नीति खुट्टामा होइन, टाउकोमाथि उभिएको छः प्रतिपक्ष

नीति खुट्टामा होइन, टाउकोमाथि उभिएको छः प्रतिपक्ष

नीति–कार्यक्रममाथि बहस

काठमाडौं : सरकारद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले देशको समृद्धिको मार्ग तय गरेको सत्तारुढ दलका सांसदले दाबी गरेका छन्। नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा जारी छलफलमा बोल्दै नेकपाका सांसदहरूले यसलाई ऐतिहासिक र महत्वपूर्ण दस्तावेजको संज्ञा दिए।

सांसद खिमलाल भट्टराईले नीति तथा कार्यक्रम समसामयिक, आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र देशलाई राजनीतिक स्थायित्वतर्फ लैजाने महत्वपूर्ण दस्तावेज भएको दाबी गरे। उनले भने, ‘राजनीतिक स्थायित्वको मार्गमा देश गएको छ, देशमा कुनै पनि खालको अधिनायकवादको गुञ्जायस छैन। नीति तथा कार्यक्रमले पिछडिएका जनतामा आशा जन्माएको छ।’

सत्तारुढ दलका सांसद कालीबहादुर मल्लले इतिहासको सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम भएको दाबी गर्दै यसले नेपालको समृद्धितर्फको मार्ग देखाएको बताए। उनले भने, ‘मेरो जीवनकालकै उत्कृष्ट नीति तथा कार्यक्रम हो यो, समृद्ध नेपाल निर्माणको आधार बनेको छ। गणतान्त्रत्मक राज्यको स्वरूप जनताले अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम आएको छ।’

मल्लले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुंग्याउने गरी सरकारले प्राथमिकता तय गरेको भन्दै राष्ट्रिय सुरक्षा र स्वार्थका पक्षमा पनि सरकार रहेको दाबी गरे।

सांसद शेरबहादुर कुँवरले प्रतिपक्षीको नीति तथा कार्यक्रम दिशाहीन र प्राथमिकताविहीन भन्ने आरोपको खण्डन गरे। उनले भने, ‘देशको समृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय भएका छन्, यसले आर्थिक र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको छ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नीति तथा कार्यक्रमलाई उच्चस्तरको दिमागी कसरत र बौद्धिक विलासबाट तयार पारिएको काल्पनिक दस्तावेज भएको आरोप लगाए।

देवले भने, ‘यो टाउकोमाथि उभिएको छ, खुट्टामा होइन। यथार्थपरक छैन। सचेत र रचनात्मक प्रतिपक्षीको हिसाबले राष्ट्र र जनताको हितका लािग टाउकोमाथि उभिएको दस्तावेजलाई खुट्टामाथि उभ्याउनुपर्छ।’ संविधानले मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेका समावेशी विकास, समानुपातिक प्रतिनिधित्वको विषयलाई नीति तथा कार्यक्रममा नसमेटेको भन्दै आलोचना गरे।

नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण दस्तावेजमा राष्ट्रियता, राष्ट्रवाद, राष्ट्रिय अखण्डताजस्ता शब्दलाई अनावश्यक रूपमा समेटिएको भन्दै उनले आपत्ति जनाए। ‘यो को प्रति लक्षित गरिएको हो ? ’, देवले प्रश्न गर्दै भने, ‘संवेदनशील शब्दलाई राज्यको दस्तावेजमा समेट्दा गम्भीर हुनु जरुरी छ।’

यस्तै कांग्रेस सांसद धनकुमारी खतिवडाले नीति तथा कार्यक्रम एक वर्षको सरकारको कार्यक्रम हुनुपर्नेमा पञ्चवर्षीय योजनाजस्तो भएको टिप्पणी गरिन्। उनले भनिन्, ‘यसमा वर्ष दिनमा सरकारले गर्ने प्राथकिताका कामहरू के के हुन् भन्ने छैन, बरु पञ्चवर्षीय योजना छ। स्पष्ट नीति र प्राथमिकताविहीन यो पपुलिस्ट दस्तावेज मात्र हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.