३३ किलो सुनका मुख्य अभियुक्त गोरेले मागे हिरासतमै सुरक्षा

३३ किलो सुनका मुख्य अभियुक्त गोरेले मागे हिरासतमै सुरक्षा

विराटनगर : प्रहरी हिरासतमा रहेका सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीले हिरासतमै सुरक्षाको माग गरेका छन्। 

उनले प्रहरी हिरासत भित्र आफू असुरक्षित रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइदिर्न  माग गरेका हुन्। मंगलबार पक्राउ परेका गोरे जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले मानव अधिकारकर्मीको निगरानीमा आफू हिरासतमा बस्न पाउनु पर्ने आवाज उठाएका हुन्। प्रहरी हिरासत भित्र असुरक्षित रहेको र घटना अनुसन्धानका नाममा आफूलाई विभिन्न किसिमका यातना दिने काम गर्न थालिएको भन्दै गोरेले सुरक्षित रहन पनि मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा राख्न माग गरेका हुन्। 

उनको प्रतिरक्षामा बहस गर्नका लागि वकालतनामा दर्ता गराएका अधिवक्ता यामबहादुर मगरले गोरेको माग अनुसारको निवेदन अदालतमा बुधबार नै दर्ता गराएका छन्। निवेदन दर्ता गराइएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा आदेश जारी गरेको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।

‘धम्की आएका कारण म प्रहरी हिरासत भित्र अति नै असुरक्षित छु,’ गोरेलाई उद्धृत गर्दै अधिवक्ता मगरले भने, ‘त्यही भएर आवश्यक सुरक्षा र मानव अधिकारकर्मीको निगरानी हुनु आवश्यक छ।’ मगरले कुनै एउटा थुनुवाले सबै भन्दा बढी सुरक्षित हुनु पर्ने प्रहरी हिरासत भित्र असुरक्षित महसुस गर्नु पर्ने अवस्थाको सिर्जना हुनु दुःखद् भएको बताए। उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरीले प्रहरी हिरासत भित्रै रहस्यमय तरिकाले आत्महत्या गरेको घटनाका कारण डराएको हुन सक्ने प्रसंग जोड्दै भने, ‘गोरेले पनि प्रहरी हिरासतमा सुरक्षित महसुस गर्न सकेको पाइएन।’ चौधरीको मृत्युलाई पनि सुन तस्करीसंगै जोडेर हेरिएको छ। 

तस्करीको साढे ३३ किलो सुन हराएपछि तस्करको समूहले सुन खोज्न मोरङको उर्लाबारी १ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाएर यातना दिने क्रममा गत फागुन १८ गते सनमको मृत्यु भएको थियो। सनमको मृत्युपछि गृहमन्त्रालयले गठन गरेको सह–सचिव ईश्वरराज पौडेल नेत्रृत्वको छानबिन समितिले अनुसन्धान गर्ने क्रममा नियन्त्रणमा लिइएका चौधरीको हिरासतमै मृत्यु भएको थियो। 

त्यस्तै गोरेसँग जिल्ला अदालत मोरङले बुधबारबाट बयान लिन सुरु गरेको छ। न्यायाधीश शर्माकै इजलासमा बयान लिनका लागि उनलाई बिहान १० बजे अदालत उपस्थित गराइएको थियो। छानबिन समितिले मंगलबार पक्राउ गरेर काठमाडौंबाट विराटनगर पठाएपछि उनलाई अदालतमा बयानका लागि पेस गरिएको हो। 

अदालती समय सकिए पनि बुधबार बयान नसकिएपछि बिहीबार पुन उपस्थित गराउने गरी गोरेलाई प्रहरी कार्यालयमै फर्काइएको छ। अदालतबाट बाहिर निकाल्दा उनको अनुहार कालो रुमालले छोपिएको थियो। सुन तस्करी र सनम हत्यासँग जोडिएका सबै घटनाक्रमका बारेमा क्रमस बयान भइरहेका कारण पहिलो दिन बयान नसकिएको अदालतले जनाएको छ। 

बयानका क्रममा इजलासमा सामान्य व्यवहार देखाएका उनले मज्जाले घुलमिल भएरै सोधेका प्रश्नको जवाफ दिएको स्रोतले बतायो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६३ जनालाई विपक्षी बनाएर दायर गरेको एक सय ५३ पृष्ठको अभियोगपत्र पढेर सुरुमा सुनाइएपछि उनको बयान लिन थालिएको थियो। पहिलो दिन गोरेलाई उनकै पृष्ठभूमि लगायतका बारेमा सोधिएको छ। घटनाका विषयमा बयानमा केही कोट्याउने प्रयास गर्दै गर्दा बुधबार समय अपुग भएको अदालतका एक कर्मचारीले बताए। 

गोरेसँग उनकै पृष्ठभूमि तथा सुन तस्करीका बारेमा प्रारम्भिक रुपमा पाँच पेजको बयान लिइएको बताइएको छ। उनले सुन तस्करीमा ठूलो गिरोहको संलग्नता रहे पनि घटनामा आफूलाई मात्रै दोषी देखाउन खोजिएको बयान दिएका छन्। स्रोतका अनुसार सुन खोजी गर्ने क्रममा गोरे समूहले सिन्धुलीसम्म दिएको यातना लगायतका घटनामा पुगेर पहिलो दिनको बयान सकिएको छ। उनले सिन्धुलीसम्मको घटना क्रमका बारेमा बेलीविस्तार लगाएको अदालतका एक कर्मचारीले बताए। विमानस्थलका कर्मचारी लगायतलाई सुन खोजी गर्ने क्रममा गोरे समूहले सिन्धुलीसम्म पु¥याएर यातना दिएको छानविन समितिले पत्ता लगाएको थियो। 

स्रोतका अनुसार प्रारम्भिक बयानमै उनले सुन तस्करीमा केही उच्च व्यक्तिको संलग्नता रहेको बताएका छन्। ती व्यक्ति को को हुन् भन्ने कुरा र उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन। अदालत स्रोतका अनुसार बयान हराएको साढे ३३ किलो सुन खोजी गर्दा करेन्ट लगाउने क्रममा मृत्यु भएका सनमसम्म आइपुगेको छैन। 

जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार नै आदेश दिइसकेको छ। एकजना धरौटी र एक जना साधारण तारेखमा रिहा भएका छन्। ६३ प्रतिवादी मध्ये मुख्य अभियुक्त गोरेसहित पक्राउ परेकाको संख्या ३१ पुगेको छ। एसएसपी श्यामबहादुर खत्रीसहित ३२ अभियुक्त अझै फरार छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.