निमाजाङ्मु चढिन् एकै महिनामा तीन शिखर

निमाजाङ्मु चढिन् एकै महिनामा तीन शिखर

काठमाडौं ः एकै महिनामा तीन हिमाल आरोहण गर्दै निमाजाङ्मु शेर्पाले साहसिक विश्व कीर्तिमान कायम गरेकी छन्। ६५ वर्षको आरोहण इतिहासमा एक महिनाभित्रै सगरमाथा, ल्होत्से र कञ्चनजंघाको सफल आरोहण गरेर निमाले पहिलो साहसिक आरोहीको कीर्तिमान बनाएकी हुन्।

२७ वर्षीया निमा दोलखाको रोल्वालिङ बेविङकी हुन्। निमाले वैशाख १६ गते ल्होत्से (८ हजार ५ सय १६ मिटर), वैशाख ३१ गते सगरमाथा (८ हजार ८ सय ४८ मिटर) र जेठ ९ गते कञ्चनजंघा (८ हजार ५ सय ८६ मिटर) हिमालको सफल आरोहण गरेकी हुन्। कठिन र निकै जोखिम आरोहण मानिने कञ्चनजंघा हिमालको बुधबार बिहान ६ः२० बजे चुचुरो चुमेपछि निमाले विश्व कीर्तिमान कायम गरेको माउन्ट एभरेस्ट समिट क्लब रोल्वालिङका अध्यक्ष पासाङ तेन्जिङ शेर्पाले जानकारी दिए।

निमाले सहजै एक महिनाको छोटो समयमै तीन अग्ला हिमाल आरोहण गरेर साहसिक र शक्तिशाली आरोहीमा नाम राखेको शेर्पाले बताए। निमाले बाल्यकालदेखि नै भरिया भएर रोल्वालिङबाट खुम्बु प्रवेश गर्ने पाँच हजार पाँच सय मिटरको टासीलाप्चालाई कार्य क्षेत्र बनाउँदै आएकी थिइन्।

आरोहणमा निकै कठिन मानिने कञ्चनजंघामा यसै वर्ष मात्र ४४ जनाले आरोहण अनुमति लिए पनि आधा बढी बीचैबाट फर्केका थिए।

नेपालको पहिलो, दोस्रो र तेस्रो अग्लो र विश्वको पहिलो, तेस्रो र चौथो हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्ने उद्देश्य पूरा गरेको कीर्तिमानी आरोही निमाजाङ्मुले बताइन्। ‘ल्होत्से आरोहण सहज भयो। त्यसपछि सगरमाथा आरोहण गरेर पनि ममा आँट मरेन’, उनले भनिन्, ‘शरीरले साथ दियो, थकान महसुस भएन, त्यसपछि तत्काल कञ्चनजंघा आरोहण गरेर कीर्तिमान कायम गर्ने लक्ष्य राखेकी हुँ।’

रोल्वालिङको चार हजार दुई सय मिटर उचाइको नागाउँमा हुर्किएकी निमाजाङ्मु सानै उमेरदेखि हिमालमै काम गर्दै आएकी थिइन्। रोल्वालिङ क्षेत्रमै साधारण होटल व्यवसाय गर्दै आएकी उनले गत शरद् ऋतुमा मात्र आमादब्लम हिमाल आरोहण गरेकी थिइन्। उनका आरोही गाइड लाक्पा शेर्पाले अरू अग्ला हिमाल आरोहणबिनै एकैपल्ट कीर्तिमान कायम गरेको बताए।

गत वर्ष नर्वेकी आरोही विवेकाले एउटै मौसममा सगरमाथा र ल्होत्सेको आरोहण गरी कीर्तिमान कायम गरे पनि तीन हिमालको आरोहण गर्नेमा निमाजाङ्मु विश्वमै पहिलो महिला भएको उनको भनाइ छ।

‘आरोहण क्षेत्रमा तीन हिमाल आरोहण एकै महिनामा गर्न सक्ने क्षमता जोसुकैमा हुँदैन, निमा फरक क्षमता भएको महिला हुन्’, उनले भने। एक दिदी, दुई बहिनी र दुई दाइको साथमा हुर्किएकी उनले औपचारिक अध्ययन गरेकी छैनन्।

अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक मिङ्मा ग्याल्जे शेर्पा उनका सहोदर हुन्। लामो समयदेखि हिमाल आरोहणमा पथप्रदर्शन गर्दै आएका शेर्पाले इम्याजिन ट्रेक स्थापना गरेर आफ्नै बहिनीलाई तीनवटै अग्ला हिमालको सफल आरोहण गराएका हुन्।

एक महिनामा तीन अग्ला र कठिन हिमालको आरोहण गरेर निमाजाङ्मुले नेपाली महिलामा बहादुरी देखाएको पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले बताए। ‘पासाङ ल्हामुले देखाएको कीर्तिमान र बहादुरीपछि नेपाली महिलामा थप कीर्तिमान र बहादुरी थपिँदै गएको छ। यस्ता आरोहीलाई राज्यले सम्मान गर्नेछ,’ सापकोटाले भने। एक्सपिडिसन बेस कम्पनीबाट अनुमति लिएर निमा आरोहणमा गएकी हुन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.