टिचिङमा कार्यकारी निर्देशक बन्न दाैडधूप
काठमाडौं : त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक हुन अस्पतालमा कार्यरत प्राध्यापकहरूबीच तीव्र लबिङ सुरु भएको छ । चार वर्षे कार्यकालका लागि अस्पतालका वरिष्ठ चिकित्सकहरूबीच दौडधुप सुरु भएको हो ।
अस्पतालको कार्यकारी निर्देशक प्राडा दीपकप्रकाश महराको पदावधि सकिन दुई साता बाँकी हुँदा अन्य वरिष्ठ चिकित्सकहरू दौडमा लागेका हुन् । उनीहरूको राजनीतिक भेटघाट चलिरहेको स्रोतले बतायो ।
प्राडा प्रदीप वैद्य, प्राडा योगेन्द्रप्रसाद (वाईपी) सिहं, प्राडा ईश्वर लोहनी, प्राडा प्रेमकृष्ण खड्गा र प्राडा दिनेश काफ्ले अस्पतालको कार्यकारी निर्देशक हुने दौडमा छन् ।
दश वर्षअघि डा. वैद्य र सिंह एकै दिन प्राध्यापक पदमा पदोन्नति भएका हुन् । सिंह हाल सर्जरी विभागको विभागीय प्रमुख छन् । यसअघि डा. वैद्य विभागीय प्रमुख थिए । डा.लोहनी प्लास्टिक सर्जरी विभाग प्रमुख हुन् ।
प्राडा खड्गा ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख हुन् । प्राडा काफ्ले अर्थोपेडिक विभागमा कार्यरत छन् ।
आउँदो जेठ २४ गते कार्यकारी निर्देशक प्राडा महराको चार वर्षे पदावधि सकिँदैछ । उनी एक साता लामो घर बिदामा बसेको अस्पताल स्रोतले बतायो ।
कार्यकारी निर्देशक बन्ने तयारीमा रहेका डा. काफ्ले र डा. खड्गा यसअघि डेपुटी निर्देशक भइसकेका छन् । डा.महरा कार्यकारी निर्देशक भएकै बेला उनले काफ्ले र खड्गालाई संयुक्त रूपमा डेपुटी बनाएका थिए । दुई वर्षे कार्यकाल सकिएपछि अहिले सो पद रिक्त छ । अस्पतालको ३५ वर्षे लामो इतिहासमा दुईजना डेपुटी निर्देशक बनेको पहिलो पटक हो । डेपुटीका रूपमा कार्य गरेको अनुभव प्राडा लोहनीलाई पनि भएको स्रोतले बतायो ।
अस्पतालका पूर्व कार्यकारी निर्देशक प्राडा महेशप्रसाद खकुरेल अस्पतालको साख वृद्धि गर्नेलाई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘वरिष्ठ, सक्षम र इमान्दारका साथै विद्यार्थी तथा अन्य व्यक्तिको मूल्यांकनमा उत्कृष्ट ठहरिएका व्यक्तिलाई निर्देशक बनाए विवाद आउँदैन ।’