दुई भारतीयविरुद्ध मानव बेचविखन मुद्दा दायर
महेन्द्रनगर : कञ्चनपुरकी एक १५ वर्षीया बालिकालाई भारतको टनकपुरस्थित एक कोठामा बन्धक बनाई रातभर यातना दिएको अभियोगमा दुई भारतीय विरुद्व मुद्वा दायर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई भारतीय युवक विरुद्व मानव बेचबिखन ओसारपसारअन्र्तगत मुद्वा दायर गरेको हो। कञ्चनपुरकी एक बालिकालाई मंगलबार बिहान ११ बजेको समयमा भारतीय नागरिकले प्रलोभनमा पारी भारतको टनकपुरस्थित एक कोठामा रातभर बन्धक बनाएर यातना दिएको प्रहरीले जनाएको छ।
'नेपाली बालिकालाई भारतको टनकपुरस्थित एक कोठामा बन्धक बनाएर राखिएको भन्ने खबर पाएपछि प्रहरीले खोजि गरेको हो' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माले भने,' भारतीय प्रहरीको सहयोगमा तत्कालै उद्वार गरिएको र शरीर बन्धक बनाउने कार्यमा सलंग्न दुईजनालाई समेत पक्राउ गरिएको छ।'
बालिकाका परिवारजनले छोरी हराएको भनि प्रहरीकोमा निवेदन दिएका थिए।प्रहरीले आशंकामा दुई भारतीय पक्राउ गरेपछि ती बालिकालाई बन्धक बनाएको खुलेको हो।बालिकाले युवाहरुको आफूलाई बेचबिखनका गर्ने योजनासमेत रहेको बताएकी छिन्।बालिकको उद्वार र उनको बयानपछि बालिकाका बुवाले किटानी जाहेरी दिएका थिए।
बालिकालाई बन्धक बनाएर यातना दिने कार्यमा संलग्न रहेका भारतको पिलिभित थाना जानदवा ग्राम डाग बस्ने २४ वर्षीय ईन्तजार अहमद र सोही ठाउँ बस्ने २० वर्षीय सोहिब अहमद रहेका छन्। उनीहरुलाई अदालतबाट म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। उद्वार गरिएकी बालिकाको स्वास्थ्य परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।