहयोग ठूलो कुरा रहेछ। बुवाले सहयोग नगरेको भए यो क्षेत्रमा आउन सकिने अवस्था थिएन।

उहिले र अहिलेका कलाकार

‘अहिले यो क्षेत्रमा आउनेहरूलाई सहज छ। घर, परिवार र समाजमा पनि कलाकारलाई सम्मान छ। मेहनत गर्नेलाई अहिले प्रशस्त सम्भावना छ। घरमै टीभीअगाडि बसेर नाच तथा अभिनय सिक्न सकिन्छ। थोरै मेहनत गर्दा पनि राम्रो आयआर्जन गर्न सकिन्छ। पहिलेका कलाकारको आँखामा कलाकारिता हुन्थ्यो। एक्सप्रेसन राम्रो हुन्थ्यो। अहिले जीउज्यानबाट मात्र एक्सप्रेसन गर्छन्। आँखामा कला भेटिन्नँ’, उनी भन्छिन्।

पहिले र अहिलेका फिल्म

अहिलेका फिल्ममाथि भुवनको टिप्पणी छ, ‘पहिले चौबन्दी चोलीको समय थियो। शरीर जति छोप्यो त्यति चल्थ्यो। अहिले जति खोल्यो त्यति चल्छ। पहिलेको फिल्ममा कथा र चरित्र हुन्थ्यो। घरपरिवारसँग बसेर फिल्म हेर्न मिल्थ्यो। अहिलेका फिल्ममा कथा नै हुन्न। हिरो हिरोइनको रोमान्स मात्र धेरै देखाइएको हुन्छ। सबै परिवारसँग बसेर फिल्म हेर्न नमिल्ने हुन्छ। कमेडी फिल्म धेरै बन्न थाले।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.