'माछा मार्न लगेको ब्याट्रीले करेन्ट लगाएर सनमको हत्या'
बिराटनगरः सुन तस्करीमा मुछिएका मोरङको उर्लाबारी निवासी चूडामणि उप्रेती ‘गोरे’ ले माछा मार्न भन्दै लगेको ब्याट्रीबाट करेन्ट लगाएर आफ्ना साथी सनम शाक्यको हत्या गरेको खुलेको छ ।
बिहीबार साँझ पक्राउ परेका उर्लाबारी नगरपालिका–२ निवासी रेवत भनिने सुन व्यापारी रेवन्तकुरमा आचार्यले शुक्रबार यस्तो खुलासा गरेका हुन् । साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन पाइएपछि प्रहरीले ३८ वर्षीय आचार्यलाई उर्लाबारीबाटै पक्राउ गरेको थियो ।
गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा पक्राउ परेका उनले म्याद मिलानका लागि जिल्ला अदालत मोरङमा पु¥याएका बेला सञ्चारकर्मीहरुसँग यस्तो खुलासा गरेका हुन् । ‘बक्राहा खोलामा माछा मार्न भन्दै गोरले मेरैबाट ब्याट्री र तार लगेका थिए’, उनले भने, ‘तर, त्यही ब्याट्रीबाट करेन्ट लगाएर सनमको ज्यान लिएको मैले पनि प्रहरीबाट थाहा पाएँ ।’
कानुनतः करेन्ट लगाएर माछा मार्नु पनि अवैधानिक मानिन्छ । उर्लाबारीकै कान्छी चोक नजिकै रहेको जंगलमा पिकनिक खान भन्दै लगिएका सनमलाई गोरे र उनका अन्यस सहयोगीले यातना दिने क्रममा करेन्ट लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गत माघ ७ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेका थिए ।
सनमको शव लुकाउन उनीहरुले स्कार्पियोमा राखेर लाँदै गर्दा प्रहरीले विराटनगर महानगरपालिका–३ बाट फागुन १९ गते फेला पारेको थियो । तस्करी गरेर विमानस्थलबाट निकालिएपछि अनामनगर र पुरानो बानेश्वर आसपासबाट हराएको सुन अझै फेला परेको छैन ।
सम्बन्धित समाचार: ‘गोरे’सँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ